फेवाताल पुरानै सौन्दर्यमा फर्कियो, तालको आकार पनि बढ्यो – Nepal Press

फेवाताल पुरानै सौन्दर्यमा फर्कियो, तालको आकार पनि बढ्यो

पोखरा । बाँध मर्मतपछि फेवाताल पुरानै सौन्दर्यमा फर्किएको छ । तालको बाँध मर्मतका लागि पाँच महिनाअघि घटाइएको पानी पुनः भरिएपछि अहिले फेवाताल पूर्वावस्थामा फर्किएको छ ।

नयाँ स्वरुपमा फर्किएपछि फेवातालको आकार ठूलो हुने जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख किरण आचार्यका अनुसार फेवातालले शनिबारदेखि आफ्नो आकार लिएको छ र अहिले ९९३.१५ आर एल रिड्युस तहमा पुगेको छ ।

फेवातालको तह अझै बढ्ने र ९९४.७ सम्म लैजान सकिने उनले जनाए । ‘त्यतिबेला फेवातालले पूर्ण आकार लिन्छ, पहिलो देखेभन्दा ठूलो हुन्छ’ उनले भने ।

उनले भने, ‘सेतीको पानी ल्याएर रिचार्ज गर्ने भनिएको थियो, यतिबेला सिंचाइको समय पनि नभएको र हतार पनि नभएकोले नेचुरल हिसाबले भरिन दियौं । मर्मतको काम दुई महिना अघि सकिएको थियो । चर्किएको ठाउँमा मर्मत गरिएको छ । आयुको हिसाबले एक पटक बनाएको ड्याम एक वर्षलाई टिक्छ, तर समयसमयमा मर्मत गर्नुपर्छ ।’

फेवातालमा जम्मा भएको फोहोर निकाल्ने काम भने हुन सकेको छैन । आचार्य बताउँछन्, ‘ फेवाताल सफा गर्न शुरु गरेका थियौं, बजेट विनियोजन नहुँदा खोजिएको काम हुन सकेन अलिअलि मात्र भयो ।’

भारतको सहयोगमा २०१८ सालमा फेवातालको बाँध निर्माण भएको थियो । बाँध मर्मतका लागि सरकारले एक करोड बजेट छुट्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर