कर्णाली एमालेद्वारा आगामी नीति, कार्यक्रम तथा बजेट बारे छलफल सुरु – Nepal Press

कर्णाली एमालेद्वारा आगामी नीति, कार्यक्रम तथा बजेट बारे छलफल सुरु

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशले कर्णाली प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल सुरु गरेको छ ।

बिहीबार संसदीय दलको कार्यालयमा नेता यामलाल कंडेलसहितका सांसदहरुको सहभागितामा आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली सरकारले ल्याउने बजेट, नीति तथा कार्यक्रममा पार्टीको भूमिका विषयमा छलफल भएको हो । बजेटलाई कोभिड केन्द्रीत गराई जनतालाई कोरोना महामारीबाट जोगाउन कर्णाली मैत्री बजेटका लागि अनौपचारीक रुपमा आवश्यक छलफल एमालेले गरेको हो ।

‘आज देखि हामीले कर्णालीका जनताको अपेक्षा अनुसारको बजेट, नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ वा कस्तो आउन सक्छ भन्ने बारेमा अनौपचारीक छलफल सुरु गरेका छौं ।’ नेता कंडेलले भने, ‘आगामी आइतबार संसदीय दलको बैठक बोलाइएको छ । त्यसपछि हामी आवश्यक छलफल गर्छौं ।’

आजको छलफलमा कर्णाली प्रदेश सरकारले गरेको पछिल्ला निर्णयहरु, कोरोना महामारीमा सरकारले गरेको कामहरु र सरकारका अन्य गतिविधिका बारेमा पनि छलफल भएको सांसदहरुले नेपालप्रेसलाई बताए । उनीहरुका अनुसार कर्णालीका नागरिक कोरोना महामारीमा भोक सँगै रोगसँग लडिरहेको यो अवस्थामा सरकारले रोग र भोकसँग लडनसक्ने नीति अवलम्बन गर्नुपर्ने र त्यसकालागि रचनात्मक सुझाव दिने नीति लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर