फ्रेन्च ओपनको तेस्रो चरणमा फेडेररको संघर्षपूर्ण जित, जोकोभिच र नाडाललाई एकपक्षीय सफलता – Nepal Press

फ्रेन्च ओपनको तेस्रो चरणमा फेडेररको संघर्षपूर्ण जित, जोकोभिच र नाडाललाई एकपक्षीय सफलता

एजेन्सी । क्ले कोर्टमा खेलिने वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा स्वीस सुपरस्टार रोजर फेडेररले तेस्रो चरणमा जर्मनीका डोमिनिक कोफरमाथि कठिन जित निकालेका छन् । जितका बाबजुद उनको प्रदर्शन भने खराव थियो ।

३९ वर्षीय फेडेररसँग आफ्नो खेल सन्तुलनमा विश्वासको कमी देखिन्थ्यो । पेरिसको लगभग खाली रोनाल्ड ग्यारोसमा उनले ३-१ को सेटमा खेल जितेका थिए । कीर्तिमानी २० पल्टका ग्राण्डस्लाम विजेता फेडेररले डोमनिकलाई हराउन ३ घण्टा ३५ मिनेट खर्चिएका थिए । चारमध्ये तीन सेट टाइब्रेकमा पुगेको थियो । पहिलो सेट टाइब्रेकमा ७-६ ले जितेका उनले दोस्रो सेट ६-७ ले गुमाए । तेस्रो सेटमा पुनः ७-६ ले जितेपछि निर्णायक सेटमा ७-५ ले आफ्नो पक्षमा पारेका हुन् ।

प्रिक्वाटरफाइनल चरणमा उनले नवौं वरियताका इटलीयन खेलाडी माट्टेओ बेरेट्टिनीसँग खेल्नेछन् । २५ वर्षीय बेर्रेट्टिनी दक्षिणकोरियाली कोन सुन वोलाई ३-० को सेटमा पराजित गरी करिअरमा पहिलोपल्ट फ्रेन्च ओपनको चौथो चरणमा पुगेका हुन् ।

बेर्रेट्टिनीले क्ले कोर्टमा अफ्नो उत्कृष्ट लयलाई कारम राख्न सफल रहे । यसअघि उनी मड्रिड ओपनमा फाइनल पुगेका थिए । अब उनले सन् २००९ को च्याम्पियन फेडेररमाथि पर्याप्त तयारी गर्नेछन् ।

आठौं वरियताका फेडेररले सन् २०२० पछि तेस्रो प्रतियोगिता खेल्दैछन् भने दुईपल्ट घुँडाको शल्यक्रिया गरिसकेका छन् । उनले आफ्नो फ्रेन्च अ‍ोपन सहभागिता विम्बल्डनको तयारीका लागि भएको बताइसकेका छन् । घाँसे कोर्टमा खेलिने विम्बल्डन यही महिनाको अन्तिममा हुनेछ ।

इंग्ल्याण्डका क्यामरुन नुरीलाई ३-० को सहज सेटमा पराजित गरी साविक विजेता रफायल नाडाल पनि अन्तिम १६ मा पुगेका छन् । १३ पल्टका फ्रेन्चओपन विजेता नाडालले क्लेकोर्टमा आफ्नो प्रभाव यो खेलमा पनि प्रस्तुत गरे । उनले क्वाटरफाइनल प्रवेशका लागि जान्निक सिन्नरसँग खेल्नेछन् ।

शीर्ष वरियताका नोभाक जोकोभिचले लिथुवानियाका रिचार्ड बेरान्किसमाथि एकपक्षीय जित निकाले । करिअरको १९ औं ग्राण्डस्लामको लक्ष्यमा रहेका जोकोभिचले ६-१, ६-४ र ६-१ को सहज जित निकालेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *