एसईईमा खेलाँची : जेहेन्दारलाई मर्का, नपढेकालाई हाइसञ्चो ! – Nepal Press

एसईईमा खेलाँची : जेहेन्दारलाई मर्का, नपढेकालाई हाइसञ्चो !

कार्यविधिले समस्या हल होला ?

काठमाडौं । गत वर्ष कोरोना महामारीका कारण अन्तिम समयमा एसईई परीक्षा स्थगित भयो । विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनका आधारमा भदौमा प्रकाशित गरेको नतिजामा व्यापक असन्तुष्टिहरू देखिए ।

विद्यालयले आफ्नै तजविजमा अंक दिँदा विगतका वर्षहरूमा भन्दा निकै फरक नतिजा आएको थियो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको भनाइमा विद्यार्थीले पाउने ग्रेडमा आकाशपातल फरक परेको थियो ।

‘हामीले तथ्यांकमा हेर्दा गत वर्ष थोरै ग्रेड पाउने विद्यार्थी संख्या थोरै र ठूलो ग्रेड पाउने विद्यार्थी संख्या धेरै देखियो, जुन अघिल्ला वर्षहरुको ट्रेन्डभन्दा उल्टो हो,’ उनले भने, ‘अघिल्ला वर्षहरूमा धेरै ग्रेड पाउने विद्यार्थी थोरै र थोरै ग्रेड पाउने विद्यार्थी धेरै हुन्थे ।’

अर्यालका अनुसार एसईईमा ७५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तिर्ण हुने गरेकोमा गत वर्ष त सयमा सय नै उत्तिर्ण भए । त्यसमा पनि अत्यधिकले ‘ए प्लस’ पाए । यसले नतिजाको विश्वसनीयतामै प्रश्न उब्जियो ।

परीक्षाका लागि राम्रो तयारी गरेका जेहेन्दार विद्यार्थीलाई यसले नकारात्मक प्रभाव परेको थियो ।

गत वर्षका एक परीक्षार्थी भन्छन्, ‘परीक्षा दिएको भए पनि ए प्लस नै ल्याउँछु भन्ने थियो । तर, बिनापरीक्षा ए प्लस आउँदा धेरैले खिसिट्यूरी गरे । स्कलरसीप पाउन पनि समस्या भयो ।’

अर्कोतर्फ कतिपय विद्यालयले गरेको मूल्यांकनमा अन्याय परेको भनेर अभिभावक र विद्यार्थीको गुनासो पनि सुनियो । सिन्धुलीमा एक विद्यार्थीले कम अंक दिएको भनेर शिक्षकलाई हातपात गरेको घटना समेत सार्वजनिक भएको थियो ।

०००

प्रत्येक वर्ष राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा लिने गरेको छ । तर, कोरोना महामारीका कारण अघिल्लो वर्ष विद्यालयहरूले नै आन्तरिक मूल्यांकन गर्ने निर्णय सरकारले गरेको थियो । यस वर्ष पनि कोरोनाको दोस्रो लहरका कारण एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्ले दुई दिनअघि गरेको निर्णयबारे परीक्षाबोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भने बेखबर छन् । आन्तरिक मूल्यांकनका विषयमा अघिल्लो वर्षदेखि पनि सकारात्मक नरहेका उनी भन्छन्, ‘सरकारको निर्णय पाएको छैन । के रहेछ अफिस गएर हेर्नुपर्ला ।’

आधिकारिक निर्णय पाएपछि आन्तरिक मूल्यांकनका लागि कार्यविधि बनाउने उनले बताए ।

बोर्डका सदस्यसचिव अर्याल अघिल्ला वर्षका कमजोरी सुधार्ने गरी कार्यविधि निर्माण गरिने बताउँछन् ।

उनले भने, ‘गत वर्षको मूल्यांकनमा मनपरी भएको भनेर गुनासोहरु आए । अहिले त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौं । कार्यविधिमा यी कुराहरू आउँछन् ।’

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा कमजोरी औंल्याउँदै भन्छन्, ‘केही विद्यालयमा मार्कलाई फरक ढंगले चढाएर ग्रेडिङ धेरै आयो । मुलुकभरि अनुमगन गर्दा ग्रेडिङमा तलमाथि परेको थियो । उपयुक्त कार्यविधि नभएर पनि यस्तो भएको हुनसक्छ ।’

शिक्षाविद् विद्यानाथ कोइराला आन्तरिक मूल्यांकन उपयुक्त प्रणाली भए पनि सिकाइ प्रणालीकै दोषका कारण विवाद आएको बताउँछन् ।

‘पूरानै ढर्राबाट पढाइ गरेर यस्तो मूल्यांकन कहाँ हुन्छ ? विद्यार्थीको सिकाइमा ध्यान नै गएन,’ उनले भने ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा पोहोर जिम्मेवार व्यक्तिहरूले आचारसंहिता पालना नगरेका कारण जथाभावी ग्रेड आएको बताउँछन् ।

शिक्षाविद् कोइराला एसइईका विषयमा अघिल्लो वर्षको अभ्यासबाट मन्त्रालय र परीक्षा बोर्ड दुवैले पाठ नसिकेको बताउँछन् ।

‘मन्त्रालय र परीक्षा बोर्डमा परिवर्तन नचाहनेहरू छन् । उनीहरूले विद्यार्थीको भविष्य अन्धकार बनाउने काम मात्र गरे,’ कोइराला भन्छन् ।

कोइराला महामारीमा मात्र नभई आन्तरिक मूल्यांकनलाई सँधैका लागि स्थापित गराउनुपर्नेमा जोड दिन्छन् । अन्यथा महामारीमा एसइई दिएका विद्यार्थीलाई सधैँभरि ट्यागलाग्ने उनको तर्क छ ।

‘अघिल्लो वर्ष पनि उनीहरूको मनोविज्ञानमा असर पारियो । चिट चोराएर पास गरे भन्ने कुरा आयो । एसइईलाई कक्षा १० को परीक्षाका रुपमा मात्रै लिएको भए यस्तो हुन्थेन,’ उनले भने ।

मन्त्रालयका प्रवक्ता शर्मा भने ‘फेस टू फेस’ पढाइ नभएपछि कम प्रभावकरी हुने बताउँछन् । त्यसमाथि अघिल्लो वर्षको प्रभावकारितालार्ई अहिल्यै जाँच्न नमिल्ने उनको तर्क छ ।

‘गत वर्षको रिजल्ट र अहिलेको रिजल्टलाई हामीले हेर्ने हो । त्यसलाई विश्लेषण गरेर भन्न सक्छौं कति प्रभावकारी भयो भन्न सक्छौं । नेसनल एजुकेसन रिभ्यु अफ स्कुलले पनि त्यसको पुनरावलोकन गर्छ,’ उनी भन्छन् ।

एनप्याब्सनका अध्यक्ष सापकोटा अघिल्लो वर्षभन्दा यस वर्ष झनै जोखिम रहेको देख्छन् ।

‘अघिल्लो वर्ष पढाइ भएको थियो । यो वर्ष त कुनै पनि न्यूनतम सिकाइ पनि भएन । यस्तो बेलामा परीक्षा भएर के गर्ने ? मूल्यांकन गरेर पठाउँदा ११ पढ्न समस्या हुन्न र ?’ उनको प्रश्न छ ।

यो वर्ष मूल्यांकनभन्दा बढी ध्यान सिकाइको सुनिश्चिततामा दिनु पर्ने उनको बुझाइ छ ।

‘तीन महिना पढेर कसरी १ वर्षमा कोर्स सिद्धिन्थ्यो ? सिकाइ संवेदनशील विषय हो । अहिले त पढ्ने विद्यार्थी र पढाइमा नजोडिएका विद्यार्थीबीच तात्विक भिन्नता नै हुन्न । अघिल्लो वर्षबाट केही पाठ सिकेको देखिएन,’ उनी भन्छन् ।

यस वर्ष पनि नपढेका विद्याथलाई हाइसन्चो हुने उनको ठहर छ । मूल्यांकन हुने नै भए पनि कक्षा ११ को सत्र सुरु नहुन्जेल विद्यार्थीलाई तयारी पार्न सकिने उनले बताए ।

‘कक्षा ११ को पढाइ त भदौमा हुने हो । हामीसँग असार र साउन दुई महिना छ । यसलाई पूर्ति गर्ने किसिमको कुनै कार्यक्रम ल्याऊँ । १० कक्षामा सिकाउन नपाएका कुरा पुनः लिएर जाऊँ,’ सापकोटाले भने ।

नेपाल शिक्षक महासंघका अध्यक्ष थापा मूल्यांकनका लागि पुनः निर्देशन गर्ने संरचना बनाए अघिल्लो पटकको समस्या नदोहोरिने सुझाव दिन्छन् ।

यसपालि ५ लाख १७ हजार विद्यार्थीले एसईईको फाराम भरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर