राप्रपाले भर्चुअल माध्यमबाट मनायो पार्टी स्थापना दिवस – Nepal Press

राप्रपाले भर्चुअल माध्यमबाट मनायो पार्टी स्थापना दिवस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरी आज मनाएको छ । पार्टी अध्यक्ष कमल थापाले सञ्चालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए ।

नेता चन्दले राप्रपालाई बलियो राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई वैकल्पिक शक्तिको आवश्यकता रहेको विचार व्यक्त गरे । पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्दै राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न राणाको आग्रह थियो । अध्यक्ष कमल थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गरेका थिए भने दिवङ्गत नेताहरूप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।

गणतन्त्र ,धर्मनिरपेक्षता, संघीयताको बाटो बाट नभई राप्रपाले अवलम्वन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने थापाको दाबी थियो । अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले विगतका कमि कमजोरी , सफलता असफलताको समीक्षा गर्दै पार्टीलाई गन्तव्यतर्फ अगाडि बढाउनु पर्ने चर्चा गर्दै काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको बताए । मुलुकलाई सहि दिशा दिनको निमित्त राप्रपा बलियो हुनुपर्ने लोहनीले बताए ।

कार्यक्रममा जनबर्गिए संगठनको तर्फबाट महिला संगठनकि अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश -१ का अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरूको तर्फबाट सप्तरी अध्यक्ष उम्देश्वर साह र प्रबास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, सचिवालय कार्य व्यवस्था समिति, सचिवालय सदस्यहरू, जनवर्गीय संगठनका प्रमुखहरू ,जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको र स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदानसहित पार्टीलाई सशक्त रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर