भीम आचार्य भन्छन्- म एमाले फुटाउने पक्षमा जान्न, झलनाथको विज्ञप्ति आधिकारिक हो – Nepal Press
नेपाल टक

भीम आचार्य भन्छन्- म एमाले फुटाउने पक्षमा जान्न, झलनाथको विज्ञप्ति आधिकारिक हो

नवौं महाधिवेशनदेखि पछिल्लो अवस्थासम्मको एमाले समीकरणमा भीम आचार्य माधव नेपाल समूहका एक प्रमुख नेता हुन् । नवौं महाधिवेशनबाट निर्वाचित एमाले सचिव आचार्य पछिल्लो कार्य विभाजनमा दशौं महाधिवेशन आयोजक कमिटी सदस्यमात्र छन् ।

माधव पक्षका नेताहरूले पार्टीमा फर्केर क्रियाशीलता नजनाएकाले उनीहरूले कुनै जिम्मेवारी पाएका छैनन् ।

पछिल्लो समय नेकपा (एमाले) का फुट नजिक पुगेका दुई धारबाट मध्यमार्गी धारमा देखिएका आचार्यले यसबीचमा एकताको लागि पहल गरिरहेका छन् । आचार्यको मध्यमार्गी धारकै कारण प्रदेश १ सकारलले ल्याएको नीति तथा कार्यक्रम सहज पास भएको र बजेट आउन सहज भएको धेरैको तर्क छ ।

आचार्य अहिले फेरि चर्चामा छन्,झलनाथ खनालको वक्तव्य मस्यौदाकारका रुपमा, जुन वक्तव्यप्रति माधव समूहकै केही नेताले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।

पुर्व पर्यटनमन्त्री आचार्यसँग नेपाल प्रेसकर्मी विराट अनुपमले एमाले पार्टी एकता, प्रदेश १ को प्रदेशसभामा भएको एकढिक्का एमालेदेखि अबको सम्भावित फुटका असरहरुका बारेमा गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

केन्द्रमा एमाले विभाजनको डिलमा पुग्दा प्रदेश १ मा भने दुवै पक्ष एक भएर नीति तथा कार्यक्रम पारित भयो,बजेट आयो । यो कसरी सम्भव भयो ?

प्रदेश १ को लागि मात्रै हैन पार्टी एकताको लागि यो एक गुडविल जेस्चर हो । प्रदेश सरकारको कुरामा हामीले विवाद गरेनौँ । पार्टी विभाजन नहोस् भन्नको लागी गरेका हौँ । हामीले कार्यकर्ता ,नेता र सिंगो पार्टीलाई एउटा म्यासेज दिएका हौँ ।

अहिले दुई पार्टी जस्तै भएको एमालेको प्याकेज मिलन विन्दु चाहिँ के हुनसक्छ ?

पार्टीको महाधिवेशनबाट निर्वाचित भएर आएको पार्टी कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी, आ-आफ्ना प्रकृयाबाट आएका सबै जनसंगठनहरू वडा, गाँउ, नगरदेखि प्रदेशका सबै कमिटीहरू पुनःस्थापना गर्ने हो भने मिलन विन्दु हुनसक्छ ।

पहिले पनि यिनै पार्टी कमिटी नहुँदा असहज स्थिति आयो । फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमाले छुट्याइदिएपछि स्वतः साविक एमाले भइहाल्नुपर्ने थियो । त्यहाँ नगएर एउटा गुटलाई एमाले मान्न थालेपछि समस्या उत्पन्न भएको हो । गुट छाडेर आधिकारिक कमिटी स्थापना भएपछि मिलनविन्दु आउँछ ।

हिजो झलनाथ खनाल दिल्ली उपचारमा जानु अगाडि एकताको पक्षमा विज्ञप्ति जारी गर्नुभयो । विज्ञप्ति तपाईंले ड्राफ्ट गरेको कुराहरू आए । खास कुरा के हो ?

झलनाथ खनालले निकालेको विज्ञप्तिलाई मैले किन ड्राफ्ट गर्नु र ? उहाँले नै निकाल्नु भएको हो ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमाले छुट्याइदिएपछि स्वतः साविक एमाले भइहाल्नुपर्ने थियो । त्यहाँ नगएर एउटा गुटलाई एमाले मान्न थालेपछि समस्या उत्पन्न भएको हो । गुट छाडेर आधिकारिक कमिटी स्थापना भएपछि मिलनविन्दु आउँछ ।

कतिपय माधव नेपाल पक्षका नेताहरूले विज्ञप्तिलाई फेक भएको भनेर प्रचार गरे । केही अनलाइनले त्यही कुरा लेखे । फेकै हो त्यो विज्ञप्ति ?

फेक भएको भए झलनाथ खनालको सचिवालयले खन्डन गर्थ्यो । त्यो विज्ञप्ति उहाँ आफैंले निकाल्नुभएको हो । उहाँले पार्टी एकताको लागि विज्ञप्ति जारी गर्नुभएको हो । गुटका कमिटीलाई हैन आधिकारिक कमिटीलाई मान्यता दिएर पार्टी जोगाउन उहाँको विज्ञप्ति आएको हो ।

अदालतले नेकपा (एमाले) को दशौँ महाधिवेशन आयोजक कमिटीको कारवाहीलाई मान्यता दिएन । अब आधिकारिक कमिटी बनेर समयमै महाधिवेशन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

अस्तिको महाधिवेशन कमिटी एमालेको थिएन । गुटको थियो । अब समय आएपछि नवौँ महाधिवेशनबाट आएको आधिकारिक मान्छेबाट महाधिवेशन कमिटी बन्छ । महाधिवेशन हुन्छ ।

दशौँ महाधिवेशनमा केपी शर्मा ओली र माधव नेपाल एकै ठाँउमा आउने सम्भावना छ ?

त्यो त हुनुपर्छ नि । एक खालको ‘कमन अन्डरस्ट्यान्डिङ ’ कहाँ हुन्छ भनेर तय भएपछि हुनुपर्छ । एमाले जोगिन्छ, इतिहासको लिगेसी कायम हुन्छ भने त केपी ओली, माधव नेपाल, झलनाथ खनाल एकै ठाउँमा हुनुपर्छ ।

मानिलिउँ माधव नेपाल पक्षका हार्डलाइनरहरूले ओलीसँग बस्दै नबस्ने भने र ओली पक्षले पनि माधव नेपालसँग मिल्न चाहेन भने तपाईंको पोजिसन के हुन्छ ?

म फुटको पक्षमा हुन्न । मैले त्यसको परिकल्पना गरेको छैन । एमाले फुट्यो भने पश्चिम बंगालको कम्युनिष्ट पार्टीजस्तै हुन्छ । अब दुई पार्टी हुन्छ भनेर पहिले जस्तो भन्ने अवस्था छैन । एमाले फुट्दा धेरै नराम्रो असर हुन्छ । कम्युनिष्ट पार्टी सिद्धिन्छ । अहिले सरकार र पार्टी दुवै अलोकप्रिय भएको छ । यस्तो समयमा फुटले झनै ठूलो असर गर्छ ।

अब एमाले फुटिहालेमा २०५४ सालको फुट र अबको फुटमा के फरक र के समानता हुन्छ ?

मैले एमालेको फुटको परिकल्पना गरेकै छैन । यस्तो हुनुहुन्न ।

तपाईंले सरकार र पार्टी अलोकप्रिय भएको भन्नु भयो । अब आउने चुनावमा एमालेको संघ, प्रदेश र स्थानीय तहको पोजिसन के होला ?

एमाले एक भयो भने पहिलो पार्टी हुन्छ । मन, वचन र कर्ममा एक हुँदा पार्टी पहिलो नै हुन्छ ।

कतिपय माधव नेपाल पक्षका हार्डलाइनर नेताहरूले अनौपचारिक कुराकानीमा प्रदेश १ को मुख्यमन्त्री पाउने सर्तमा तपाईं नरम भएको भन्छन् । यस बारेमा तपाईंको आधिकारिक धारणा के हो ?

त्यस्तो केही पनि हैन । म पार्टी एकता र नवौँ महाधिवेशनबाट आएको टीमले नै दशौँ महाधिवेशन गर्नुपर्ने पक्षमा छु ।

तपाईं सुनसरीको हेभिवेट नेता हो । तपाईंकै जिल्लामा दुई समानान्तर कमिटी सबैतिर छन् । यसलाई एक बनाउन जिल्ला तहबाट केही व्याक्तिगत पहल गर्नु भएको छ ?

यो सिंगो पार्टीको समस्या भएकोले जिल्लाबाट मिल्ने कुरा हैन । सिंगो पार्टी र माथिबाट मिल्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर