केन्द्रीय कमिटी बैठकमा आउन अप्ठ्यारो मान्नु पर्ने कारण छैन, हामी पूर्व हैसियतमा फर्केका छौं: विष्णु पौडेल – Nepal Press

केन्द्रीय कमिटी बैठकमा आउन अप्ठ्यारो मान्नु पर्ने कारण छैन, हामी पूर्व हैसियतमा फर्केका छौं: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी व्युँताएको अवस्थामा सबै नेताहरू तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताएका हुन् । माधव नेकपालहरू बैठकमा आउने विश्वास जनाउँदै पौडेलले भने, ‘केन्द्रीय कमिटीको बैठकमा आउनका लागि उहाँहरुले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । आजका मितिदेखि कारबाहीका प्रसंग पनि सकियो । र स्वभाविक रूपमा पूर्व हैसियत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा अगाडिको अवस्थाबाट, अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । त्यसकारणले म आशा गर्छु उहाँहरू आउनुहुनेछ ।’

अर्थमन्त्री पौडेलले दायराभन्दा बाहिर पुगिसकेको अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताए । पौडेलले भने, ‘‘पार्टीलाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठुलो पीडा सहेरपनि सम्वादको निम्ति, सहकार्यको निम्ति, एकताको निम्ति प्रयास गरिरहनुभएको छ । त्यही एकताको प्रयासको शिलशिला हो की हामी अहिले सबै जटिलताको बिचमा पनि समस्याहरुलाई समाधान गरौं, पार्टीको दायराभन्दा बाहिर पुगेको अन्र्तविरोधलाई पार्टीको दायरामा फर्काऔँ । पार्टी भित्रै बसेर समस्या समाधान गरौँ र पार्टीलाई एकतावद्ध गरेर लिएर जाऊँ । पार्टी अब पार्टी निर्णयको आधारमा चल्छ । व्यक्ति स्वेच्छाचारी ढंगले चल्दैन । पार्टीको निर्णयको आधारमा, पार्टीको निर्देशनको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गरौँ भन्ने सोचका साथमा अब हामी नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठक बस्छौँ ।’

कुनै खास कालखण्डमा दलको सदस्य निर्दलीय हुन्छ भनेर संविधानको गलत व्याख्या गर्न खोजिएको पौडेलको टिप्पणी छ । ‘संविधानको गलत व्याख्या पनि गर्न खोजिएको छ । हाम्रो संविधानले निर्दलीयतालाई सम्पूर्णरूपले अस्वीकार गर्छ । यो बहुदलीय लोकतान्त्रिक प्रणालीमा आधारित संविधान हो । यहाँ दलको सदस्य स्वतन्त्र हुन्छ, कुनै खास कालखण्डमा स्वतन्त्र हुन्छ भन्ने हिसाबले गलत व्याख्या गर्न खोजिएको छ, नेता पौडेलले भने, ‘ दलको सदस्य निर्दलीय हुन्छ भन्न खोजिएको छ । त्यो गलत कुरा हो । दलको सदस्य कहिल्यै पनि निर्दलीय हुँदैन । कहिले पनि स्वतन्त्र हुँदैन । दलको अनुशासनमा हुन्छ । यो संवैधानिक व्यवस्था अन्र्तगत निर्दलीय अभ्यास गर्ने कुरा कुनैपनि हालतमा उचित हुन सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर