देउवाविरुद्ध दवाव बढाउन रामचन्द्र-शेखर सहमत – Nepal Press

देउवाविरुद्ध दवाव बढाउन रामचन्द्र-शेखर सहमत

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा.शेखर कोइरालाले महाधिवेशनलाई प्रभावित गर्न संस्थापन पक्ष सक्रिय रहेको ठहर गरेका छन् ।

पौडेल र कोइरालाबीच आज बोहोराटारमा भएको छलफलमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेर सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै निष्पक्ष महाधिवेशनका लागि दवाव दिने निष्कर्षमा पौडेल र कोइराला पुगेका हुन् ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिमा विवाद समाधानका लागि मापदण्ड बनाउने विषयमा सहमति हुन सकेको छैन । सबैजसो जिल्ला र क्षेत्रमा देखिएको विवाद समाधान विधानसम्मत हुनुपर्ने पौडेल र कोइरालाको माग छ । ‘अहिले क्रियाशील सदस्यताको विषयमा जे विवाद छ त्यसको जड संस्थापन पक्ष हो । विधिअनुसार समायोजन भएका जिल्लामा विवाद झिकियो भने आफ्नो नेतृत्व रहेका ठाउँमा अर्को पक्षलाई बाइपास गरियो ।

यसविरुद्ध मिलेर जान्छौं’, भेटबारे एक नेताले भने । १४ औं महाधिवेशन निष्पक्ष र विवादरहित हुनेमा शंका बढेको भन्दै उनीहरुबीच क्रियाशील सदस्यता वितरणमा मनपरी हुन नदिने सहमति भएको हो । ‘आज नियमित भेट भएको हो । क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या समाधन गर्नै दवाव बढाउनेबारे छलफल भएको छ’, बोहोराटार स्रोतले भन्यो । क्रियाशील सदस्यताबारे देखिएका समस्या समाधानका लागि आइतबार बसेको पदाधिकारी बैठकले ठोस निर्णय लिन सकेको थिएन ।

दुवै नेता आसन्न महाधिवेशनमा सभापतिको आकांक्षी हुन् । छलफलका दौरान दुबै नेताले आफूलाई सघाउन आपसमा आग्रह गरेका थिए । वरिष्ठ नेता पौडेलले आफूलाई एकपटक सहयोग गर्न कोइरालाले आग्रह गरे भने कोइरालाले सभापतिका लागि आफू तयार भइसकेको बताए । दुबै नेताबीच महाधिवेशनसम्म साझा धारणा बनाएर जाने विषयमा छलफल भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर