बाढीको असर: मेलम्चीको पानी दशैंमा पनि नआउने – Nepal Press

बाढीको असर: मेलम्चीको पानी दशैंमा पनि नआउने

१५ दिनसम्म संरचनास्थलमै पुग्न सकेनन् प्राविधिक

काठमाडौं । गत वर्ष चैत १५ गते मेलम्चीको पानी काठमाडौंबासीको धारामा झर्यो । मेलम्चीको पानी खाने सपना देखेको २७ वर्षपछि धारामा पानी झर्दा उत्सवकै माहौल थियो । तर, अढाइ महिनामै मेलम्चीको पानी आपूर्तिमा रोकावट पैदा भएको छ ।

सुरुङ परीक्षणको कार्यविधि पूरा गर्नुपर्ने भएकाले असार १ गतेदेखि मुहानबाट पानी पठाउन बन्द गरिएको थियो । सोही रात मेलम्चीमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको छ । अब काठमाडांैमा पानी वितरण कहिलेबाट सुचारु हुन्छ भन्ने निधो छैन ।

असार १ गते राति सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को माथिल्लो भागमा भारी वर्षा भएको थियो । वर्षाका कारण भ्रेमाथाङमा गएको भीषण पहिरोले नदी थुनिएर फुट्दा मेलम्ची खानेपानी आयोजनास्थल क्षणभरमै बगरमा परिणत भयो । बाढीले मेलम्ची आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको बताइएको छ ।

दशैंअघि सुचारु नहुने

बाढीले क्षति पुगेसँगै मेलम्चीको पानी वितरण कहिलेबाट सुचारु हुन्छ भन्ने टुंगो नभएको आयोजनाका अधिकारीहरु बताउँछन् । यसपाली दशैंमा काठमाडौंबासीले मेलम्चीको पानी पाउने सम्भावना नरहेको उनीहरुको भनाइ छ ।

मनसुन नसकिएसम्म संरचना मर्मत गर्न समस्या भएकाले दशैअघि खानेपानी काठमाडौं ल्याउन सम्भव नहुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले नेपाल प्रेसलाई बताए । अहिले पनि हतारै गरेर पानी ल्याइहालौ भन्ने अवस्था नभएको उनको भनाइ छ ।

‘दशैं अघिसम्म मेलम्चीको पानी आउने सम्भावना न्यून छ,’ पन्तले भने, ‘भदौसम्म नदीमा बाढी रहिरह्यो भने दशैंमा पानी ल्याउन सकिँदैन ।’

अझै पुग्न सकेका छैनन् प्राविधिक

बाढी गएको १५ दिन भइसक्दा पनि मेलम्ची खानेपानीको मुहानमा प्राविधिकहरु पुग्न सकेका छैनन् ।

मेलम्चीको मुख्य काम भइरहेको हेर्डवक्र्स एरिया हेलम्बु गाउँपालिका १ मा पर्छ । बाढीले खानेपानी मुहानमा रहेको हेडवक्र्ससम्म पुग्ने पुल तथा सडक सबै बगाएकाले अझै पनि आयोजनाको प्राविधिक टोली मुहानसम्म पुग्न नसकेको हो ।

आयोजनाले विभिन्न निकाय, स्थानीय सरकारको सहयोग लिएर बाटो खुलाउने र क्षतिको यकिन अनुमान गरी आवश्यक बजेट व्यवस्था गर्नेबारे छलफल गरिराखेको छ ।

आयोजनाका कर्मचारीहरु हेडवक्र्ससम्म पुग्नका लागि बाटो नभएपछि तीनपटक आधा बाटोबाटै फर्किए । सडक सञ्जाल बाढीले बगाएपछि प्राविधिक टोली हेडवक्र्स पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

उपकरण नपुगी बाढी पन्छाउन सम्भव छैन

बाढीले आयोजनाको हेर्डवक्र्स १० देखि १५ मिटरसम्म पुरिएको छ । बाढीले बगाएर ल्याएको गिटी–बालुवा, ढुंगाले हेडवक्र्स पुरिनुको साथै सबै संरचना बगाएको छ ।

ठूलो परिमाणको गिटी, बालुवा पन्छाएर आयोजनाको संरचना अवलोकन गर्न डोजरलगायत विभिन्न उपकरणहरु नलगिकन सम्भव नभएको समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।

‘सडक सञ्जाल टुटेकाले बाढी पन्छाउनका लागि ठूला उपकरण मुहानमा लैजान सकिने अवस्था छैन,’ उनले भने, ‘आयोजना स्थलदेखि मेलम्ची बजारसम्म नै सडक अवरुद्ध भएकाले समस्या भइरहेको छ ।’

हेडवक्र्सको मुख्य सरंचनाहरु सबै पुरिएको हुँदा भित्र कति क्षति भयो भनेर भन्न नसकिने उनी बताउँछन् ।

अझै ठूलो क्षति हुन सक्थ्यो !

सुरुङको विधिपूर्वक सफल परीक्षणविना नै पहिले हतारमा पानी वितरण सुरु गरिएको थियो । अढाइ महिना पानी वितरण गरेपछि आयोजनाले सुरुङको परीक्षण काम सम्पन्न गर्न असार १ गतेदेखि नै सुरुङ बन्द गरायो, जसले गर्दा ठूलो क्षति जोगियो ।

सुरुङ परीक्षणको कार्यतालिकाअनुसार सुुरुमा काठमाडौंतिरबाट सुरुङ खाली गर्ने काम सुरु गरिएको थियो । असार १ गते मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरेलगत्तै सुन्दरीजलबाट खाली गरिसकिएको थियो ।

बाढीले हेलम्बुमा रहेको सुरुङको अन्तिम विन्दु टालिएको छ । आम्बाथानको अडिट टालिएकाले सुरुङ खाली गर्न सकिएको छैन ।

समितिका प्रवक्ता पन्त भन्छन्, ‘अहिले मेलम्ची नदीमा आएको बाढीले आम्बाथान अडिट सुरुङ टालिएकाले त्यहाँबाट खाली गर्न सक्ने अवस्था छैन । सुरुङ खाली गर्ने क्रम सुन्दरीजलबाट गर्दैछौ ।’

अम्बाथानको अडिट सुरुङ सफा गर्न सबैभन्दा पहिले त्यहाँ पुग्नुपर्ने हुन्छ । तर त्यहाँ पुग्ने कुनै बाटो छैन । पुल पनि नभएपछि आयोजनाले ठूलो उपकरण लान सकेको छैन । डोजरलगायत उपकरण लगेर टालिएको अडिट टनेल सफा गर्नुपर्ने हुन्छ ।

आयोजनाको पहिलो प्रयास भनेकै पुल र सडक मर्मत गरेर अघि बढ्ने हो । त्यहाँ पुगेपछि अम्बाथान अडिट सफा गरेर टनेल निरीक्षण गरी आवश्यक काम गर्ने प्रवक्ता पन्तले बताए ।

मेलम्चीमा फेरि बाढी आउने सम्भावना कायमै रहेकाले आयोजनाका कर्मचारीहरु अलमलमा परेका छन् । बर्खायाम सकिएपछि मात्रै काम अगाडि बढ्न सक्ने प्रवक्ता पन्तले बताए ।

उनले भने, ‘आम्बाथान टनेल सफा गरेर निरीक्षण गर्न समय लाग्छ । त्यो अवधिसम्म बर्खायाम कट्छ । बर्खा सकिएर मेलम्ची नदीमा सफा पानी बग्न थालेपछि फेरि हामीले पहिले जस्तै गरी पानी पठाउँछौ ।’

वैकल्पिक तरिकाले हेडवर्सको डाइर्भसनलाई समेत सफा गरेर पानी चढाउन सकिन्छ कि भन्ने आशमा छन् आयोजनाका कर्मचारीहरु । समितिले सडक निर्माणको लागि सडक विभाग, नेपाली सेना, स्थानीय गाउँपालिका र वडाहरुसँग समन्वय गरेर बाटो निर्माण गर्ने तथा पुलहरु राख्नेबारे छलफल गरिराखेको छ ।

आयोजनाका कर्मचारीहरु नेपाली सेना तथा सडक विभागबाट बाटो र पुलको काम भइदिए त्यहाँ गएर हामीकाम गर्न सकिने बताउँछन् ।

सडक निर्माणको लागि नेपाली सेनाले निरिक्षण गरेको थियो । सडक विभागसँग भएका बेलीब्रिजहरु राख्न सकिन्छ भनेर एकपटक छलफल भएको थियो । १ गते रातिको बाढीले आयोजना स्थलमा कार्यरत तीनजना कामदारहरुको ज्यान गएको थियो भने अझै ८ जना कामदारहरु वेपत्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर