पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध – Nepal Press

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

रुपन्देही । वर्षासँगै खसेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड र पूर्वपश्चिम राजमार्गको दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका-५ कालीमाटी, रम्भा गाउँपालिका-३ पिपलडाँडाका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धार्थ राजमार्गको पिपलडाँडा र अगाहा खोलाको बीचमा पर्ने भीरबाट ढुंंगा र लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको छ । अघिल्लो वर्षको वर्षायाममा खसेको पहिरोमा पुनः ढुंगासहितको पहिरो खसेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्ने सडकखण्डमा पहिरोले सडक अवरुद्ध भएको हो ।

यस्तै, कालीगण्डकी करिडोर स्तरोन्नती गर्दा फालेको माटोका कारण सिद्धार्थ राजमार्गमा लेदो खसेर पिपलडाँडा सेरामा सडक अवरुद्ध भएको छ । यता तिनाउ गाउँपालिका-५ कालीमाटी, गौडेपुल क्षेत्रमा पनि पहिरो खसेको छ ।

प्रभास प्रहरी चौकीका अनुसार ढुंगामाटो सहितको पहिरो खसेकाले सडक डिभिजनबाट डोजर मगाएर काम भइरहेको छ । यहाँ केही दिनअघि पनि सडकमा ठूलो पहिरो खसेको थियो । सडकको घुम्ती चौडा गर्दा खनेको भागमा नै अहिले पहिरो खसेको हो ।

निर्माणाधिन सडक भासिदा पुर्वपश्चिम राजमार्गको बुटवल बर्दघाट सडकखण्ड बन्द भएको छ । बुटवल र देवदहको विचमा पर्ने जंगलक्षेत्रमा निर्माणाधिन सडकमा कल्भर्ट निर्माणको लागि बनाईएको कजवे भासिएपछि आवतजावत बन्द भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेका अनुसार कल्भर्ट निर्माणको लागि खनिएको सडक भासिएको हो ।

कल्भर्ट निर्माणको लागि खनिएको सडक सोमबारदेखि लगातार परेको वर्षाको कारण भासिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर