नि:शुल्क खाना खुवाइरहेको ‘हाम्रो टिम’ विरुद्ध किन उत्रिए स्थानीय ? यस्तो छ अन्तरकथा – Nepal Press

नि:शुल्क खाना खुवाइरहेको ‘हाम्रो टिम’ विरुद्ध किन उत्रिए स्थानीय ? यस्तो छ अन्तरकथा

काठमाडौं । अनामनगरस्थित सिंहदरबार पूर्वीगेट अगाडिको खाली जग्गामा बनेका टहरा सोमबार प्रहरीले हस्तक्षेप गरी भत्कायो । त्यो जग्गा हाम्रो टिम नेपाल नामक संस्थाले एक वर्षदेखि सामाजिक अभियानमा उपयोग गर्दै आएको थियो ।

हरेक बिहान अनामनगरमा खाना पकाएर हाम्रो टिमका स्वयम्‌सेवकले थापाथली पुर्‍याइ निषेधाज्ञा पीडित नागरिकहरूलाई वितरण गर्थे । हिजो भने खाना पाक्न ढिलाइ भएपछि थापाथलीमा कुरिरहेका मानिसहरू अनामनगरमै आए । त्यहीँ उनीहरूलाई खाना खुवाइयो । त्यही बेला खाना पकाउने ठाउँ नजिकै महानगरपलिकाका दुईवटा गाडी आए । त्यसपछि समूहमा खैलाबैला सुरु भयो ।

महानगरका गाडीलाई पछ्याउँदै नेपाल प्रहरीका ३ वटा सना र एउटा ठूलो गाडी पनि त्यहाँ आएर रोकिए । ती गाडीमा ५० जनाभन्दा बढी प्रहरी थिए । नगरप्रहरीले माइकिङ गर्न थाल्यो । ‘महानगरपालिकाले यहाँको जग्गा खाली गर्न हामीलाई पठाएको छ । सबैले सहयोग गरिदिनुहोला । कोभिड-१९ को महामारी भएकाले भिडभाड नगर्नुहोला,’ प्रहरीले माइकबाट भने ।

यो सुनेपछि हाम्रो टिम नेपालका सदस्यहरु आत्तिए । उनीहरूले टहरा भत्काउन नदिने अडान लिए ।

उनीहरूले भने, ‘यो सरकारी जग्गा हो । हामीले यो जग्गालाई दुरुपयोग गरेका छैनौं । खान नपाएकाहरूको पेट भरेका छौं ।’

तर, प्रहरी रोकिएन । उनीहरू टहरा भत्काउन अघि बढे । यसको प्रतिवाद गर्ने क्रममा प्रहरीले प्रतिवाद गर्ने हाम्रो टिमका २३ जनालाई पक्राउ गरेर गाडीमा राख्यो । संस्थाका अध्यक्ष बिमल पन्तसँगै अन्य पदाधिकारी र सदस्यहरु पक्राउ परेका थिए । उनीहरुलाई महेन्द्र पुलिस क्लब भृकुटीमण्डमा पुर्‍याइयो ।

मध्यान्न १२ बजे पक्राउ गरेर लिइएका २३ जनालाई ६ घण्टापछि साँझ ६ बजे रिहा गरिएको थियो । नियन्त्रणमा लिएका बेला प्रहरीले उनीहरूलाई अब त्यो स्थान प्रयोग नगर्न भनेको छ ।

हाम्रो टिमका सदस्य उमेश बाहोराका अनुसार प्रहरीले टहरा भत्काएर त्यहाँ रहेका सामानहरू पनि आफ्नो नियन्त्रणमा लिएको थियो । ४० देखि ५० बोरा चामल, १० वटा ग्यास सिलिण्डर, भाँडाकुँडा, मोवाइल, पैसा तथा बिल सबै प्रहरीले उठाएको उनको भनाइ छ ।

यसपटकको निषेधाज्ञादेखि टिमका धेरै सदस्य त्यहीँ बस्दै आएका थिए । टहरा नै भत्काइएपछि हिजो उनीहरु आ-आफ्ना घर फर्केका छन् ।

यसरी सुरु भयो अभियान

हाम्रो टिम नेपालले कोरोनाको पहिलो महामारीदेखि नै खाना पकाएर थापाथलीमा निःशुल्क वितरण गर्दै आएको छ । २०७६ चैत्र १४ गतेदेखि खाना खुवाउन थालिएको हो ।

थापाथलीमा दैनिक करिब ३ सय जनाले निशुल्क खाना खाँदै आएकोमा ७० प्रतिशत सडकपेटीमा बस्ने व्यक्तिहरू छन् भने बाँकी कोरोनाले रोजीरोटी गुमाएकाहरु छन् । अनामनगरमा ६५ रुपैयाँमा खाना खुवाउने काम उनीहरूले गर्दै आएकोमा निषेधाज्ञापछि त्यो बन्द छ ।

स्थानीय समुदायबाट गुनासो आएपछि केही दिनअघि महानगरपालिकाले त्यो स्थान खाली गर्न सूचित गरेको थियो । त्यसपछि नेपाल प्रहरी, नगर प्रहरी र नगरपालिकासँग निषेधाज्ञा अवधिभर खाना खुवाउने अभियानलाई निरन्तरता दिने र निषेधाज्ञा हटेको एक हप्ताभित्र हट्ने सहमति भएको थियो । तर सोमबार बिनाजानकारी एकैपटक टहरा भत्काउन थालिएको उनीहरुको दावी छ ।

महानगरपालिकाले भने आफूहरूसँग समन्वय नगरी सार्वजनिक जग्गा हडप्ने काम भएको बताएको छ । पटक-पटक चेतावनी दिँदा पनि अटेर गरेपछि प्रहरीबाट हस्तक्षेप गर्नुपरेको महानगरपालिकाको भनाइ छ ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला राख्ने र हरियाली पार्क निर्माण गर्ने योजनाअनुसार त्यहाँ बनाइएको टहरा हटाउन लगाइएको बताए ।

‘हामीलाई जानकारी भएअनुसार करिब एक वर्षदेखि हाम्रो टिम नेपाल समूहका साथीहरूले त्यहाँ टहरा बनाउनुभएको रहेछ । स्थानीयको मागअनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रइङ-डिजाइन तयारी अवस्थामा छ । हामीले काम अघि बढाउन उहाँहरूलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौं ।’

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपति सापकोटाले पनि पटक-पटक उनीहरूलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनुपरेको बताए । ‘उहाँहरूको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि महानगरको योजनामा अटेर र अवरोध गर्ने कुरा उचित होइन ।’

यस्तो छ विवादको अन्तरकथा

पूर्वीगेट अगाडिको खाली सरकारी जग्गामा स्थानीयले टहरा बनाएर एउटा क्लब सञ्चालन गरेका थिए । नेपालमा पहिलो लकडाउन भएपछि हाम्रो टिमका अभियन्ताले स्थानीयसँग सो टहरा आफूहरूलाई ‘कपडा बैंक’ का लागि प्रयोग गर्न दिन आग्रह गरे । पछि उनीहरूले त्यही टहरामा नि:शुल्क वितरणका लागि खाना बनाउने काम थाले ।

स्थानीय सामाजिक विकास समाजका महासचिवसमेत रहेका स्थानीयवासी रक्षबहादुर रैका र हाम्रो टिमले मागेपछि सहज तरिकाले आफूहरूले टहरा प्रयोग गर्न दिएको बताउँछन् ।

‘हामीले उहाँहरूको काम र उद्देश्य राम्रो लागेर हामीले आफ्नो खर्चमा बनाएका टहरा प्रयोग गर्न दियौं । सुरक्षा भएन भनेपछि गेट पनि हालिदियौं,’ उनी भन्छन्, ‘त्यो ठाउँ खाल्डो भएकाले पानी जम्ने समस्या थियो । उहाँहरूले गुनासो गरेपछि हामीले नै माटो भरेर सम्याइदियौं ।’

स्थानीयले सो जग्गामा एउटा पार्क निर्माणका लागि लविङ गर्दै आएका थिए । प्रदेश सरकारले आफ्नो बजेटमा पार्क बनाउनका लागि ३० लाख रुपैयाँ विनयोजनसमेत गरेको छ । स्थानीयले पार्कको काम अगाडि बढाउनुपर्ने भन्दै सो स्थान छोड्न अभियन्तालाई भने । तर, हाम्रो टिमले आफूहरूलाई अन्यत्र स्थान भएकाले पार्कभित्रै एउटा सानो कोठा बनाइदिन आग्रह गरेको रैकान बताउँछन् ।

‘हामीले उहाँहरुको त्यो आग्रह पनि पूरा गरेर पार्कको डिजाइनमा उहाँहरूकै लागि एउटा १०/१२ को कोठा पनि निकालेका छौं,’ उनले भने, ‘तर, त्यति गर्दा पनि ठाउँ छोड्न तयार हुनुभएन ।’

आफूहरूले पार्क निर्माणका लागि ठेकेदार नियुक्त गरेपछि त्यसको विरोधमा हाम्रो टिमका कार्यकर्ताले स्थानीयको घर घेराउ गरेको रैकारले बताए । त्यसपछि स्थानीय प्रहरी-प्रशासनमा उजुरी गरेको उनको भनाइ छ ।

‘काट्छु र मार्छु भन्दै धम्याउने कुराहरू पनि भएपछि हामी प्रहरी गुहार्न बाध्य भयौं,’ रैकाले भने, ‘त्यसपछि वडा प्रहरी कार्यालयमा उहाँहरुले आइन्दा यस्तो गर्दैनौं भनेर कागज गर्नुभएको छ ।’

यसैबीच, हाम्रो टिमले भने वडा कार्यालयबाट सो जग्गा प्रयोगका लागि स्वीकृति लिएर आयो । सोही स्वीकृतिका आधारमा उनीहरूले सो जग्गामा आफ्नै टहरा निर्माण गरे । स्थानीयले रोक्न खोज्दा ठूलो विवाद भयो । त्यसपछि प्रहरी र विभिन्न संघ-संस्थाको रोहवरमा छलफल र सहमति भयो । उक्त सहमतिमा निषेधाज्ञा समाप्त भएको भोलिपल्टै संरचना भत्काएर लैजाने उल्लेख छ ।

तर, त्यसको भोलिपल्ट फेसबुक लाइभमा आएर हाम्रो टिमका अभियन्ताले आफूहरू बरु मर्न-मार्न तयार रहेको तर जग्गा नछोड्ने भन्दै आफूहरुलाई ‘थ्रेट’ गरेको रैकाको भनाइ छ ।

‘त्यसपछि हामीले बाध्य भएर फेरि उहाँहरूलाई हटाउने निर्णय लियौं र महानगरको सहयोग माग्यौं,’ उनले भने ।

महानगरपालिकाले पठाएका प्रहरीले हाम्रो टिमका टहराहरू भत्काएर जग्गा खाली गराएको छ ।

हाम्रो टिमको पृष्ठभूमि

हाम्रो टिम नेपाल २०७६ सालको चैतमा पहिलो चरणमा भएको लकडाउनको बेला खुलेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यसको दर्ता छ ।

‘भोकमुक्त, नाङ्गोमुक्त र भेदभावमुक्त राष्ट्रको निर्माण’ भन्ने नारा दिइएको संस्थाको दर्ता नम्बर २३७२८८ रहेको छ । संस्थाको अध्यक्षमा बिमल पन्त, उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा लक्ष्मणसिंह धामी रहेका छन् भने सदस्यमा कविता पौडेल, देवराज लामा गुरुङ र बिरेन्द्र बोहोरा रहेका छन् ।

यस्तै सुदूरपश्चिम संयोजकमा उमेश बोहोरा र कर्णाली प्रदेश संयोजक अनिल बाँनिया छन् ।

मुलुकभर करिब २ हजार ५ सयजना सदस्य यसमा आवद्ध छन् । उनीहरूले जिल्लाबाट सहयोग गर्ने गरेका छन् । मुलुकबाहिरबाट बेलायतमा रहेकी इशा गुरुङ र इजरायमा रहेकी सुनिता गुरुङले हाम्रो टिम नेपाललाई नियमित सहयोग गर्दै आएका छन् । नेपालमा पनि हेमराज थापा, मुना श्रेष्ठ, ज्ञानेन्द्र शाही लगायतले अभियन्ताले यसको समर्थन गर्दै आएका छन् ।

संस्थाको आधिकारिक फेसबुक पेजमा ७४ हजार ९ सय ८४ जनाले फलो गरेका छन् भने ६४ हजार २ सय २९ जनाले पेजलाई लाइक गरेका छन् । यस्तै ४ सय ९७ जनाले ट्वीटरमा फलो गरेका छन् ।

संस्थाले संस्थाको आधिकारिक वेब साइट, फेसबुक पेज तथा ट्वीटर ह्याडलबाट निरन्तर सहयोग आह्वान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर