प्रदेश सरकार मातहत आएपछि फेरिएको भीम अस्पताल – Nepal Press

प्रदेश सरकार मातहत आएपछि फेरिएको भीम अस्पताल

रुपन्देही । झण्डै ९ दशक पुरानो भैरहवाको भीम अस्पतालमा संघीयताको कार्यान्वयनसँगै आमूल परिवर्तन भएको छ । रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको यो अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि सेवा बिस्तारमात्र भएको छैन यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य धरोहर बनेको छ ।

भीम अस्पताल भनेपछि धेरैले नाक खुम्च्याउने अवस्थामा पुगेको यो अस्पतालले अहिले सेवाग्राहीको मन जित्न विभिन्न योजना कार्यान्वयन गरेको छ । सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा पाइँदैन भन्ने सोचलाई चिर्दै यो अस्पतालले निजी अस्पताको दाँजोमा सेवा दिन थालेपछि सबैको रोजाइमा पर्न थालेको छ ।

संघीयता कार्यान्यवनको सुरुवातसंगै प्रदेश सरकारले रुपन्देहीको पुरानोमध्यको यो अस्पतालका लागि विभिन्न योजनाहरु अघि सारेको छ । वि.सं. १९९० सालमा स्थापना भएको यो अस्पताल मध्यम र विपन्न वर्गका नागरिकका लागि यो अस्पताल बरदान सावित भएको छ ।

अहिले भैरहवाबासीका लागि मात्रै नभइ रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारसहित जिल्लाका विभिन्न क्षेत्र, नवलपरासी, कपिलवस्तुका बिरामी पनि उपचारको लागि यहाँ आउने गरेका छन् । विशेषज्ञ डाक्टरसहितको उपचारमा गुणस्तरीय सेवा वृद्धि भएपछि अहिले सबैको रोजाईमा परेको छ । समयक्रमसँगै भीम अस्पतालको मुहार फेरिँदै गएको छ । प्रदेश मातहत आएपछि यसको स्तरोन्नति र विकासमा थप काम भएपछि अहिले अस्पतालप्रति आमनागरिकको विश्वास बढ्दै गएको हो ।

गतवर्षदेखि कोरोना भाइरसको संक्रमण फैलिएसँगै अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ । सुरुवाती चरणमै अस्पतालले कोरोना संक्रमितको उपचारमा उल्लेखनीय भूमिका खेलेको थियो । पहिलो चरणको कोभिड संक्रमितको उपचारमा अस्पतालले राम्रै गरी प्रदेशमा नाम कमाएको थियो ।

कोरोना संक्रमितलाई निको बनाएर उनीहरुको मन जित्न सफल भएको थियो भीम अस्पताल । अस्पतालबाट उपचार पाएर संक्रमितहरु कोरोनामुक्त भएपछि घर फर्कन लाग्दा नाचगान गरी खुशीयाली नै मनाएका थिए । पहिलो चरणको कोभिड संक्रमितको उपचारको नेतृत्व मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले गरेका थिए । अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय भएको उपचारपछि घर फर्किएकाहरु बताउँछन् ।

दोस्रो चरणको कोभिड–१९ र निमोनियाबाट ग्रस्त भई उपचारका लागि भीम अस्पताल पुगेका सिद्धार्थनगर–७ का विष्णु अधिकारीले भीम अस्पतालको सेवा देखेर चकित बने । ‘अस्पताल प्रशासन, डाक्टर तथा नर्सहरुको व्यवहार, उपचार र हौसलाले १३ दिनै परास्त गरेर गर फर्किन पाएँ,’ उनले भने ‘यो समयमा उहाँहरुले गरेको सेवाप्रति म सधै ऋणी छु ।’ उपचार गुणस्तरीय भएका कारण भीम अस्पतालमा अहिले आफूजस्तै थुप्रै बिरामी उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर आएपछि विभिन्न चुनौतीहरु थपिए । वैशाखको पहिलो हप्ता कोरोना संक्रमित बिरामीहरुको संख्या ह्वात्तै बढेपछि अस्पताललाई व्यवस्थापन गर्न केही समय कठिन पनि भयो । तर अस्पताल व्यवस्थापन र प्रशासन आफ्नो कामबाट विचलित भएन ।

दोस्रो लहरको व्यवस्थापनमा चुनौती

‘पहिलो लहरमा त्यत्ति ग्राहो भएन, म भदौमा अस्पतालमा हाजिर हुँदा यहाँको अवस्था राम्रै थियो, तर दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि केही समस्या उत्पन्न भयो,’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले भनिन् ।

बेड, अक्सिजन र जनशक्ति यो चरणका चुनौती रहेको गुप्ताको अनुभव छ । डा. गुप्ताका अनुुसार दोस्रो लहर सुरु भएपछि अस्पतालाई तीन वटा कुराको व्यवस्थापन गर्न समस्या भयो । पहिलो लहरमा अस्पतालमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई घर जान खासै समस्या नभए पनि दोस्रो लहरमा संक्रमणको दर बढेपछि घर जान समस्या नै भयो । स्वास्थ्यकर्मीलाई कहाँ राख्ने, कहाँ बास र खानाको व्यवस्था गर्ने चुनौति थपिएकोले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी व्यवस्थापन गरिएको डा. गुप्ताले बताइन् । अस्पतालमा आएका अधिकांश बिरामीहरुलाई अक्सिजनको आवश्यकता भएपछि अक्सिजन पाउन समेत ग्राहो भएको उनले बताइन् ।

‘संक्रमितले अक्सिजन नपाए आधा घण्टामै बिरामीको ज्यान जान्छ भनेर राती १२ बजे, ३ बजे पनि फोन आउँथ्यो, वास्तवमा त्यो पीडादायी अवस्था थियो,’ उनले भनिन्, ‘तर हामीले अनेकन प्रयास गरेर समस्याको समाधान गरेरै छाड्यौं ।’ थुप्रै सिकिस्त बिरामी एकैपटक आउने र उहाँहरुलाई आइसीयू र भेन्टिलेटर चाहिने भए पनि अस्पतालमा ४–५ वटा मात्रै आइसीयू/भेन्टिलेटर रहेकाले केही समय उपचारमा निकै असहज अवस्था आएको उनको भोगाइ छ ।

‘अस्पताल पुगेका बिरामी र बिरामी कुरुवाले बेड नपाए पनि बाहिरै बस्छौं, यहीँ उपचार हुनुपर्छ, तर घर जाँदैनौ भनेपछि उहाँहरु यही बस्नुभयो,’ उनले भनिन्, ‘त्यसले हामीलाई थप जिम्मेबारीवोधसँगै सकारात्मक उर्जा थपियो ।’

पहिलो चरणको कोभिडपछि लीलाराम न्यौपाने–कुन्तीदेवी प्रतिष्ठानले अस्पताल परिसरमा आकस्मिक कक्ष (इमरजेन्सी ब्लक) निर्माणसम्पन्न गरेको थियो । त्यसपछि कोरोना अस्पताल सञ्चालन गर्न थप सहज भएको डा. गुप्ताको भनाइ छ । ‘प्रतिष्ठानकै पहलमा थप १२ वटा अक्सिजनसहितको बेड राखियो, जसले गर्दा बिरामीको उपचारमा सहज भयो,’ उनले भनिन् ।

व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछिको परिवर्तन

प्रदेश सरकारले महामारीकै उत्कर्षमा बैशाख २२ गते व्यवस्थापन समितिको नेतृत्वमा भैरहवाका व्यवसायी नारायणप्रसाद भण्डारीलाई ल्यायो । जनशक्ति कम भएको समयमा प्राविधिक मान्छेले व्यवस्थापनको पनि जिम्मेवारी लिँदा समस्या भएको समयमा व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछि उनीहरु आफ्नो काममा खट्न पाएका छन् । अस्पताल विकास समितिले नेतृत्व पाएपछि क्रमशः अवस्था सहज हुँदै आएको डा. गुप्ताको भनाइ छ । सुरुवाती चरणमा दैनिक ३ सय अक्सिजन सिलिण्डर आवश्यक भए पनि अहिले भने दैनिक २ सय ४० सिलिण्डर आवश्यक रहेको उनले बताइन् ।

अस्पतालले कोरोना संक्रमित बिरामीको वैशाख २ गतदेखि उपचार गर्न सुरु गरेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । हालसम्म ३ सय ५० बढी संक्रमितको उपचार गरिएको र जसमध्ये १ सय बढी बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

दोस्रो चरणको लहरमा १ सयको हाराहारीमा कोभिड संक्रमितको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा. पोखरेलको भनाइ छ । हाल अस्पतालमा ४८ जना संक्रमित उपचाररत छन् ।

अस्पताल विकास समितिले नेतृत्व पाएको धेरै समय भएको छैन । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा लुम्बिनी प्रदेश सरकारले वैशाख २२ गते अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएका नारायणप्रसाद भण्डारीले जेठ ४ गते पदभार ग्रहण गरेका छन् ।

अध्यक्षको जिम्मेवारी सम्हालिसकेपछि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनले पहिलो प्राथमिकतामा राखेका छन् । भण्डारी उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्षसमेत हुन् । ‘कोरोना महामारीको विषम परिस्थितिमा मलाई प्रदेश सरकारले महत्वपूर्ण जिम्मेवारी दियो, बिरामीले अक्सिजन, बेड नपाएको अवस्थामा र मान्छे घरबाहिर निस्कने वातावरण नभएको र व्यवसाय बन्द भएको बेला जिम्मेवारी सम्हालेको छु, विभिन्न चुनौति छन्, ती चुनौतिलाई अवसरको रुपमा लिएर केही गर्ने सोचसहित काम गरिरहेको छु,’ भण्डारीले भने ।

धेरैभन्दा धेरै बिरामीको उपचार गर्न सकिन्छ कि भनेर आफूले जिम्मेवारी सम्हालेको उनले बताए । अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु दिनरात खटेर काम गरिरहेको उनले बताए ।

स्तरोउन्नति र अक्सिजन प्लान्ट पहिलो प्राथमिकतामा

तत्कालको योजना भनेको अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने, अस्पतालमा आएका बिरामीलाई बेड र अक्सिजनको सुविधा दिइ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रहेको उनले बताए । ‘ठूला योजना तत्काल अगाडि बढायौं भने अहिले अत्यावश्यक काम अवरोध हुनसक्छ, अक्सिजन प्लान्ट स्थापना जडान गर्ने योजना गरेर सूचनामा गएको छौं, योजना अनुसार काम अगाडि बढे अस्पतालमा आगामी असार मसान्तभित्र अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन्छ ’उनले भने ।

अस्पतालमै जडान भएको प्लान्टले बिरामीलाई अक्सिजन दिन सकिने उनको भनाइ छ । अक्सिजन प्लान्ट जडानका लागि उद्योगी, व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको सहयोग निरन्तर आइरहेको भण्डारीले जानकारी दिए । उनका अनुसार असार मसान्तभित्रै ५ वटा भेन्टिलेटर र केही आइसीयू÷एचडीयू बेड थप्ने गरी काम अगाडि बढेको छ ।

लामो समयको योजना भनेकै अस्पताललाई १ सय शय्या बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्ने रहेको उनले बताए । ‘अस्पतालको स्तरोन्नति गर्न पहिलो बैठकबाट निर्णय गरेर मन्त्रालयमा पत्र पनि पठाइसकेका छौं, अस्पतालमा नयाँ भवन बनाउनको लागि दुई भागमा बनाउन पहिलो भागको टेण्डर भइसकेको छ, र ठेकेदारसँग सम्झौता भइसकेको छ, ठेकेदारसँग सम्झौता गरेर आगामी १५ दिनभित्रै भवनको शिलान्यास गर्नेतर्फ अघि बढेका छौं,’ भण्डारीले भने । अस्पतालको पश्चिम क्षेत्रमा हाल क्यान्टिन रहेको क्षेत्रमा पुरानो भवनलाई विस्थापित गरेर नयाँ भवन निर्माण गरिने उनले बताए ।

‘यहाँका स्थानीयवासी सकभर भीममा जान नपरे हुन्थ्यो भन्ने सोचका साथ युनिभर्सल मेडिकल कलेज वा बुटवलतिर जानुहुन्थ्यो, तर अहिले ठयाक्कै यो अवस्था परिवर्तन भएको छ, अहिले यहाँका पुराना धनाढ्य वर्गका बिरामी अस्पतालमा उपचाररत हुनुहुन्छ,’ उनले भने ।

‘अस्पतालमा गुणस्तरीय सेवा पाएर वा राम्रो उपचार पाएको भएर बिरामी र बिरामीका आफन्तले अस्पताल रोज्नुभएको छ भन्ने विश्वास गरेका छौं, यो विश्वासलाई कायम राख्दै अस्पतालको सेवालाई अझ गुणस्तरीय र विश्वासको केन्द्रको रुपमा अगाडी बढाउन हामी झण्डै १ सय ५० जनाको टिमसहितको अस्पताल परिवार लागिपरेका छौं, ’उनले भने । सिंगो टिम अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर