कोरोना महामारीमा यसरी खटिरहेका छन् नेपाल स्काउट – Nepal Press

कोरोना महामारीमा यसरी खटिरहेका छन् नेपाल स्काउट

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सुरु भएदेखि नै जनचेतना र पूर्वतयारीमा जुटेको नेपाल स्काउट यतिबेला सवारीसाधन नभएर अस्पताल पुग्न समस्या भएका नन कोभिडका बिरामीलाई अस्पताल पुयाउन खटिएको छ ।

कोरोना बाहेकका बिरामीहरुलाई पर्ने समस्यालाई मध्यनजर गरी उनीहरुलाई अस्पताल वा स्वास्थ्यकर्मीहरुसम्म पुग्ने व्यवस्था गर्न नेपाल स्काउटले नन कोभिड बिरामी एम्बुलेन्स सेवा सञ्चालन गरेको हो ।

नेपाल स्काउटका राष्टिय संयोजक लोकबहादुर भण्डारीले उक्त सेवाको शुभारम्भ गरी हाल उपत्यका भित्र सञ्चालनमा ल्याइएको  नेपाल स्काउटले जनाएकाे छ।

स्काउटको एउटा गाडी र बाग्मति प्रदेश समिति सदस्य अजित लामाले निजी सवारी साधन समेत नेपाल स्काउटको उक्त प्रयोजनका लागि प्रदान गरेपछि दुईवटा गाडीले नेपाल स्काउटले यो सेवा सञ्चालन गर्दै आएको छ । एम्बुलेन्स सेवा २० लाभान्वित भइसकेका छन् ।

गत वर्षदेखि नै कोरोना महामारीका कारण ज्यान गुमाउनेहरुको शव व्यवस्थापनमा समेत स्काउटले सहयोग गरिरहेको छ । कोरोनाका कारण मृत्यु भएको पहिलो व्यक्तिको शव व्यवस्थापनमा नेपाल स्काउटका स्वयंसेवीहरु नैं अग्रसर भएका थिए । भक्तपुरका स्काउटरहरु अरुण सैंजु, राजेश गाइजु र न्हुजा किजु लगायतको टोली हालसम्म पनि शव व्यवस्थापनको काममा लागिरहेको छ ।

साथै,कोरोना महामारीले व्यापक प्रभाव पारेका कारणले सामान्य तथा अन्य गम्भीर रोग लागेका बिरामीहरुलाई असुविधा भएको अवस्थामा स्काउटले अनलाईन तथा फोनको माध्यमबाट स्वास्थ्य परामर्श सेवा शुरु गरेको स्काउटले जनाएको छ ।

यसैगरी सार्वजनिक सवारीसाधन बन्द भएको र अस्पतालका सवारीसाधनहरु अपर्याप्त भएका कारणले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आवतजावत गर्न समस्याभएपछि स्काउटले स्वास्थ्यकर्मीहरुका लागि सुटेल सेवाको रुपमा सञ्चालनमा ल्याएको थियो । यस सेवा मार्फत २५० जना स्वास्थ्यकर्मीहरुलाई सेवा प्रदान गरिएको थियो ।

 

गतवर्ष कोरोना महामारी शुरु भएपश्चात नेपाल स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन एसएमएस क्याम्पेन देशव्यापीरुपमा सञ्चालन गरेको थियो ।

यसैगरी नेपाल स्काउटले देशभर विभिन्न स्थानमा कोरोना महामारीका कारण अप्ठेरोमा परेका सर्वसाधारणलाई खाना खुवाउनुकाे साथै भोकै मर्न लागेका पशुपन्छीलाई आहार वितरण गरिएको थियो ।

स्काउटले विभिन्न संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुमा मास्क वितरण गर्ने कार्य गरेको छ । स्काउटले राजधानी तथा देशका अन्य शहरहरुमा कोरोना सम्बन्धी जनचेतना र स्वास्थ्य सेवा प्राप्त गर्न सहजीकरण गर्ने उदेश्यले हेल्प डेस्कको स्थापना गरेको छ ।

गण्डकी प्रदेशमा २० जना स्काउट स्वयंसेवीहरु प्रदेशका ११ वटै जिल्लाका अस्पतालहरुमा उपलब्ध कोभिड बेड, आइ सि यु बेड, भेन्टीलेटर बेड, अक्सीजन बेडको तथ्याङ्कहरु संकलन र अधावधिक गर्ने कार्य गरिरहेका छन् । साथै कोभिड विरामीहरुलाई आवश्यक औषधी र अक्सीजनको व्यवस्थापनमा सहजीकरण गर्ने कार्य गरिरहेका छन् ।

स्काउटले हाल सञ्चालनमा रहेका खोप केन्द्रहरुमा स्थानीय तहको सहकार्यमा खोप लगाउन आउने सर्वसाधारणको लागि सहजीकरण गर्ने कार्य गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर