विपक्षी सांसदहरू झुक्किँदा सुदूरपश्चिमको बजेट सर्वसम्मत पारित ! – Nepal Press

विपक्षी सांसदहरू झुक्किँदा सुदूरपश्चिमको बजेट सर्वसम्मत पारित !

कैलाली । सोमबार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट सर्वसम्मत पास भयो । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले असार १ गत सार्वजनिक गरेको बजेट ५ दिनको छलफलपछि सोमबार पारित भएको हो ।

यसअघि कांग्रेस, जनता समाजवादी पार्टी र एमालेको ओली पक्षले बजेटको विरोध गर्दै आएका थिए । तर, सोमबार बजेट टेबल गर्दा भने कसैले विरोध जनाएनन् । कसरी बजेटका पक्षमा एकाएक सर्वसम्मति जुट्यो त ? कारण रमाइलो छ ।

यसरी झुक्किए सांसद

आठौँ अधिवेसनको १९ औँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ पारित गर्न प्रस्ताव पेस गरेका थिए । एकैसाथ दुईवटा उस्तै प्रकृतिका विधेयक टेबल हुँदा सांसदहरू झुक्किएको पाइएको छ ।

सुरूमा ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पारित गर्न सभामुख थापाले निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा मात्रै होइन एमालेको ओली पक्षले पनि ‘हुन्न’ भनेका थिए । त्यसपछि सभामुख थापाले उक्त विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

त्यसगत्तै अर्थमन्त्री शाहले ‘आर्थिक बर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ पारित गर्न प्रस्ताव पेस गरे । उक्त विधेयक पारित गर्न सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा मात्रै होइन एमालेको ओली पक्ष पनि मौन बस्यो । त्यसपछि सभामुख थापाले सो विधेयक सर्वसम्मत पास भएको घोषणा गरे ।

मन्त्री शाहले पेस गरेका दुई विधेयकमध्ये कुन चाहिँ बजेट हो भन्नेमा सांसदहरू झुक्किएको देखियो । सभामुखले बजेट सर्वसम्मतिले पारित भएको घोषणा गर्दा उनीहरू अचम्ममा परे । आफूहरूले ‘हुन्न’ भनेकाले बजेट बहुमतबाट मात्र पारित भएको उनीहरूको दावी छ ।

कांग्रेस, राजपा र ओली पक्षका सांसदहरूले बजेट बहुमतले पारित भएको दाबी गर्दा प्रदेशसभा सचिवालयले भने सर्वसम्मतरूपले पारित भएको बताएको छ ।

‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ बहुमतले पारित भएको हो’ प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले भने, ‘आर्थिक बर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ सर्वसम्मतरूपले पारित भएको छ त्यही नै रातो किताब हो ।’

उनका अनुसार ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधयेक’ ले करको दायराहरू निर्धारण गर्ने गर्दछ ।

उनले ‘आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ नै बजेट रहेको बताए ।

सांसदको आफ्नै दावी

कांग्रेस, जसपा र ओली पक्षका सांसदहरूले बजेट सर्वसम्मतिले पारित नभएको बताएका छन् ।

‘हाम्रो मूल बजेटमा विरोध हो,’ नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भने, ‘त्यसपछि खर्च गर्ने विषय आउँछ ।’

जनता समाजवादी पार्टीका सांसद कृष्णबहादुर चौधरीले पनि बजेटमा विरोध गरेर ‘हुन्न’ भनेको बताए । ‘हामीले बजेटमा हुन्न भनेका छौँ’, उनले भने ‘बजेटमा हाम्रो असहमति छ ।’

एमाले ओली पक्षका सांसदहरूले पनि बजेटमाथि असहमति रहेको बताए । केही सांसदहरू भने कांग्रेस, राजपा र ओली पक्षका सांसद झुक्किएपछि सर्वसम्मत बजेट पारित भएको बताउँछन् ।

‘आर्थिक विधेयकमा उहाँहरूले हुन्न भन्नुभयो, तर विनियोजन विधेयकमा मौन बस्नु भयो,’ एमालेका एक सांसदले भने, ‘त्यही विनियोजन विधेयक भनेकै रातो किताब हो ।’

हेर्नुस् प्रदेशसभा बैठकको भिडियो:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर