यी दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो एमाले बैठक बहिष्कार – Nepal Press

यी दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो एमाले बैठक बहिष्कार

काठमाडौं । एक दिनको परिभाषा नमिल्दा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी क्रियाशील गराइए पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नभएको तर्क नेपाल पक्षको छ ।

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बीहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको बैठकले गरेका दुई बुँदे निर्णय सार्वजनिक भएको छ । जसमा सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्‍याएको उल्लेख छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘पार्टी विधानविपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

माधव पक्षको बैठकले गरेको दोस्रो निर्णयमा एमालेलाई एकताबद्ध रूपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता र सहमतिको प्रक्रिया अवलम्वन गरिनुपर्ने उल्लेख छ ।

आवश्यक तहको सहमति तथा स्थायी कमिटी बैठकमा आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने नेपाल पक्षको लिखित निर्णयमा उल्लेख छ ।

आवश्यक तहको सहमति भन्नाले केपी ओली र माधव नेपालबीच वार्ता भएर त्यस आधारमा मात्र बैठक बोलाउनुपर्छ भन्न खोजिएको नेपाल पक्षका एक नेताले बताए ।

नेपाल पक्षले २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा बसेको केन्द्रीय कमिटी बैठकपछि मात्र समावेश गरिनुपर्ने सर्त राखेको छ ।

त्यस्तै रामबहादुर थापा बादलसहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका नेताहरूलाई पनि एमालेको जेठ २ को बैठकपछि मात्र कमिटीमा सामेल गर्न सकिने नेपाल पक्षको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर