खोप लगाएकालाई थाइल्यान्डले गर्‍यो पर्यटन खुला, एकैदिन ४०० पर्यटक पुगे – Nepal Press

खोप लगाएकालाई थाइल्यान्डले गर्‍यो पर्यटन खुला, एकैदिन ४०० पर्यटक पुगे

बैंकक । कोभिड-१९ विरुद्धको खोप लगाएका विश्वभरका मानिसलाई थाइल्यान्डले पर्यटन खुला गरेको छ । झन्डै १५ महीनापछि थाइल्यान्डको प्रमुख पर्यटकीय थलो फुकेटले खोप लगाएका मानिसलाई क्वारेन्टिनरहित रुपमा पर्यटन खुला गरेको जनाएको हो ।

बिहीबार अबुधाबीबाट पहिलोपटक एक यात्रुवाहक जहाज फुकेटमा अवतरण गर्‍यो । दोहा, तेलअभिभ र सिंगापुरबाट गरी ४०० पर्यटक उक्त दिन थाइल्यान्ड पुगेका छन् ।

सीएनएनसँग कुरा गर्दै थाइल्यान्डका पर्यटनमन्त्री पिफाट राचाकीप्रकरनले कोरोना महामारीले थला परेको मुलुकको अर्थतन्त्रलाई उकास्न पनि फुकेटलाई खुला गर्नु जरुरी रहेको बताएका छन् ।

सन् २०१९ मा थाइल्यान्डले घरेलु र विदेशी पर्यटकबाट गरी कूल ९३.७ बिलियन डलर कमाइ गरेको थियो । तर, सन् २०२० मा महामारीको कारण त्यहाँको अर्थतन्त्र जर्जर बन्यो ।

पर्यटन खुला गर्ने जुलाई १ को घोषणालाई सांकेतिकरुपमा महत्वपूर्ण रुपमा लिइएको छ किनभने, खुला गर्दैमा तत्काल ठूलै संख्यामा पर्यटक जाने भन्ने पनि होइन । फुकेट पुनः खुला भएको पहिलो तीन महिनामा १ लाख अन्तर्राष्ट्रिय पर्यटक जाने अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर