मनसुन भित्रिएको १६ दिनमै २७ जनाले गुमाए ज्यान – Nepal Press

मनसुन भित्रिएको १६ दिनमै २७ जनाले गुमाए ज्यान

२६ जना अझै बेपत्ता, २२ घाइते

काठमाडौं । नेपालमा मनसुन भित्रिएको १६ दिनमा प्रकोपमा परेर २७ जनाको मृत्यु भएको छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्मको अवधिमा बाढी पहिरो र भारी वर्षाका १ सय ४४ घटनामा परेर २७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार यस अवधिमा मनसुनजन्य ३ वटै प्रकारका घटनामा परेर ३६ जना बेपत्ता र २२ जना घाइते र र ६ सय ७६ परिवार विस्थापित भएका छन् । बाढीका घटनामा परेर १५ जनाको मृत्यु, ७ जना घाइते र २५ जना बेपत्ता भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

पहिरोका ६७ घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । यस्तै १४ जना घाइते र ३७ परिवार विस्थापित भएका छन् । त्यसैगरी ४४ वटा भारी वर्षाका घटनाबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । ५५ परिवार विस्थापित भएका छन् ।

अघिल्लो वर्षभन्दा ५० प्रतिशत बढीले गुमाए ज्यान

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्षको तुलनामा मनसुनजन्य घटनाबाट ५० प्रतिशत बढीको मृत्यु भएको छ । अघिल्लो वर्ष यस अवधिमा १८ जनाको मृत्यु भएको थियो । तर यो वर्ष २७ जनाले ज्यान गुमाएका छन् ।

अघिल्लो वर्ष यही अवधिमा एक जना पनि बेपत्ता भएका थिएनन् । तर यो वर्ष भने २६ जना बेपत्ता भइसकेका छन् । अघिल्लो वर्ष १५ जना घाइते हुदाँ यस वर्ष २२ जना भइसकेका छन् । मनसुनजन्य घटना नै अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बर छन् । अघिल्लो वर्ष यस अवधिमा ७२ वटा मनसुनजन्य घटना भएकोमा यस वर्ष उक्त अवधिमा एक सय ४४ वटा घटना भएका छन् ।

४ सय ६२ घरमा पूर्ण क्षति, १ सय १० मा आंशिक

प्रकोपबाट ४ सय ६२ घरमा पूर्ण क्षति पुगेको छ भने १ सय १० घरमा आंशिक क्षति पुेको छ । यस्तै २१ वटा सरकारी कार्यालय, १९ वटा झोलुंगे पुल, ७ वटा पक्की पुल, ५ वटा सामुदायिक विद्यालय र १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

घटनाबाट सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा ठूलो जनधनको क्षति पुगको छ । अहिलेसम्म मनसुनजन्य घटनाबाट ३६ जिल्ला बढी प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

बाढी, पहिरो र भारी वर्षाका कारण मुलुकभरका ६ वटा सडकमा पनि क्षति पुगेको छ । जसमा सिन्धुपाल्चोकको हाइड्रोपावर जाने सडक भोटेकोशी गाउँपालिका-२स्थित लिपिङमा पूर्णरुपमा अवरोध भएको छ भने सिन्धुपाल्चोककै अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीमा सडक भासिएर अवरोध भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका-६ गढीमा पहिरोका कारण बाटो पूर्णरुपमा अवरोध भएको छ । यस्तै लमजुङको बेँसीशहर–मनाङ सडकको मस्र्याङदी गाउँपालिका-४ च्याम्चे र रामबजार अवरुद्ध भएपछि खुलाउने कार्य जारीे छ ।

मनाङको मनाङ-बेँसीहर सडकको चामे गाउँपालिका–३ कोतो, चामे, होम्देबजार पहिरोका कारण अवरुद्ध छन् । बाजुराको मातर्ड–कोल्टी सडक खण्डको बुढिनन्दा नगरपालिका २ दाङसाँघु खोलामा नदीले सडक कटान गरेकाले पूर्णरुपमा अवरुद्ध छ ।

१६ सय भन्दा बढीको उद्धार

गत जेठ ३१ गते राति भएको अविरल वर्षाका कारण जोखिममा वरेका मनाङ चामेका ३ सय र तालगाउँ का २ सयलाई सुरक्षित स्थानमा स्तानान्तरण गरिएको छ । मनाङका विभिन्न स्थानमा जोखिममा रहेका १ सय १८ जनाको हेलिकोप्टरबाट उद्धार भएको थियो ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा असार १ गते रातिदेखिको बाढी र पहिरोबाट जोखिममा रहेका हेलम्बुका ५ सय र मेलम्चीका ६ सयलाई स्थानीय प्रशासन र स्थानीय तहको पहलमा सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ । असार २ गते बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत् १ सय २३ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यसैदिन त्रिपाल २ सय ५० र टेण्ड १ सय, स्लिपिङ ब्याग ५० थान मेलम्ची पु¥याएर जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । असार ३ गते थप टेण्ट १ सय १० थान, त्रिपाल १ सय ५० थान सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पु¥याइएको थियो । हेलिकोप्टरबाट २ थान जेनेरेटर, १५ थान टेन्ट, ४५ थान ब्लाङकेट, २० थान स्लिपिङ ब्याग पठाइएको थियो ।

असार ३ गते गोरखाको उत्तरी क्षेत्र जुमनुब्री सल्लेरीबाट विश्व खाद्य कार्यक्रमले २ जनाको हवाइइ उद्धार गरिएको थियो भने गृह मन्त्रालयबाट ४७ थान त्रिपाल र ३० थान प्लास्टिक सिट पठाइएको थियो । असार ७ गते सिम्रिक एयर हेलिकोप्टरबाट सुलिकोटमा ४ जनाको उद्धार गरिएको थियो ।

३ हजार भन्दा बढी त्रिपाल र १२ सय भन्दा बढी टेण्ट पठाइयो
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७ वटै प्रदेशका ११ वटा जिल्लामा ३ हजार १ सय ६ वटा त्रिपाल र १ हजार २ सय २९ वटा टेण्ट प्रादेशिक गोदाम र जिल्लामा पठाइएको छ ।

यस्तै ६० वटा प्लाष्टिक सिट, १० वटा कम्बल, १ सय ४४ वटा स्लिपिङ ब्याग, ८० वटा ब्लाङकेट, २ वटा जेनेरेटर, ५ सय थान ग्याविन तार र २ सय लिटर डिजेल पठाइएको हो ।

जसमा मनाङ, सिन्धुपाल्चोक, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, सुनसरी, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पठाइएको हो ।

अन्तर्राष्ट्रिय संघ संस्थाको पहलमा ३ वटा प्रदेशमा १ हजार ६ सय २७ म्याट्रेस, ९ सय ६९ ब्लाङ्केट, १ हजार ५ सय ९५ त्रिपाल, २ सय ६ टेण्ट, ६ सय ७ झुल र ३ सय ६७ वटा भाँडाकुडा वितरण भएको छ । जसमा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा वितरण गरिएको हो ।

यस्तै नेपाल रेडक्रस सोसाइटीले २४ वटा गैरखाद्य सामग्री, ७६ वटा त्रिपाल, १ सय ५२ ब्लाङकेट, २ सय म्याट्रेस, १ सय ८ वटा हाइजिन किट, १० वटा स्क्विटिङग प्लेट, ५० वटा डिग्निटी किट, १ सय ८ वटा बाल्टिन, ७६ वटा डोरी, २० वटा सेल्टर किट, १ सय वटा झुल, एउटा टेन्ट र ३० वटा आपतकलीन शौचालय वितरण गरेको छ ।

प्रथम किस्ता वापत् २० करोड रुपैयाँ निकासा
निजी आवासको पुनर्निर्माणका लागि अहिलेसम्म २० जिल्लामा प्रथम किस्ता वापत् १९ करोड ९७ लाख ७३ हजार ७ सय ५० रुपैयाँ निकासा गरेर पठाइसकिएको छ ।

आगामी वर्षमा खोज, उद्धार तथा आवश्यक सामाग्री खरिदका लागि बजेट पनि विनियोजन भएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *