पश्चिम नवलपरासी कांग्रेस: खनाल समूहले अघि सार्यो पोखरेल, कँडेल समूह अन्योलमै – Nepal Press

पश्चिम नवलपरासी कांग्रेस: खनाल समूहले अघि सार्यो पोखरेल, कँडेल समूह अन्योलमै

रुपन्देही । पार्टी महाधिवेशन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटको सरगर्मी बढेको छ । केन्द्रमा जस्तै दुई खेमामा विभिजित कांग्रेस नेताले आ–आफ्नो पक्षबाट उम्मेदवारी घोषणा एवम् दावी सार्वजनिक गरिरहेका छन् ।

पश्चिम नवलपरासीमा कांग्रेस सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संस्थापनइतरबाट विक्रम खनाल गुट छ । कंडेल र खनाल विघटित प्रनिनिधिसभाका सदस्य हुन् ।

विगतमा देउवानिकट नेता खनाल जिल्लामा कँडेलका विरोधीका रुपमा देखिएका छन् । नेता खनाल केन्द्रमा बन्ने समीकरणका आधारमा आफ्नो समूह निर्धारण गर्ने मनस्थितिमा छन् ।

खनाल समूहका नेताहरुले भेला नै गरेर पार्टीको नेतृत्वका लागि अर्जुन पोखरेललाई उम्मेदवारमा समर्थन गरेपछि यहाँको राजनीति थप रोचक बनेको छ । कँडेल समूहले अहिलेसम्म सभापतिको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । तर महाधिवेशन प्रतिनिधि मोहन शर्मालाई अगाडि बढाउने नेता कंडेलले तयारी गरेका छन् ।

संघीयतापछि साविक नवलपरासी जिल्ला टुक्रिएपछि लामो समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका प्रस्तावित सभापतिका उम्मेदवार पोखरेल वर्तमान जिल्ला उपसभापति हुन् ।

पोखरेललाई सभापतिको उम्मेदवारका रुपमा समर्थन गर्न बसेको भेलामा २ वटै निर्वाचन क्षेत्रका संघीय सभापति र प्रदेशसभा क्षेत्रीय सभापतिहरु थिए । त्यसैगरी भेलामा संविधानसभा सदस्यद्वय खनाल, देवकरण जयसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, विश्वप्रकाश पाठकलगायतका नेताहरुको सहभागिता थियो ।

गुट विवादकै कारण महाधिवेशनका लागि जिल्लाबाट पठाइएको क्रियाशील सदस्यतामा पनि दुवै पक्षले केन्द्रमा उजुरी दिएका छन् ।

जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढीको क्रियाशील सदस्यता पठाइएको पार्टी सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

अहिलेसम्म जिल्लाबाट केन्द्रीय सदस्यमा नेता देवेन्द्रराज कंडेल र विक्रम खनालमात्रै देखिएका छन् । त्यसैगरी क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिका लागि पनि दुवै समूहले लिस्ट बनाएर तयारी गरिरहे पनि आकांक्षी धेरै भएकाले सार्वजनिक गर्न नसकेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर