कोरोनाको नक्कली खोप भित्रिएको हो ? बिनाअनुसन्धान वक्तव्यबाजी – Nepal Press

कोरोनाको नक्कली खोप भित्रिएको हो ? बिनाअनुसन्धान वक्तव्यबाजी

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले हिजो एक विज्ञप्ति जारी गरेर नेपालमा कोरोनाविरुद्धको नक्कली खोप खरिदविक्री हुन थालेको चिन्ताजनक ‘तथ्य’ उजागर गर्‍यो । मञ्चको विज्ञप्तिमा नेपालको पूर्वी नाकाहरुबाट ल्याएर कोभिसिल्डको खोप भन्दै विक्री वितरण भइरहेको उल्लेख छ, तर विश्वनीय विवरण छैन ।

विज्ञप्तिमा भनिएको छ, ‘केही भ्रष्ट मनस्थितिका व्यक्तिहरुले नेपालका पूर्व नाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रमा ल्याइ अवैधरुपमा कोभिसिल्डको खोप भन्दै लुकिछिपी रु. ३ हजारदेखि पाँच हजारसम्ममा विक्री वितरण गरिरहेको गोप्य सूचना यस मञ्चलाई केही चिकित्सकहरुबाट प्राप्त हुन आएको छ ।’

यस विषयमा हामीले मञ्चका अध्यक्ष प्रेमलाल महर्जनलाई सोध्यौं । उनले आफूहरुले केही चिकित्सकबाट सूचना पाएको बताए, तर नाम खुलाउन चाहेनन् । आफू स्वयम्लाई ५ हजार रुपयाँमा खोप लगाउने अफर आएको उनले सुनाए ।

उनले भने, ‘सरकारले ६५ वर्ष माथिकालाई पहिलो डोज कोरोनाविरुद्धको कोभिसिल्डको खोप लगाइ दियो । पहिलो डोज मैले पनि लगाएँ तर दोस्रो डोज लगाउन एक दिनभर लाइन बस्दा पनि पाइनँ । अनि मलाई नै एक जना साथिले ५ हजार तिरेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउन पाउने सुनाएका थिए ।’

झापाका साथिहरुले पनि कोरोनाविरुद्धको नक्कली खोप अवैध बाटो भएर आएको भनेर धेरैपटक सुनाएको महर्जनले बताए ।

‘मलाई नै काठमाडौंमा पैसा तिरेर खोप लगाउने अफर आएपछि मैले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलाई नक्कली खोप कारोबार सुरु भएको भनेर जानकारी दिएको छु,’ उनले भने ।

मञ्चले विज्ञप्ति निकालेको भोलीपल्ट स्वास्थ्य मन्त्रालयले आजै एक सूचना जारी गरेको छ । सूचनामा कोरोनाको नक्कली खोपबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।

‘कसैले पनि शुल्क मागेर कोरोना विरुद्धको खोप उपलब्ध गराउने कुरा गरेमा वा यस्ता ठगी गर्नेहरुको जानकारी भएमा तुरुन्तै स्थानीय प्रशासन वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी गरौं । पैसा तिरेर किन्ने हतारमा ठगीको शिकार नबनौं ।’

यदि कोरोनाको नक्कली खोप बनाएर त्यसको विक्री वितरण भइरहेको छ भने त्यो निकै संवेदनशील विषय हो । धेरै नागरिकहरुले कोरोनाको निशुल्क खोप नपाइरहँदा पैसा तिरेरै भए पनि लगाउन तयार हुन्छन् र ठगीको शिकार बन्छन् । अर्कोतर्फ नक्कली खोपले स्वास्थ्यमा हानी गर्ने जोखिम झन् ठूलो छ । त्यसैले यसमा राज्यकै तर्फबाट खोजविन आवश्यक हुन्छ । तर, स्वास्थ्य मन्त्रालयले भने कुनै खोजविन नगरी सञ्चारमाध्यममा आएका समाचारका आधारमा मात्रै सूचना जारी गरेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले नक्कली खोप नेपालमा आएको बारे यथार्थ जानकारी नरहेको बताए ।

उनले भने, ‘विभिन्न मिडियामा कोरोनाविरुद्धको नक्कली खोप आएको भन्ने समाचार प्रकाशन भएपछि सतर्क रहन भनेर मात्रै सूचना निकालेको हौं । स्वास्थ्य मन्त्रालयलाई नक्कली खोप अवैध बाटो भएर आएको कुनै जानकारी नै छैन ।’


प्रतिक्रिया

One thought on “कोरोनाको नक्कली खोप भित्रिएको हो ? बिनाअनुसन्धान वक्तव्यबाजी

  1. उपभाेक्ता अधिकारकर्मी संस्थाकाे काम सूचना सम्प्रेषण गर्ने, सम्बन्धीत निकायलाइ सूचित गर्ने र दवाव दिने अनि उपभाेक्तालाइ जागरूक गराउने हाे । हावामा बक्तव्यबाजी गरिंदैन । मिडियाकर्मीहरूले सत्य र तत्थ्य छानविन गरी सर्वसाधारणलाइ जागरूक गराउनु पर्याे र सरकारलाइ दवाव दिनु पर्याे । मेराे अनुराेध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर