मन्त्रीबाट हटेपछि पार्वत गुरुङको प्रतिक्रिया : प्रधानमन्त्रीको राजनीतिक संकल्पलाई सदैव साथ दिन्छु – Nepal Press

मन्त्रीबाट हटेपछि पार्वत गुरुङको प्रतिक्रिया : प्रधानमन्त्रीको राजनीतिक संकल्पलाई सदैव साथ दिन्छु

काठमाडौं । शुक्रवार साँझसम्म सरकारको प्रवक्ता रहेका निवर्तमान सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद पुनर्गठन र आफूहरुको वहिर्गमनलाई स्वागतयोग्य र राजनीतिक सुझबुझपूर्ण निर्णय भनेका छन् ।

मन्त्रीबाट विदा भएपछि प्रेस वक्तव्य जारी गर्दै गुरुङले आफूले सरकारको प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल नेकपा एमाले, सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक काम गरेको बताएका छन् ।

गुरुङले पछिल्लो घटनाक्रमलाई स्वभाविक भन्दै विज्ञप्तिमा भनेका छन्- मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीपरिषद् पुनर्गठन गर्नु भएकोमा हार्दिक स्वागत गर्दछुु । नवनियुक्त मन्त्रीज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । साथै, समृद्ध नेपालको यात्रामा अविचलित रुपमा लागिरहने र सम्माननीय प्रधानमन्त्रीज्यूको दृढ राजनीतिक संकल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण गर्दछु ।

मन्त्री भएर काम गरुन्जेल पार्टी, जनता र कार्यकर्ताको शीर झुक्न नदिएको र कतै विवादमा नपरेकोले आफूलाई कुनै पश्चाताप नरहेको बताएका छन् ।

गुरुङले भनेका छन्- मन्त्री मात्र हैन, एउटा राजनीतिक पार्टीको जिम्मेवार सदस्य भएको नाताले म र मेरो पार्टी नेकपा एमाले, सरकार र सम्माननीय प्रधानमन्त्रीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक कार्य सम्पादन गरेँ । परिणामस्वरुप मेरा १९ महिने मन्त्रीको कार्यकालमा कुनैपनि पक्षले नकारात्मक टिप्पणी, आलोचना गर्ने मौकाको अवसर नदिई मेरो पार्टीे, सम्माननीय प्रधानमन्त्रीज्यू, दोलखावासी जनसमुदाय, शुभचिन्तक, समर्थक र आफन्तहरुले शीर झुकाउनु र पश्चाताप गर्न परेन । यसैलाई नै मैले उपलब्धी र आफ्नो सम्पत्ति ठानेको छु ।

गुरुङ २०७६ मंसिरमा महिला वालवालिका मन्त्री बनेका थिए । उनलाई प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि सन्चार मन्त्रालयको जिम्मेवारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर