लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु) – Nepal Press

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु)

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेर राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचनको मतदान शुरु भएको छ । विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका तीन मतदान स्थलको व्यवस्था गरिएको छ । निर्वाचनमा १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १७ जना र ८३ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन् । कोभिड संक्रमितका लागि अलगै स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

राष्ट्रिय सभा निर्वाचनका लागि सबै मतदाताको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ । पीसीआर परिक्षण नगरेकाहरुका लागि मतदान स्थलमै एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइएको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको रहेको समर्थन छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । निर्वाचनमा जसपाको महन्थ ठाकुर पक्षले खड्कालाई मतदान गर्न ह्वीप जारी गरेको छ । सचेतक कल्पना पाण्डेले विज्ञप्ति जारी गरी खड्कालाई मतदान गर्न निर्देशन गरेकी छन् ।  जसपाका ४ सांसदलाई अन्तिम समयमा मतदातामा समावेश गरेको भन्दै गठबन्धन दलले विरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर