एनएसएलका उत्कृष्ट मिडफिल्डर मेसुके र स्टेफन समिर एनआरटीमा (भिडियो) – Nepal Press

एनएसएलका उत्कृष्ट मिडफिल्डर मेसुके र स्टेफन समिर एनआरटीमा (भिडियो)

काठमाडौं । काठमाडौंको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि आज दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै असोज ३ गतेबाट हुने लिगका लागि अनुबन्धित खेलाडीद्वय मेसुके ओलुमो र स्टेफेन समिरलाई सार्वजनिक गरेको हो । क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

नयाँ ढाँचा हुन लागेको ए डिभिजन लिगको सुरुआतमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन: खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ । यसै कारण फरक ढाँचाबाट सञ्चालन हुन लागेको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको छ । अघिल्लो संस्करणमा पनि प्रशिक्षण दिएका राजु काजी शाक्यलाई क्लबले प्रशिक्षकको रूपमा निरन्तरता दिएको छ ।

प्रशिक्षक राजुकाजी शाक्यले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए । शाक्यले एनआरटीले उपाधि उचाल्ने लक्ष्यका साथ आउँदो प्रतिस्पर्धा गर्ने बताए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान अन्तर्गत दुई खेलाडीलाई गरेको हो । आगामी दिनमा थप खेलाडि अनुबन्ध गरिने क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताएका छन् । नयाँ संस्करणका लिगका लागि क्लबले पुराना खेलाडीलाई निरन्तरता दिने बताएको छ । एनआरटीले वि.स २०१७, २०१९, २०३५ र २०५२ मा सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

चार पटकको च्याम्पियन एनआरटीले मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । उनीहरूकै प्रदर्शनप्रेरित काठमाडौं रेजर्सले उपाधि उचालेको थियो । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । क्लबमा अहिले १२ पुरानै खेलाडी रहेको पनि क्लबले जनाएको छ ।

एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छुट्याएको जनाएको छ । लिगमा तीन विभागीयसहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजन हुने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *