गुल्मी कांग्रेसमा पौडेल पक्षका आकांक्षी धेरै, अधिकांशले केन्द्र ताकेपछि देउवा पक्ष तनावमा – Nepal Press

गुल्मी कांग्रेसमा पौडेल पक्षका आकांक्षी धेरै, अधिकांशले केन्द्र ताकेपछि देउवा पक्ष तनावमा

रुपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीको गृहजिल्ला गुल्मीमा सभापति शेरबहादुर देउवा पक्षभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ । पार्टीको महाधिवेशन नजिकिँदै जाँदा लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा केन्द्रीय गुटगत समूहहरु बन्न थालेका छन् ।

नेता प्रकाशमान श्रेष्ठको नजिक मानिने अहिलेका पार्टी सभापति भुवन श्रेष्ठ जिल्लामा भने पौडेल समूहमै गनिन्छन् । भुवन श्रेष्ठ र पौडेल समूहकै अहिलेका सचिव खिलध्वज पन्थी दुवै जनाले जिल्ला नेतृत्वमा आकांक्षा व्यक्त गरेपछि पौडेल समूहले कसलाई अगाडि सार्ने अन्यौलमा परेको छ ।

नेता चन्द्र भण्डारीको समूहमा रहेका श्रेष्ठ र पन्थी दुवैले नेतृत्व दावी गरेपछि यस्तो समस्या आएको हो । उपसभापति विष्णु बलालले पनि आफू नेतृत्वमा जाने भनेर कार्यकर्तालाई सुनाइरहेका छन् ।

अर्कोतर्फ देउवा समूहबाट पार्टी सभापतिमा कसलाई पठाउने भन्ने अन्योल छ । देउवा समूहमा खुलेर लागेका छन्द पहराई, नेता चन्द्र केसीलाई अगाडि सार्न खोजिएपनि दुवैले केन्द्रतिर ताकेपछि त्यो समूहलाई नेता छनोट गर्न चुनौती आइलागेको हो । उक्त समूहबाट बेद मगर तथा दामोदर भुसाल पनि नेतृत्वमा आउन चाहेका छन् ।

‘म केन्द्रतिर जान खोजेको हुँ, परिस्थितिले माग्यो भने त जिल्ला सभापतिमा पनि आउनुपर्ला’ नेता छन्द पहराईले भने ।

अहिलेका सचिव खिलध्वज पन्थी पार्टी संगठनमा अगाडि रहेको र नेताहरु रिझाउन जानेकाले अहिलेका सभापति भुवन श्रेष्ठलाई प्रदेश वा केन्द्रको लोभ देखाएर नेतृत्व हत्याउने दाउमा लागेका छन् ।

‘पार्टीमा निरन्तर लागेपछि नेतृत्वमा जाने रहर कसलाई हुँदैन र ? धेरै साथीहरुले तपार्इँ नेतृत्वमा आउनुपर्छ भनिरहनुभएको छ, अहिलेका सभापतिको व्यवस्थापन गरेपछि म अगाडि बढ्छु’, उनले भने ।

त्यसो त जिल्ला नेतृत्वमा नेता शालिक पन्थी, रविलाल ज्ञवाली, महेन्द्र भण्डारी, महिला नेतृ विष्णु सापकोटाले आंकक्षा राख्दै नेता कार्यकर्तासँग पुग्न थालेका छन् । दुई वटा क्षेत्र रहेका जिल्लामा क्षेत्रीय सभापतिमा पनि उस्तै आकांक्षीहरु अगाडि आएका छन् ।

अहिलेका क्षेत्रीय सभापति भगतसिंह खड्का र अशोक थापा सोही पदमा नदोहोरिने भएपछि अन्य आकांक्षीहरु बढेका हुन् । क्षेत्र नं २ बाट शिव केसी, पूर्ण केसी, सुदर्शन खनाल, लेकप्रसाद खरेल, चन्द्र महतले क्षेत्रीय सभापतिमा आकांक्षा देखाएका छन् ।

काँग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

गुल्मीबाट केन्द्रीय समितिमा नेता चन्द्र भण्डारी दोहोरिने निश्चित छ । यद्यपि प्रदेशको नेतृत्वमा उनलाई अगाडि सारेमा त्यो समूहबाट जित्न सकिने सुझाव पनि आएको उनीनिकट नेताहरुले बताए ।

देउवा समूहबाट केन्द्रीय कमिटीमा चन्द्र केसी, त्रैलोक्यप्रताप सेन, छन्द पहराई अगाडि सार्ने त्यो समूहको तयारी छ । केसी र सेन यसअघि पनि धेरैपटक उठेर पराजित भएका छन् भने पहराई अहिले पनि केन्द्रीय नीति तथा प्रतिष्ठानमा क्रियाशील छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर