कोरोना महामारीले बैंकिङ कारोबार प्रभावित, निक्षेप र कर्जा दुवै घट्यो – Nepal Press

कोरोना महामारीले बैंकिङ कारोबार प्रभावित, निक्षेप र कर्जा दुवै घट्यो

काठमाडौं । कोभिड-१९ चेनब्रक गर्न भन्दै निषेधाज्ञालाई थप कडाइ गरेसँगै त्यसको असर बैंकिङ आर्थिक गतिविधिमा देखिन थालेको छ । अतिवाश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्र पूर्णरुपमा ठप्प गरिँदा त्यसको असर बैंकिङ कारोबार देखिन सुरु गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले पनि ५० हजारभन्दा बढीको निक्षेप मात्रै संकलन गरिरहेका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक र काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले लागू गरेको ओलोपालो बैंकिङ प्रणालीका कारण निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा कमी आएको छ । सरकारले निर्माण क्षेत्र तथा सेयर बजार सञ्चालन गरेपनि यी क्षेत्रले पर्याप्त मात्रामा आर्थिक क्रियाकलापलाई गति दिन सकेका छैनन् ।

आर्थिक गतिविधि ठप्प हुँदा सरकारको राजस्व संकलन र खर्च दुवैमा कमी आएका कारण बैंकिङ निक्षेपमा संकलन र कर्जा प्रवाह दुबै प्रभावित भएका छन् ।

जेठको पहिलो सातामा नेपालका वाणिज्य बैंकहरुमा ६ अर्ब निक्षेप संकलन र ६ अर्ब नै कर्जा प्रवाह भएको देखिन्छ। त्यस्तै जेठको दोस्रो सातामा आएर निक्षेप संकलन ५ अर्बले घटेको छ भने कर्जा प्रवाह पहिलो साताको तुलनामा ३ अर्बले बढेर ९ अर्ब रुपैयाँ पुगेको छ। चालू महिनाको दुई सातामा निक्षेप १ अर्बले बढेको देखिन्छ भने ऋण विस्तार १५ अर्ब भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ।

नेपाल राष्ट्र बैंकले कोभिड १९ सम्वन्धित अक्सिजन प्लान्ट , कन्सन्ट्रेटर , खोप तथा स्वास्थ्य सामाग्री खरिदका लागि बैंक तथा वित्तीय संस्थाका सेवाहरु केन्द्रित गर्न निर्देशन जारी गरेको छ ।

सार्वसाधारणलाई अतिवाश्यक अवस्थामा बाहेक बैंकको शाखामा नजानका लागि केन्द्रीय बैंकले आग्रह गरेको छ । बैंकहरूले आफ्ना ग्राहकलाई मोवाइल बैंकिङ , इन्टरनेट बैंकिङ , कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्न आग्रह गरेको छ ।

विकास बैंकहरूले भरसक साना निक्षेपहरू लिएर बैंकका शाखा भीडभाड नगर्न आग्रह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमार्फत वैदेशिक व्यापारसम्वन्धी भुक्तानी, रेमिटान्सको भुक्तानी , विदेशमा रहेका विद्यार्थीलाई रकम पठाउने सुविधा, फण्ड ट्रान्सफर र रकम जम्मा गर्ने तथा भुक्तानी दिने , चेक सटहीलगायतका सेवा प्रदान गरिरहेका छन् ।

केन्द्रीय बैंकले कोभिडसम्वन्धी स्वास्थ्य सामाग्री तथा अक्सिजनको अभाव नहोस भनेर स्वास्थ्य सेवा विभागको सिफारिस कोभिड १९ सम्वन्धि स्वास्थ्य सामाग्री खरिदका प्रतीतपत्र वा टीटीमार्फत हुने डलर सटहीको सुविधा २५ हजारदेखि ३४ हजार डलरसम्मको सिमालाई बढाएर १ लाख पुर्‍याएको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङ्क , अक्सिजन उत्पादन प्लान्ट, अक्सिजन डेलिभरी एसोसेरिज र अन्य अक्सिजन सम्वन्धी तथा भेन्टिलेटरको आयातका लागि डलर सटहीको कुनै पनि सीमा नलाग्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर