देउवाको मुद्दामा कम्युनिष्ट वकिल हावी, कांग्रेसका कानुनविद् गुटको शिकार – Nepal Press

देउवाको मुद्दामा कम्युनिष्ट वकिल हावी, कांग्रेसका कानुनविद् गुटको शिकार

काठमाडौं । विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदहरुले संसद पुनःस्थापना र संविधानको धारा ७६ को ५ बमोजिमको सरकार गठन लगायतका मागदावी राखेर दायर गरेको रिटका मुख्य निवेदक हुन्, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

रिटको मुख्य मागदावी पनि देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न परमादेश जारी गर्नुपर्ने छ । यद्यपि रिटमाथिको प्रारम्भिक सुनुवाईप्रति स्वयं देउवा नै सन्तुष्ट छैनन् । रिट निवेदकको तर्फबाट बहस गर्ने वामपन्थी कानुनविदले मुद्दालाई नेकपा विभाजनको विवादसंग जोड्न खोजेकोमा कांग्रेस पंक्तिमा असन्तुष्टी छ । यही असन्तुष्टी सम्बोधन गराउन देउवाले सोमबार कांग्रेसनिकट कानुनविदसंग छलफल गरेका छन् । छलफलमा देउवाले बहसलाई मूल मुद्दामा प्रवेश गराउन र आफ्नो भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसद रिट निवेदक भएपनि मुद्धाको अगुवा कांग्रेस सभापति देउवा हुन् । मुद्धाको सुनुवाई अघि विपक्षी गठबन्धनले कानुनविदसंग निरन्तर परामर्श गर्दै आएको थियो । यद्यपि मुद्धाको प्रारम्भिक सुनुवाईमा वामपन्थी कानुनविद हावी भएपछि देउवालाई अप्ठ्यारो परेको छ ।

सुनुवाईको पहिलो दिनदेखि नै कानुनविद शम्भु थापा, गोविन्द बन्दी लगायतले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्नुपर्ने माग गर्दै बहस गरेका थिए । मंगलबार केसी र श्रेष्ठले इजलास नछोड्ने राय व्यक्त गरेपछि विषय नयाँ चरणमा प्रवेश गरेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने घोषणा गरेसंगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा आफूले नयाँ इजलास बनाउने बताइसकेका छन् । अदालतको कोर्स जुन दिशातर्फ गइरहेको छ त्यसप्रति रिट निवेदक तर्फका कानुन व्यवसायीकै बीचमा फरक मत फराकिलो हुँदैछ ।

खासगरी कांग्रेस निकट कानुन व्यवसायी र वामपन्थी कानुन व्यवसायीबीच आन्तरिक किचलो बढ्दै गएको छ । ‘यो मुद्धाको फाइल जसरी ओपन गरियो त्यो नै गलत रह्यो । प्रारम्भिक सुनुवाईमा कम्युनिष्ट हावी देखिएका छन् र नेकपा फुटेको रोदन इजलासमा भइरहेको छ’, कांग्रेसनिकट एक वरिष्ठ अधिवक्ताले भने । ती अधिवक्ताले पार्टी सभापति देउवाकै कमजोरीले गर्दा डेमोक्रेट कानुन व्यवसायी ओझेलमा परेको बताए ।

‘कांग्रेससंग डेमोक्रेटिक लयर्स एसोसियसन छ । बारको नेतृत्व गरिसकेका वरिष्ठ अधिवक्ता पनि छन् तर मुद्धा एमाले र माओवादीलाई जिम्मा लगाइएको छ । कांग्रेसबाट मुद्धा हेर्ने वकील छनोटमा पनि गुटगत प्रभाव परेको छ’, वरिष्ठ अधिवक्ताले नेपाल प्रेससंग भने । सभापति देउवाले कानुन व्यवसायी व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य रमेश लेखकलाई दिएका छन् । ‘हुन त शेरबहादुरजी ४ महिनासम्म रमण श्रेष्ठलाई महान्यायाधिवक्ता राख्ने नेता हो । विगतमा उहाँ प्रधानमन्त्री छदाँ आइजीपी नियुक्तिको मुद्धामा पनि कम्युनिष्ट वकीलकै जिम्मा लगाउनुभएको थियो । त्यतिबेला मुद्धा हारेको अहिले बिर्सिएजस्तो छ’, कांग्रेस निकट कानुन व्यवसायीको भनाई छ ।

कांग्रेसनिकट अर्का वरिष्ठ अधिवक्ता पार्टीले पर्याप्त छलफल नगरेको गुनासो गर्छन् । पार्टीलाई समस्या पर्दा सहयोग गर्न तयार भए पनि सहयोग लिनेले नै नचाहेको उनको दावी छ । ‘मुद्दामा प्रभाव राख्ने सिनियर वकीललाई वेवास्ता गरिएको छ । गुट हेरेर जिम्मा दिने काम भइरहेको छ । हामीभन्दा जुनियर कम्युनिष्ट वकीलले मुद्दाको लिड गरेका छन् । जसले गरेको भएपनि घाटा कांग्रेसलाई नै भइरहेको छ’, ती वरिष्ठ अधिवक्ताले भने ।

सोमबार कांग्रेस सभापति देउवाले बोलाएको छलफल इजलास रोज्ने एजेण्डामा धेरै अल्मलिन नहुने धारणा व्यक्त भएको थियो । नेकपा विभाजनको विषय जोड्नुभन्दा मुख्य विषयमै प्रवेश गर्नुपर्ने अधिकांशको धारणा सुनेपछि सभापति देउवाले मुद्दाको अगुवाई गर्न पार्टीनिकट कानुन व्यवसायीलाई आग्रह गरेका छन् । ‘मुद्दा जसरी अगाडि बढ्यो यसमा सभापति स्वयं सन्तुष्ट नभएको पायौं । मुद्दालाई हामीले लिड गर्नुपर्छ भन्ने सल्लाह भएको छ’, छलफलमा सहभागि एक अधिवक्ताले भने ।


प्रतिक्रिया

4 thoughts on “देउवाको मुद्दामा कम्युनिष्ट वकिल हावी, कांग्रेसका कानुनविद् गुटको शिकार

  1. बिगतको निर्णय र मुद्दा सँग जोड्ने र जोडीने हो भने, दर्जनौ मान्छे इटाभट्टा मा जलाउनेको पक्षमा वकालत गर्ने वकिल को को छौ, त्यो अपराधी बिगत लिएर अदालत प्रबेस गर्न नि योग्य छैनौ, भन्दिम !?

  2. लेख राम्रो छ,तर अन्तरबार्ता दिने ब्यक्तीको नाम उल्लेख गरिदिनु भएको भए सुनमा सुगन्ध हुने थियोे ।।।

    1. कठै काङ्ग्रेस कोटाबाट न्यायाधीश भएका तेज बहादुर केसी र बम कुमार श्रेष्ठको यो हबिगत भएपछी काङ्ग्रेसी वकिलहरुमा रुवाबासी शुरु भएकै हो? अहिलेको अवस्थामा शम्भु थापा, गोविन्द बन्दी, टिकाराम भट्टराई जती लड्ने कुनै वकिल छन र काङ्ग्रेसमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर