विहेको सिजनमा पनि अधिकांश पार्टी प्यालेस सुनसान, ऋण काढेर भाडा तिर्दै व्यवसायी – Nepal Press

विहेको सिजनमा पनि अधिकांश पार्टी प्यालेस सुनसान, ऋण काढेर भाडा तिर्दै व्यवसायी

काठमाडौं । विवाहको सिजनमा काठमाडौंलगायत देशभरका पार्टी प्यालेसमा पालो पाउनै मुस्किल हुन्थ्यो । पार्टी प्यालेस सञ्चालकले एकैदिन दुईवटासम्म पार्टी भ्याउँथे । तर, कोरोना संक्रमणका कारण अघिल्लो वैशाखदेखि काठमाडौंसँगै देशभरका पार्टी प्यालेस सुनसान छन् ।

वैशाख, असार, मंसिर जस्ता विवाहको धेरै लगन हुने महिनामा पनि बिजनेश नपाएपछि पार्टी प्यालेस सञ्चालकहरु तनावमा छन् ।

व्यवसायीहरुले अहिले पार्टी प्यालेसको भाडा तिर्नसम्म मुस्किल भइरहेको गुनासो गरेका छन् । ‘आम्दानी त परै जाहोस, ऋण काडेर भाडा तिरिरहेका छौं, कहिलेसम्म धान्नु यसरी ?’ नेपा बैङ्क्वीटका संचालक कृष्ण गिरी भन्छन् ।

कोरोना संक्रमण बढेसँगै गत वर्ष पनि ६ महिना लकडाउन भएको थियो । त्यसपछि क्रमशः बजार खुले पनि मानिसमा संक्रमणको त्रासका कारण पार्टी प्यालेसको व्यापार हुन सकेन । नागरिकहरु त्रासमुक्त भइनसक्दै फेरि कोरोनाको दोस्रो लहर आयो । त्यसपछि त तङ्ग्रने आश गरिरहेका व्यवसायी झन् मारमा परे ।

सरकारले गत फागुनमा विवाहमा १५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्यायो । उक्त नियमले व्यापार बढ्नुभन्दा झन् घाटा परेको व्यवसायी बताउँछन् । ‘त्यो बेला भएका अर्डरहरु पनि बीचमा रद्द भए, त्यसले व्यापारलाई झन् असर गर्यो’, गिरीले बताए ।

अहिले सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि पार्टी प्यालेस भने कहिलेदेखि सञ्चालन हुने भन्ने अन्योल नै छ । निषेधाज्ञा खुले पनि तत्काल व्यापार नहुने चिन्ता व्यवसायीलाई छ । ‘कोरोनाका कारण मानिसहरु त्रासमा नै छन्’ गिरी भन्छन्, ‘निषेधाज्ञा खुले पनि हाम्रो व्यापार लयमा फर्कन केही समय लाग्छ । यसले धेरै व्यवसायी र मजदुरलाई विस्थापित गर्ने सम्भावना छ ।’

काठमाडौंमा सञ्चालित सयौं पार्टी प्यालेसमा अर्बौको लगानी रहेको गिरी बताउँछन् । डेढ बर्षदेखि पार्टी प्यालेस बन्द हुँदा करडौको क्षति बेहोर्नु परेको उनको भनाइ छ ।

गिरीका अनुसार ७ करोड लगानी रहेको उनको बैङ्क्वीटमा यो वर्ष विवाहलगायतका कुनैपनि समारोह भएको छैन । जसकारण करिब एक करोड रुपैयाँ घाटा भइसकेको छ । ‘१५ जना स्टाफ छन्, तलव दिनै प¥यो । बैंङक्वीट भाडा तिर्नै प¥यो । साथै, मर्मत संभार पनि गर्नु प¥यो । यी सबै जोड्दा अझै लामो समय पार्टी प्यालेसमा कुनैपनि समारोह भएन भने बन्द गर्नुको विकल्प छैन,’ उनले भने ।

थापागाँउका रविन हुमामगाईको क्वालिटी पार्टी प्यालेस बन्द भएको पनि धेरै भइसक्यो । कोरोना करहसँगै बन्द भएको उनको पार्टी प्यालेस खुल्न अझै सकेको छैन । यसभन्दा अघि पार्टी प्यालेसमा विवाहको सिजनमा कहिल्यै खाली बस्नु नपरेको उनी बताउँछन् । ‘यो वर्षको विवाहको सिजन सकिनै लागिसक्यो’, उनी भन्छन्, ‘कोरोनाको तेस्रो भेरियन्टको हल्ला चलेको छ । अब कहिलेदेखि व्यवसाय सुरु हुन्छ कुनै टुंगो छैन ।’

बसुन्धारा बैंङ्क्वीटमा वैशाख र जेठका लागि १५ वटा वुकिङ भएका थिए तर, वैशाखको पहिलो साताबाट कोरोना माहामारीका कारण जनजीवन अस्तव्यस्त भएका कारण सबै बुकिङ रद्द भएको बताउँछिन् संचालिका रमा श्रेष्ठ । गत मंसिरदेखि चैतसम्म विवाहका लगन धेरै नभएको तर, केही कार्यक्रम भने यदाकदा हुने गरेको उनले सुनाइन् ।

यस्तै टौदहस्थित टौदह पार्टीप्यालेसमा गत मंसिरदेखि चैतसम्म राम्रै व्यापार भयो । तर अहिले व्यापार ठप्प भएको पार्टीप्यालेसकी कर्मचारी तारा लामाले बताइन् ।

पर्यटकीय क्षेत्र भएकाले टौदहमा विभिन्न संघसंस्थाले कार्यक्रम गरेकाले मंसिरदेखि चैतसम्म अलिअलि व्यापार भएको उनको भनाइ छ ।

अर्पना बेङ्क्वीट, दरबार बेङ्क्वीट, कार्की पार्टी प्यालेसलगायत काठमाडौंमा नाम चलेका पार्टी प्यालेस पनि अहिले बन्द नै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *