पौडेल र सिटौलालाई सुजाताले भनिन्- मिल्ने भए मिल्नुस् नत्र मलाई सघाउनुस् – Nepal Press

पौडेल र सिटौलालाई सुजाताले भनिन्- मिल्ने भए मिल्नुस् नत्र मलाई सघाउनुस्

काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहमा एकता गराउन प्रयास सुरू भएको छ । कांग्रेस नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलेर जान दबाब दिएकी छन् ।

आफ्नै निवासमा ‘लञ्च’ का लागि बोलाएका नेताहरू पौडेल र सिटौलालाई १४ औं महाधिवेशनमा विभाजित नहुन सुजाताले आग्रह गरेकी हुन् ।

छलफलका क्रममा सुजाताले आसन्न महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको भन्दै सहमति र सहकार्यका लागि आग्रह गरेकी थिइन् । पौडल र सिटौलालाई पार्टीभित्र सहमति र एकताको सन्देश दिन अनुरोध गर्दै कोइरालाले कांग्रेस एक नभए लोकतन्त्र संकटमा पर्ने बताइन् । ‘अहिले कांग्रेसको मात्रै कुरा छैन मुलुक नै संकटमा परेको छ । हामी सबै मिलेर गयौं भने कांग्रेस र लोकतन्त्र दुवै जोगिन्छ । सबै आ-आफ्नै लड्ने हो भने त समस्या झन् बल्झिन्छ’, कोइरालाले भनिन् ।

उनले १३ औं महाधिवेशनमा पनि एकताका लागि आफूले त्याग गरेको स्मरण गराउँदै कोइरालाले यसपटक एकता नभए आफूलाई कसैले रोक्न नसक्ने बताइन् । ‘तपाईंहरू मिल्ने भए मिल्नुस् । यो बेला सबै मिलेर जाँदा पार्टी जोगाउन सकिन्छ । तपाईंहरु मिल्नुहुन्न भने म त अगाडि बढे । सभापतिमा लड्छु’, कोइरालाको भनाइ थियो ।

महाधिवेशन नजिकिएको सन्दर्भमा समग्र विषयमा छलफल गर्न आफूले नेताहरूलाई डाकेको उनले बताइन् । ‘पहिलो कुरा महाधिवेशन तोकिएकै मितिमा हुनुपर्‍यो । अर्को कुरा नेतृत्वका लागि पनि छलफल हुनुपर्‍यो । सबैजना मिलेर जाँदा राम्रो हुन्छ भनेर छलफल गरेका हौं’, कोइरालाले नेपाल प्रेससँग भनिन् । पार्टी सभापतिमा दोहोरिने शेरबहादुर देउवाको घोषणालाई उनले ‘अधिकार’ को रूपमा व्याख्या गरिन् । ‘शेरबहादुरजी सभापति लड्न पाउने उहाँको अधिकार हो । मेरो पनि अधिकार छ, त्यस्तै अधिकार रामचन्द्रजी सिटौलाजीको पनि छ तर सकभर मिलेर लडौं भनेर हो’, कोइरालाले भनिन् ।

छलफलमा वरिष्ठ नेता पौडेल र सिटौलाले महाधिवेशनबारे छलफलहरू सुरू भएको भन्दै साझा धारणा बनाएर जान आफूहरू सकारात्मक रहेको बताएका थिए । ‘आज सामान्य छलफल भएको हो । महाधिवेशनसम्म यस्ता धेरै छलफलहरू हुन्छन् । हाम्रो टिमलाई कसरी एकतावद्ध राख्ने भन्ने मै आजको छलफल केन्द्रित भयो’, छलफलमा सहभागी एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर