बजेट विथोलिएपछि चिरीबाबुको आरोपः ३ नम्बरका वडाध्यक्ष सँधै मेरो विरोध गर्छन् – Nepal Press

बजेट विथोलिएपछि चिरीबाबुको आरोपः ३ नम्बरका वडाध्यक्ष सँधै मेरो विरोध गर्छन्

काठमाडौं । नगरसभाको बैठक बहुमत सदस्यले बहिष्कार गरेपछि ललितपुर महानगरपालिकाले आज आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न सकेको छैन । यस सम्वन्धमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एकजना वडाध्यक्षले नगरसभा विथोलेको गुनासो गरेका छन् ।

बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा वैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका प्रतिनिधिले बहिस्कार गरेका थिए । मेयर महर्जनले नीति तथा कार्यक्रम पेश गर्दा छलफल गर्न नदिएको भन्दै उनीहरुले नगरसभा बहिष्कार गरेका हुन् ।

मेयर महर्जन भने वडा नं। ३ का वडाध्यक्षले जहिले पनि आफ्नो विरोध मात्रै गर्दै आएको बताउँछन् ।उनी भन्छन्, ‘श्रीगोपाल महर्जनले के कारण मेरो विरोध गरिरहेका छन् भन्ने बुझ्न सकेको छैन । मैले त उहाँलाई त्यस्तो केही गरे जस्तो लाग्दैन ।’

श्रीगोपालकै कारण नगरसभामा बजेट ढिला पेस भएको महर्जनले बताए । उपमेयरले नगरसभाको बैठक बोलाउदा पनि ३ नम्बरका वडा अध्यक्ष बैठकमा आउन नमान्ने गरेको उनको आरोप छ । ‘अब कानुनअनुसार नै ३ दिनपछि नयाँ बजेट आउँछ,’ उनले भने ।

ललितपुरका मेयर चिरीबाबु महर्जनलाई नगरसभाका सदस्यहरुले आगामी वर्षका लागि ल्याउन लागिएको बजेट पढेर पास गर्र्नु भनेपछि मेयरले सभाका सदस्यलाई चुनाव जितेर आउनुस् भनेपछि नगरसभा रोकिएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले भने नगरसभा सदस्यले नयाँ बजेट पढेर मात्रै पास गर्नुपर्छ भन्दा मेयरले नराम्रो जवाफ फर्काएको आरोप लगाए ।

उनले भने, ‘पढेर बजेट पास गर्ने हो भने अर्को पटक चुनाव जितेर आउनु भन्न्भयो । हामीले बजेटभित्र के–के हटाउन र थप्न पर्ने छ भन्ने कुरा पढेर मात्रै थाहा पाउँछौं भन्दा पनि आफ्नो मात्रै कुरा राख्नुभयो । त्यसैले नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरको सभा बहिकार गर्ने निर्णय गरेको हौं ।’

अघिल्लो वर्षको बजेट ल्याउने बेलामा पनि मेयरले नगरसभाका सदस्यहरुलाई पेलेर नै गएको उनको आरोप छ । ‘यस वर्ष पनि त्यस्तै गर्न सकिन्छ भन्ने थियो होला । तर हामीले पोहोर कोरोना भएको कारणले चुप लागेर बजेट पास गरेका थियौं । यस वर्ष कानुनअनुसार बजेट नआएकाले हामीले पास नगराएका हौं । हामी पनि चुनाव जितेर नै आएका प्रतिनिधि हौं । मेयरको मात्रै एकलौटी चल्दैन ।’

उनले थपे, ‘मेयर भनेको गाडीको चालक हो भने सहचालक हौं । चालकलाई कसरी अगाडि लैजाने भन्ने आफ्नो पनि भूमिका हुने महर्जनले बताए ।

अब के हुन्छ ललितपुरको बजेट ?
नगरसभाले बजेट पास नगरे असार १३ गते नयाँ बजेट ल्याउन मिल्ने प्रावधान छ । मयेरले अब ३ पटक लगातार नगरसभा बोलाउन सक्छन् । ३ पटकसम्ममा पनि सभाले बजेट पास नगरे जम्मा सदस्यको २५ प्रतिशत संख्याले बजेट पास गराएर नयाँ बजेट ल्याउन सक्ने स्थानीय सरकारको कानुनमा व्यवस्था रहेको महर्जनले बताए ।

‘हामी कानुनअनुसार चल्ने भएकाले मेयरले बोलाएको नगरसभामा गएर बजेट पास गराउने छौं । नियमानुसार काम गर्नुपर्छ भनेर मेयरलाई सिकाएको मात्रै हो । हामी हाम्रो वडाको बजेट अब ३ दिनपछि पास गराएर ल्याउने छौं,’ महर्जनले भने ।

ललितपुर बाहेक अन्य ठाउँमा पनि बजेट पास गर्न समस्या भएको छ । रौतहटको मौलापुर नगरपालिको बजेट पास गर्ने बेला दुई पक्षबीच झडप नै भयो ।

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए । साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर