चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष : विश्व हल्लाउने ६ उपलब्धी – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष : विश्व हल्लाउने ६ उपलब्धी

राष्ट्रसंघमा चीनलाई लैजान विपीले गरेको त्यो लबिङ र महेन्द्र-माओ संवाद

इटहरी । ‘सम्राज्यवादले १०० वर्षसम्म हामी (चीन) लाई नियन्त्रण गर्‍यो । उनीहरूले कुनै निर्माण नगरी हाम्रा सबै कुराहरू लगे’ सन् १९६१ को अक्टोबर ५ मा चीन भ्रमणमा रहेका नेपालका राजा महेन्द्रसँग माओले भनेका थिए ।

उनले अगाडि थपेका थिए, ‘क्विङ वंशदेखि चेङ काइसेकको समयमा जम्मा हाम्रो स्टिल उत्पादन ४० हजार टनमात्रै थियो । कसैले भन्न सक्छ  कि हामीसँग फलाम र स्टिल छैन । मेसिन उत्पादन गर्ने उद्योग पनि छैन । न त कुनै भूगर्भिक काम नै छन ।’

चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता कब्जा गरेको १२ बर्षपछि यस्तो हालत थियो चीनको । त्यही हालत जस्ताको तस्तै माओले महेन्द्रलाई नेपाल चीन सीमा सन्धीको सवालमा भएको भेटमा सुनाएका थिए ।

माओको ‘अन डिप्लोमेसी’ पुस्तकको माओ र महेन्द्रको संवाद राखिएको छ । चीनको तत्कालीन अँध्यारो औद्योगिक कथा सुनाएका माओले भविष्यको उज्याले चित्र पनि देखाएका थिए । उनले महेन्द्रलाई भनेका थिए, ‘यूरोप र अमेरिकालाई अहिलेको स्तरमा आउँन युगौँ लागेको थियो । उनीहरुलाई चीनले आगाडि एक सय वर्षमा उछिन्यो भने गज्जब हुनेछ ।’

माओले महेन्द्रलाई ६० बर्ष अगाडि भनेको कुरा पूरा हुने दिशामा छ । माओकालको अल्पविकसित चीनले अर्थतन्त्रको कोणमा आज यूरोपका देशहरूलाई जितिसक्यो । अहिले अमेरिकापछिको दोश्रो ठूलो अर्थतन्त्र चीनको छ । पर्जेजिङ पावर प्यारिटीको आधारमा त सन् २०१४ बाटै चीनले अमेरिकालाई पनि जितेको तथ्यांक छ ।

यो फड्कोको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीले गरिरहेको छ । आज चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको ठीक सय वर्ष भएको छ । सन् १९२१ मा माओलगायतका १२ जना नेताहरूले सांघाइमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । त्यो समयमा माओ २७ बर्षका थिए । जुलाइ १ मा पार्टी स्थापना गरिएपनि यसको पहिलो महाधिवेशन भने जुलाइ २३ मा भएको थियो ।

स्थापनाको १०० वर्ष र चीनको सत्तामा भएको ७२ वर्ष भएको छ चिनियाँ कम्युनिष्ट पार्टीको । यो दौरानमा राजनीतिक स्वतन्त्रता नदिएको, मानव अधिकारको हनन् गरेको देखि एकदलीय तानाशाही लाएको आरोप चीनलाई लाग्दै आएको छ । चीनले भने आफ्नो देश र भूगोल अनुसारको फरक राज्य व्यवस्था भएको जिकिर गर्दै आफ्नो सही व्यवस्था भएको तर्क गर्दै आएको छ ।

केही राजनीतिक आलोचनाको बाबजुद चिनियाँ कम्युनिष्ट पार्टीको सात दशक लामो सत्ताले विश्वलाई उदाहरणीय देखाउने केही गज्जब प्रगतिहरू गरेको छ । बुँदागत रूपमा चर्चा गरौँ :-

१. सबैभन्दा ठूलो र सबैभन्दा धेरै समय सत्तामा भएको कम्युनिष्ट पार्टी

विश्वका अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीहरूमा सबैभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी हो । पार्टीमा साढे ९ करोड बढी सदस्य छन् । यो संख्या चीनको जनसंख्याको ७ प्रतिशत हाराहारी भएको सीएनएनले लेखेको छ ।

यद्यपि चिनियाँ कम्युनिष्ट पार्टी विश्वका सबै पार्टीमा सबैभन्दा ठूलो भने हैन । भारतको सत्ताधारी बीजेपी विश्वको सबैभन्दा ठूलो पार्टी हो । बीजेपीका १८ करोड हाराहारी सदस्य छन् । विश्वको सबैभन्दा ठूलो मात्रै हैन सबैभन्दा धेरै लामो सत्तामा हुने पार्टी पनि चिनियाँ कम्युनिष्ट पार्टी हो । सोभियत संघको पार्टीले पाएको भन्दा लामो सत्ता चिनियाँ कम्युनिष्ट पार्टीले पाएको छ ।

२. सबै निर्णायक युद्ध मोर्चामा सफल

सन १९२७ को अगस्ट १ मा चिनियाँ कम्युनिष्ट पार्टीले जनमुक्ति सेनाको निर्माण गर्‍यो । सांघाइमा भएका ट्रेड युनियन आन्दोलनमा व्यापक हस्तक्षेत्र र कम्युनिष्टलाई प्रतिबन्ध लाएपछि जनमुक्ति सेना निर्माण भएको थियो ।

त्यही जनमुक्ति सेनाले गरेका विभिन्न निर्णायक युद्धहरूमा उसको जित भएको छ । उदाहरणको लागि दोस्रो विश्वयुद्ध सकिनु अगाडि जापानी उपनिवेशवादी शक्तिसँग युद्ध भयो । जापान पछि हट्न बाध्य भयो ।

तत्कालीन चेङ काइसेकको सत्ता र जनमुक्ति सेना युद्धमा जापान धपाउने मुद्धामा एक थिए । दोश्रो विश्व युद्धपछि जनमुक्ति सेनाले चेङ काइसेकको राष्ट्रिय सेनासँग लढ्यो । करिब पाँच वर्षको युद्धपछि सन् १९४९ मा काइसेक भागेर जापानको पूर्व उपनिवेश ताइवान पुगे । त्यहीँबाट ‘गणतन्त्र चीन’ नाममा सरकार चलाए ।

सन् १९४९ अक्टोबर १ मा माओले पेकिङ (हालको बेइजिङ)को तियानानमेन स्क्वेयरमा पुगेर ‘जनवादी गणतन्त्र चीन’को घोषणा गरे । रोचक कुरा के छ भने,जनवादी गणतन्त्र चीनलाई अमेरिका मात्रै हैन संयुक्त रास्ट्रसंघले समेत मान्यता दिएन ।

संयुक्त राष्ट्रसंघको स्थायी सदस्य चीनको सिटमा पनि चेङ काइसेकको ताइवानले नै मान्यता पायो । संयुक्त राष्ट्रसंघको स्थापना गर्ने सुरूका केही विश्व नेतामा काइसेक भएको र उनको सत्तालाई अमेरिकी सहयोग भएकोले ताइवानले त्यो सुविधा पायो ।

जनवादी गणतन्त्र चीनलाई पनि राष्ट्रसंघमा ल्याउन धेरै देशले पहल गरे । यसो गर्नेमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला पनि थिए। सन् १९६० को संयुक्त राष्ट्रसंघको पन्ध्रौँ साधारणसभामा विपीले चीनलाई अलग गरेर बनेको राष्ट्रसंघले विश्वका सबै क्षेत्रको प्रतिनिधित्व नहुने तर्क गरेका थिए ।

त्यसको ठीक ११ बर्षपछि सन १९७१ मा जनवादी गणतन्त्र चीन ताइवानको ठाउँमा स्थायी सदस्य भयो । अहिलेसम्म ताइवान संयुक्त राष्ट्रसंघ सदस्य समेत भएको छैन ।

चीन सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धमा अमेरिकी सेनासँग आमनेसामने भएको थियो । उक्त युद्धमा समेत चीनको हार भएन । यस्तै भारतसँग सन् १९६२ मा भएको युद्धमा समेत चीन विजयी भयो ।

यी सबै युद्ध मोर्चाको जस चिनियाँ कम्युनिष्ट पार्टीले लिने गरेको छ । चेङ काइसेक र जापानसँग लढेको युद्ध त चीनले विकास गरेको ‘रेड टुरिजम’ मार्फत व्यापक प्रचारप्रसार समेत हुने गरेको छ ।

३. हङकङदेखि मकाउलाई पुनः चीनमै फर्काउन सफल

चिनियाँ कम्युनिष्ट पार्टीकै नेतृत्वमा हङकङ र मकाउ चीनमा पुनः आएका हुन । युद्ध नगरी वार्ताका माध्यमले चीनले त्यी भूभाग पुःन पाएको हो । सन १९९७ जुलाई १ मा हङकङ चीनमा आएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी ७६ वर्ष पुगेको अवसरमा बेलायतबाट चीनलाई औपचारिक रूपमा हङकङ हस्तान्तरण भएको थियो ।

सन १८४२ मा भएको तत्कालिन चीनको क्विङ वंशसँग भएको अफिम युद्धताका बेलायतले हङकङ हडपेको थियो । सन १९११ मा गणतन्त्र चीन बने पनि फिर्ता आउन नसकेको भूमि जनवादी गणतन्त्र चीन बनेको ४८ वर्षमै फर्कियो ।

हङकङ फिर्ता भएको दुई बर्षपछि मकाउ पोर्चुगलबाट सन १९९९ को डिसेम्बर २० मा फिर्ता भएको थियो । बिबिसीका अनुसार सन १८८७ देखी मकाउ पोर्चुगलको औपचारिक रूपमा उपनिवेश भएको थियो ।

४. सबैभन्दा छोटो समयमा अत्यधिक धेरैलाई गरिवीबाट उठाउन सफल

चीनले सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै नागरिकलाई गरिवीबाट उठाएको विश्व बैंकको भनाइ छ । विश्व बैंकका अनुसार सन १९७० को दशकदेखि हालसम्मको कुल गरिवीबाट माथि उठाइएका मानिसमा विश्वको ७० प्रतिशत हिस्सा चीनको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार सन् १९७० को दशकदेखि सन २०२१ सम्म आउँदा चीनले ७७ करोड नागरिकलाई गरिवीबाट माथि उठाएको छ । राष्ट्रपति सी चिनफिङले यहि बर्षको फेब्रअरी २५ मा चीन चरम गरिवीबाट मुक्त भएको घोषणा गरे । सीले पछिल्ला आठ वर्षमा १० करोडलाई गरिवीबाट उठाएको बीबीसीले उल्लेख गरेको छ ।

५. अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको सबैभन्दा ठूलो बागी

दोस्रो विश्वयुद्धपछि विश्व मानचित्रमा एकछत्र अमेरिकी राज सुरू भयो । सोभियत संघ ढलेपछि झनै त्यसमा बल पुग्यो । पछिल्लो दशमा चीनले अमेरिकी विश्व व्यवस्थामा केही भएपनि धक्का दिएको छ । एसियाली विकास बैंक र विश्व बैंकको विकल्पमा चीन नेतृत्वको एसियाली पूर्वाधार लगानी बैंक सन् २०१६ को जनवरीमा स्थापना भएको छ ।

यसको मुख्यालय बेइजिङमा रहेको छ । नयाँ विकास बैंक सोही वर्ष फेब्रुअरीमा स्थापना भएको छ । यसको मुख्यालय सांघाइमा छ । आर्थिक क्षेत्रमा मात्रै हैन रणनीतिक क्षेत्रमा सांघाइ कोअपरेसन अर्गनाइजेसन सन् २००१ मा खोलेको छ ।

विश्वको उद्योग भनेर चिनिएको चीनको आर्थिक र रणनीतिक प्रभाव क्रमशः बढ्दैछ । चीनलाई बेलायी अखबार दी गार्जियनले त ‘सूपरपावर-इन-वेटिङ’ अर्थात आसन्न महाशक्ति भनेर व्याख्या गरेको छ । यो कुरामा अमेरिकी नेतृत्व बेखुस छ । ट्रम्पदेखि जो बाइडेनसम्मले अमेरिकाको अबको प्रमुख प्रतिस्पर्धी चीन भनेका छन् । चीनलाई काउन्टर दिन विभिन्न देशहरूसँग गठबन्धनको तयारीमा छ अमेरिका ।

default

६. प्रविधिदेखि अन्तरिक्षसम्मको नयाँ विश्वशक्ति

आर्टिफिसियल इन्टेलिजेन्स, फाइभ जीदेखि सूचना प्रविधिका विभिन्न क्षेत्रमा चीन नेतृत्वदायी भएर आएको छ । अमेरिकी जीपीएसलाई विकल्प दिने आफ्नै बाइडो नामक प्रविधि सन २०२० को जुलाइ ३१ मा राष्ट्रपति सीले सार्वजनिक गरे । यस्तै अन्तरीक्षमा सन २०२२ भित्र आफ्नै अन्तरिक्ष स्टेशन बनाउन चीन लागिपरेको छ ।

अमेरिकी नेतृत्वको अन्तरिक्ष स्टेशनमा चिनियाँ अन्तरिक्ष यात्रीलाई सहभागी नबनाएको भन्दै चीनले आफ्नै स्टेशन बनाउन लागेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । सन् २००३ को अक्टोबर १५ मा पहिलोपटक आफ्ना यात्री अन्तरिक्षमा पठाएको चीनले हालसालै जुन १७ मा तीन अन्तरिक्ष यात्री पठाएको छ ।

उनीहरू तीन महिनासम्म अन्तरिक्षमा चिनियाँ अन्तरीक्ष स्टेशन निर्माणमा सक्रिय हुनेछन् । बाँकी तीनजनालाई तीन महिनापछि पठाउन तयारी अवस्थामा राखेको छ । अन्तरिक्ष यात्री पठाउने चीन अमेरिका र रसियापछि दोस्रो देश भएको छ ।

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ नामक विश्वस्तरीय पूर्वाधार कार्यक्रम ल्याएको छ । बीआरआई भनेर चिनिने परियोजनामा अमेरिका नकारात्मक छ । तर, अमेरिका एक्लैले बीआरआईसँग प्रतिस्पर्धा गर्न नसक्ने अमेरिकी अधिकारीहरूले स्वीकार्दै आएका छन् । यसले पनि एक खालको चीनको प्रभुत्व देखाउँछ ।

जसको जस चिनियाँ कम्युनिष्ट पार्टीकै हुन्छ । किनभने चीनमा कम्युनिष्ट पार्टीकै मातहत सबै कुराहरू रहन्छन । सन् २०१७ मा भएको १७ औँ पार्टीको महाधिवेशनमा बोल्दै राष्ट्रपति सीले पार्टीको सबै क्षेत्रमा नेतृत्व हुनुपर्ने धारणा राखेका थिए । सीएनएनले सीलाई उदृत गर्दै लेखेको छ, ‘पूर्व, पश्चिम, दक्षिण र उत्तर, पार्टीले सबैतिर नेतृत्व गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *