विधिसम्मत नटुंगिने क्रियाशील सदस्यता थाँती राख्नुपर्ने पौडेल समूहको निष्कर्ष – Nepal Press

विधिसम्मत नटुंगिने क्रियाशील सदस्यता थाँती राख्नुपर्ने पौडेल समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले क्रियाशील सदस्यता वितरण विधान विपरीत भए अस्वीकार गर्ने निर्णय गरेको छ । डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको पौडेल पक्षको बैठकले क्रियाशील सदस्यता टुंग्याउने विषयमा संस्थापन पक्षबाट सकरात्मक प्रयास नभएको निष्कर्ष समेत निकालेको छ ।

पार्टीले तय गरेको निर्देशिका अनुसार नै समायोजन र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न निर्णय बैठकले गरेको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिमा रहेका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङले समितिको कार्य प्रगतिबारे जानकारी गराएका थिए । बैठकले विवाद नभएका र विधिसम्मत टुंगो नलाग्ने सदस्यता १५ औं महाधिवेशनका लागि थाँती राख्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘असार २० गतेसम्म क्रियाशील टुंग्याउनैपर्ने हुन्छ । अब विवाद नभएकालाई स्वीकृत गर्ने र विवाद देखिएकालाई निर्देशिका र विधानअनुसार टुंग्याउने हो । नटुंगिने क्रियाशील सदस्यताहरु यसपटक थाँती राख्नुपर्छ’, बैठकमा सहभागी एक नेताले भने ।

ती नेताका अनुसार बिहीबार बस्ने पदाधिकारी बैठकमा क्रियाशील सदस्यता र महाधिवेशनका अन्य तयारीबारे साझा धारणा राख्ने सहमति पनि बनेको छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार असार २० गते भित्र सदस्यता छानबिन समितिले क्रियाशील सदस्यको सूची केन्द्रीय समितिमा बुझाउनुपर्नेछ । केन्द्रीय समितिले असार २४ गतेसम्म निर्वाचन समितिलाई सदस्यता सूची बुझाउनुपर्नेछ । कांग्रेस पदाधिकारी बैठक विहीबार बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर