बुटवल–बेलहिया सडक विस्तार: पहिला स्थानीयले दिएनन्, अहिले ठेकेदारले गरेनन् – Nepal Press
विकास निर्माण

बुटवल–बेलहिया सडक विस्तार: पहिला स्थानीयले दिएनन्, अहिले ठेकेदारले गरेनन्

तीन वर्षमा सकिनुपर्ने काम १० वर्षमा पनि पूरा भएन

रुपन्देही । एक दशकअघि तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित थालिएको बुटवल–बेलहिया सडकखण्ड विस्तारको काम अझै सकिएको छैन । पछिल्लो समय त सडक विस्तार ठप्प नै छ ।

२०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ६ लेन सडक विस्तारको काम विभिन्न बहानामा पटक–पटक रोकिँदै आएको छ । अहिले भने ठेकेदार कम्पनीको लापरवाहीका कारण काम रोकिएको आयोजनाको दावी छ ।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत विस्तार भइरहेको यो सडकखण्डको चौराहादेखि चिडियाखोलासम्म र भैरहवा अंचलपुरदेखि लखनचोकसम्मको ७ प्रतिशत काम ठेकेदारको लापरबाहीबाट रोकिएको आयोजनाको भनाइ छ ।

बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको कन्चनजंगा बिरुवा जेभी, भैरहवा अंचलपुरदेखि लखनचोकसम्मको बिरुवा एपेक्स श्रेष्ठ जेभी र भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारीसम्मको बिरुवा जेभीले सडक विस्तारको जिम्मा लिएको छ । तीन कम्पनीको आधिकारिक प्रतिनिधित्व ठेकेदार सुमित श्रेष्ठले गर्छन् ।

ठेकेदार कम्पनीले लापरवाही गरेकै कारण आयोजना प्रभावित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । ‘आयोजना अन्तर्गत राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सबै साइड क्लियर गरिसकेको अवस्थामा पनि काम भने शुरु हुन सकेको छैन’ उनले भने ।

देशभरका धेरै सडकका ठेक्का एउटै ठेकेदारले लिने र निरन्तर काम नगर्दा कामको प्रगति हुन नसकेको सडक कार्यालयबाट गरिएको अध्ययनमा देखिएको मरासिनीले बताए । बुटवलको चिडियाखोलादेखि भैरहवा बेलहियासम्मको सडकको ठेक्का लिएकामध्ये सुमित श्रेष्ठ प्रतिनिधि रहेको ३ वटा कम्पनीले काम पूरा नगरेका हुन् ।

‘सुमितको व्यवस्थापनमा रहेको कम्पनीबाट राम्रो काम भएको छैन’ उनले भने, ‘जनता र बुटवलवासीबाट उहाँलाई सहयोग छ । हाम्रो योजना कार्यालयबाट समेत लाइन र लेभलहरु दिइसकेको अवस्था छ ।’

अब साढे ३ किलोमिटर सडक विस्तार र सौन्दर्यकरणको काम बाँकी रहेको उनले बताए । ठेकेदार कम्पनीहरुले लामो समयसम्म काम नै शुरु नगरेको र राम्रो रेस्पोन्स पनि नपाएको उनको भनाइ छ ।

बिरुवा एपेक्स श्रेष्ठ जेभीका नाममा दर्ता भएको भैरहवा अंचलपुरदेखि लखनचोकसम्मको बाटो ६ प्लस २०० देखि ९ प्लस ०० सम्मको काम अझै शुरु भएको छैन ।

सडकमा कुनै अवरोध हुने खालको घरटहरा नपरेको भएपनि एउटा मन्दिरको कारण देखाउँदै ढिलासुस्ती गरेपछि आफूहरुले मन्दिर हटाएको उनले बताए । ठेकेदार कम्पनीको कामबारे पत्रचार गरिसकेको र छिटै सार्वजनिक सूचना प्रकाशित गरेर अन्य कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

यसैगरी बिरुवा जेभीका नाममा भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलभन्दा पर बाइपासको सडकसम्मको स्पात, नाला निर्माण, सर्भिस ल्याण्डलगायतको काम बाँकी रहेको उनले बताए ।

अब कोरोनाको कारण देखाएर म्याद थप्न नहुने स्पष्ट जानकारी दिएको उनले बताए । जथाभावी काम लिएका ठेकेदार श्रेष्ठकै बीरगंज पथलैया सडकमा समेत सन्तोषजनक काम नगरेको खबर पाएको उनले बताए ।

कोभिडभन्दा पनि ठेकेदारको आफ्नै कारणले यस्तो भएको उनले बताए । यो प्रदेशको नवलपुर, रुपन्देही र कपिलवस्तुमा प्रहरी प्रशासनबाट निर्माणका काम गर्नमा कुनै अवरोध नभएको उनले बताए ।

आफूले समन्वयकारी भूमिका खेलेको भएपनि ठेगेदार कम्पनीले लापरवाही गरेको उनको दावी छ । राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको काम गर्ने समयावधि बाँकी भए पनि अन्य दुई वटा ठेक्काको भने समय सकिएको उनले बताए । अब म्याद थप्नेभन्दा पनि अब जरिवाना लगाउने गरी प्रक्रिया अघि बढेको उनले बताए ।

निर्माण नसकिँदासम्म बिग्रिएका सडक मर्मत संहारको काम ठेकेदार कम्पनीले गर्नुपर्ने भएपनि त्यसो नहुँदा सर्वसाधारणले सास्ती पाएको गुनासो आएको उनले बताए ।

कुल ५० मिटर चौडाई र २७.५० किलोमिटर लम्बाईको यो सडक ६ अर्ब १३ करोड रुपैयाँमा विस्तार हुन लागेको हो । जसमध्ये ५ अर्ब ५९ करोड रुपैयाँ खर्च भइसकेको छ ।

पटकपटक विवादका कारण रोँिकदै आएको यो आयोजनाको ९१ प्रतिशत वित्तीय प्रगति भएको छ भने ९३ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस आर्थिक वर्ष २९ करोड १६ लाख निकासा भएको रकममध्ये ९ करोड ५० लाख खर्च भएको छ । यस हिसाबले ३३ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति देखिन्छ । जसमध्ये ९ वटा आकाशे पुल निर्माण सम्पन्न भएको छ ।

शंकरनगर, मणिग्राम, भलबारी, कोटिहवा र ठुटिपिपलमा गरी ५ वटा ठेक्का व्यवस्थापन भइरहेको छ । यसैगरी सडकको बीच र दुबैतर्फ सर्भिस लेनमा ८ किलोमिटरमा बत्ती व्यवस्थापनको काम भइरहेको छ ।

ठेकेदार सम्पर्कविहीन

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक ६ लेन बनाउन २०७७ माघ १४ गते वर्तमान गृह तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण शुभारम्भ गरेका थिए । तर उक्त सडकमा ठेकेदारले कुनै पनि काम शुरु गरेको छैन । शुभारम्भ कार्यक्रममा निर्माणको ठेक्का पाएको कञ्चनजंगा बिरुवा जेभीका प्रतिनिधिले समयमै कामसक्ने प्रतिबद्धता सोही दिन गरेका थिए ।

ठेकेदारले काम नगरेपछि सडक कार्यालयले पत्र नै काटेर छिटो काम गर्न निर्देशन दिएको छ । तर ठेकेदार सम्र्पकमा आएका छैनन् ।

सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनीले मन्त्रीले शुभारम्भ गरेको ठाउँमा अहिलेसम्म काम शुरु नभएकाले स्पष्टीकरण सोधिएको बताए । काम सम्पन्न गर्न ध्यान नदिएको कारणले आफूले पटक–पटक दबाब दिनुपरेको उनको भनाइ छ ।

‘कानुनअनुसार ठेकेदारको म्याद भएपछि केही गर्न सकिएन, तर हामीले पत्राचार गरेको जवाफ नि आएन धेरैपटक, फोन सम्पर्क पनि छैन, के गर्ने अन्योल भएको छ’, उनले नेपाल प्रेससँग भने । नेपाल प्रेसलाई कार्यालयबाट दिइएको सो कम्पनीका प्रतिनिधिको सम्पर्कनम्बर ९८५१०७९४३६ मा फोन लागे पनि उठेन ।

लामो समय विवादित यो सडक निर्माणको लागि सर्वाेच्च अदालतले मार्ग प्रशस्त गरेपछि सरकारले उक्त कम्पनीलाई २०७९ असार मसान्तसम्म कामसक्ने सम्झौता गरेको थियो ।

सात वर्षदेखि सडकलाई चौडा गरी ८२ फुट कायम गर्ने सरकारी योजना स्थानीयको अवरोध र पटक–पटकको मुद्दा मामिलाका कारण अगाडि बढ्न सकेको थिएन भने अहिले ठेकेदार कम्पनीको अटेरीका कारण ढिलाइ भएको छ ।

अब पनि समयमै काम सकिने गरी तत्काल काम शुरु नगरे ठेक्का भंगसम्म गर्ने मरासिनीले जानकारी दिए । सडक विस्तारको लागि लकडाउनमै डोजर प्रयोग गरी सडक किनारका घर–टहरा हटाए पनि निर्माण कार्य अलपत्र भएकोप्रति यहाँका व्यवसायीले आपत्ति जनाएका छन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले व्यवसयीलाई एक दिन पसलका सामान सार्न अनुरोध गर्दा पनि समय नदिने तर अहिले यति लामो समय काम ठप्प हुँदा पनि केही नगर्ने विषय गम्भीर भएको बताए । यो सडक निर्माणका लागि कन्चजंगा बिरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो । बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्म करिब ३ किलोमिटर लामो यो सडकको लागत करिब ६० करोड रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर