युवा जोश र बोल्ड बोससहित २० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल – Nepal Press

युवा जोश र बोल्ड बोससहित २० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले २० वर्षपछि भोलि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नयाँ स्वरूपको नेपाली टोलीसहित कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरा पुगिसकेका छन् ।

विश्वकपका छनोटका बाँकी खेलको तयारी स्वरूप भोलि नेपालले फिफा बरियतामा आफूभन्दा १ सय ३ स्थानमाथि रहको इराकसँग खेल्न लागेको हो । चार खेलको तालिका बोकेर भ्रमणमा निस्किएको नेपाली टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एसियन कप छनोटका बाँकी तीन खेल कुवेतमा खेल्ने छ ।

समूह ‘बी’ मा रहेको नेपालले यसअघिका पाँच खेलबाट ३ अंक मात्रै जोडेको छ । अबका खेलको नतिजामा धेरै आशावादी हुन नसकिए पनि प्रशिक्षक अब्दुल्लाहले गरेको वाचा र खेलाडी छनोटमा गरेको बोल्ड निर्णयले नेपाली फुटबलमा केही न केही फरक पर्ने अपेक्षा नेपाली फुटबलप्रेमीले गरेका छन् ।

यसअघि नेपालले इराकसँग तीन खेल खेलेको छ र तीनैवटामा हार व्यवहारेको छ । नेपाल र इराकको पछिल्लो भिडन्त विश्वकप छनोट २००१ मा भएको थियो । पहिलो खेल ९-१ को नतिजामा नेपाल हारेको थियो । इराकको राजधानी बगदादस्थित अल साहब रंगशालामा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले गोल गरेका थिए ।

सोही वर्ष कजाखस्तानमा भएको खेलमा नेपालले ४-२ को साँघुरो हार बेहोरेको थियो । उक्त खेलमा नेपालका लागि निराजनसँगै हरि खड्काले पनि १-१ गोल गरेका थिए । त्यसभन्दा अगाडि नेपालले इराकसँग १९८२ मा खेलेको थियो । उक्त खेलमा पनि नेपाली टोली ३-० ले पराजित भएको थियो ।

प्रशिक्षक अब्दुल्लाहको परीक्षा

इराकविरुद्धको खेल नयाँ प्रशिक्षक अब्दुल्लाहका लागि एउटा कठिन एवम् महत्त्वपूर्ण परीक्षा यसकारण पनि हुने छ कि उनले नेपाल आएलगत्तै ठूला वाचाहरू गरेका छन् । जितको अपेक्षा कम भए पनि आफूले भनेजस्तो ‘सुन्दर फुटबल’ नेपाली टोलीबाट निकाल्ने चुनौति उनलाई छ ।

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा चैत २२ गते सार्वजनिक भएका अब्दुल्लाहले नेपालले अब डिफेन्सिभ फुटबल नखेल्ने बताएका थिए । उनले पहिलो पटक मिडियामा सार्वजनिक हुँदै नेपाली खेलाडीहरूमा धेरै सम्भावना रहेको र आफूले त्यसलाई निखार्ने दृढ लक्ष्य लिएको सुनाएका थिए । उनी आफ्नो रणनीतिमा स्पष्ट देखिएका थिए र बारम्बार नेपालले अब सुन्दर फुटबल खेल्नेमा जोड दिएका थिए ।

अरू केही वाचा नगरे पनि सबै नेपालीले आफ्नो टिममा गर्व गर्ने वातावरण सिर्जना गर्ने संकल्प गरेका अब्दुल्लाहले टोली छनोटमा आफ्नो ‘बोल्डनेस’ को छनक दिएका छन् । तर, उनको छनोट र प्रभावको मुल्याङ्कन अबका खेलले मात्रै प्रष्ट्याउने छ ।

प्रशिक्षक अब्दुल्लाहले ३-४-३ फर्मेसेनमा ब्युटिफुल-अट्याकिङ फुटबल खेल्ने बताएका थिए । नेपालका लागि तीन वर्षयता राष्ट्रिय टिम, अन्डर-१९ र यु २३ मा ५१ जनाले खेलेको र ती खेलाडीको एक-एक रिपोर्ट आफूसँग भएको दाबी गरेका अब्दुल्लाहले अहिले आफूसँग भएको टोलीबाट पनि त्यो प्रमाणित गरिसकेका छन् ।

नेपाल र इराकबीच करिब दुई दशकमा खेल हुने गरेको छ र यसपटक पनि यस्तै भयो । २००७ मा एसियन कप च्याम्पियन बनेको इराक अहिले फिफा बरियतामा ६८औं स्थानमा छ भने नेपाल १७१ स्थानमा छ ।

तर, यसअघिको तुलनामा नेपाल र इराक फरक अवस्थामा मैदानमा भिड्दैछन् । यद्यपि, दुवै टोली विश्वकप छनोटको तयारीमा छन् । नेपाल इराकविरुद्धको खेलपछि विश्वकप-एसियन कप छनोटका लागि कुवेत जानेछ । तर, त्यसअघि कुवेतसँग मिल्दो-जुल्दो वातावरण भएको इराकविरुद्धको खेलले नेपाललाई विश्वकप छनोटका लागि फाइदा हुनसक्छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले पनि यो मैत्रीपूर्ण खेल नेपालका लागि एक अवसर भएको बताउँदै यसले फाइदा हुने बताएका छन् । ‘इराकविरुद्ध खेल्न पाउनु नेपालका लागि राम्रो अवसर हो,’ गोलकिपर किरणले भने, ‘यो खेलबाट हामीलाई विश्वकप छनोटमा पनि फाइदा हुन्छ ।’

कुवेती प्रो-लाइसेन्स होल्डर प्रशिक्षक अल्मुताइरीले तयार गरेको नेपाली टोलीमा ६ जना नयाँ अनुहार छन् । उनले अप्रिलमा भएको थ्री नेसन्स कप विजेता नेपाली टोलीबाट १३ खेलाडी परिवर्तन गरेका छन् ।

गोलकिपर दीप कार्कीले अहिलेसम्म राष्ट्रिय टोलीमा डेब्यू गरेका छैनन् । उनीसँगै गोलकिपर विशाल सुनार, डिफेन्डर गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरज जेउ ठकुरी, आयुष घलान र मनिष डाँगी पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

अहिले विदेश भ्रमणमा निस्किएको नेपाली राष्ट्रिय टोलीका खेलाडीको औसत उमेर २३ वर्षको छ । यो सम्भवत नेपालको अहिलेसम्म कै युवा टोली हो ।

टोलीमा भएका रोहित चन्द र कप्तान किरण सिनियर खेलाडी हुन् भने विशाल राई, नवयुग श्रेष्ठ, अञ्जन विष्ट र अनन्त तामाङ नेपालका लागि धेरै समयदेखि खेल्दै आएका छन् ।

नेपालको पछिल्ला ६ खेलको नतिजा

२०१९ नोभेम्बर १९ कुवेत १-० नेपाल

२०२० नोभेम्बर १३ बंगलादेश २-० नेपाल

२०२० नोभेम्बर १७ बंगलादेश ०-० नेपाल

२०२१ मार्च २५ किर्गिस्तान यु२३ ०-० नेपाल

२०२१ मार्च २७ बंगलादेश ०-० नेपाल

२०२१ मार्च २९ बंगलादेश १-२ नेपाल

विश्वकप छनोटमा नेपालका बाँकी खेल

जुन ३ नेपाल भर्सेज चाइनिज ताइपेइ

जुन ७ नेपाल भर्सेज जोर्डन

जुन ११ नेपाल भर्सेज अस्ट्रेलिया

इराक-नेपाल हेड टू हेड

कूल खेल-३

इराक विजयी-३

नेपाल विजयी-०

१९९२ एसियन गेम्समा इराक ३-० नेपाल

२००१ विश्वकप छनोटमा इराक ९-१ नेपाल

२००१ विश्वकप छनोटमा इराक ४-२ नेपाल

इराकले गरेको गोल संख्या- १३

नेपालले गरेको गोल संख्या- ३

नेपालका लागि गोल कर्ता खेलाडी निराजन रायमाझी- २, हरि खड्का-१

भोलि हुने खेल

शनिबार : इराकविरुद्ध नेपाल ।

भेन्यु: अल्फायहा रंगशाला ।

समय: स्थानीय समय साँझ ७ बजेर ३० मिनेट (नेपालमा राति १०:१५ बजे)

खेल बन्द रंगशालामा खेल हुने ।

अहिलेको नेपाली टोली:

गोलकिपर्स: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर्स: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

मिडफिल्डर्स: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

अट्याकर्स: अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *