२० वर्षपछि आज इराकसँग भिड्दै नेपाल, ‘ब्युटिफुल फुटबल’को अपेक्षा – Nepal Press

२० वर्षपछि आज इराकसँग भिड्दै नेपाल, ‘ब्युटिफुल फुटबल’को अपेक्षा

काठमाडौं । सन् २००१ को विश्वकप छनोटपछि नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक आज एसियाली फुटबलको एक महारथी इराकसँग खेल्दै छ । मंगलबार मात्रै जारी भएको फिफाको बरियता हेर्ने हो भने आफूभन्दा १०३ स्थान माथि रहेको इराकविरुद्ध नेपालको कठिन परीक्षा हुने निश्चित छ ।

त्यसमाथि नेपाली राष्ट्रिय टोलीको स्तर र शैली बदल्ने सोच लिएर नेतृत्व लिएका मुख्य प्रशिक्षकको पहिलो परीक्षा पनि आजैको खेल हुनेछ । अप्रिलमा घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि जितेको टोलीबाट १३ खेलाडी हटाएर उनीहरूको स्थानमा युवा खेलाडीलाई मौका दिँदै इराकको बसेरा पुगेका अब्दुल्लाह अल्मुताइरीले ब्युटिफुल फुटबलको वाचा गरेका छन् ।

चैतदेखि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाहले नेपालले अब ३-४-३ फर्मेसनमा अट्याकिङ फुटबल खेल्ने बताएका थिए । सोही अनुसारको युवा टोली तयार गरेर इराकको बसरा पुगिसकेका अब्दुल्लाहले आजको खेलको नतिजा खराब आए पनि खेलाडीलाई दोष नदिन र त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।

नेपाली समयअनुसार राति १०:१५ बजे इराकको दोस्रो ठूलो शहर बसेरास्थित अल्फायहा रंगशालामा हुने खेलमा नेपालले कस्तो प्रदर्शन गर्छ, त्यो बहुप्रतिक्षित विषय हो । तर, फुटबलको प्रिमियम लेभल-विश्ककप खेलिसकेको तथा एसियन च्याम्पियनसमेत भइसकेको इराकविरुद्ध जितको अपेक्षा गर्नु सान्दर्भिक हुँदैन । तर, प्रशिक्षक अब्दुल्लाह आफैँले वाचा गरेको झैँ ३-४-३ फर्मेसनमा अट्याकिङ फुटबल हेर्ने सबै नेपाली फुटबलप्रेमीको दृढ इच्छा छ ।

यसअघि भएका तीन भेटमा एकलौटी नतिजा निकालेको इराकले नेपालविरुद्ध १३ गोल गरेको छ भने ३ गोल खाएको छ ।

विश्वकप छनोटका बाँकी ३ खेलको तयारी स्वरुप खेल्न लागेको आजको खेलले कुवेतमा हुने बाँकी खेलका लागि सहयोग हुनेछ ।

आजको खेलपछि विश्वकप तथा एएफसी एसियन कपको छनोटका बाँकी तीन खेल खेल्न नेपाली टोली कुवेत जानेछ । कुवेतमा नेपालले पहिलो खेल जुन ३ मा चाइनिज ताइपेइविरुद्ध खेल्ने छ । पहिलो लेगमा चाइनिज ताइपेइलाई उसकै मैदानमा हराउँदा नेपाली फरवार्ड अञ्जन विष्ट नायक बनेका थिए ।

उनले गरेको दुई उत्कृष्ट गोलमा नेपाल २-० ले विजयी भएको थियो । त्यस्तै, नेपालले जुन ७ मा जोर्डनसँग खेल्ने छ । पहिलो लेगमा ३-० को पराजय भोगेको नेपाली टोली यसपटक प्रदर्शन सुधार्ने ध्याउन्नमा छ ।

विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेल जुन ११ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ । पहिलो लेगमा ५-० ले पराजित भएको नेपालले यो भ्रमणको अन्तिम खेलमा उही हेभिवेट अस्ट्रेलियाको सामना गर्नेछ ।

अहिलेको नेपाली टोली:

गोलकिपर्स: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर्स: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

मिडफिल्डर्स: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

अट्याकर्स: अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर