४ सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

४ सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको  एक मन्त्रीले जानकारी दिए ।

प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि सहसचिव डा. दामोदर रेग्मीको मात्र नाम बढुवा समितिबाट सिफारिस भएकाले उनी बढुवा भएका छन् । प्रशासनतर्फ नै अर्काे सचिवका लागि ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे बढुवा भएका छन् ।

पाण्डेसँगै बढुवा समितिले सहसचिव मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो ।

वन सेवातर्फ आचार्य 

ती मन्त्रीका अनुसार सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा  बढुवा भएका छन् । सचिव बढुवाका लागि आचार्यसँगै निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस भएको थियो । बरिष्ठताका आधारमा आचार्य सचिवमा बढुवा भएका हुन् । आचार्य र पाण्डेको नाम यसअघिको सचिव बढुवामा पनि सिफारिस भएको थियो भने खरालको नाम पहिलोपटक बढुवा समितिले सिफारिस गरेको थियो ।

कृषि सेवातर्फ बज्राचार्य

इन्जिनियरिङ सेवातर्फ सचिवमा सहसचिव प्रमिला बज्राचार्यलाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको ति मन्त्रीले बताए । बढुवा समितिले बज्राचार्यसँगै सहसचिव सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम पनि सिफारिस गरेको थियो ।

लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै अघि बढेको हो । अहिले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त छ । गण्डकी र कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छन् । उनीहरु बढुवा भएसँगै रिक्त भएका ठाउँ परिपूर्ति हुनेछन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि मंगलवार र बुधवार नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर