बारपाकमा गाउँभरि अधिकांश बिरामी, कोरोना आशंका ! – Nepal Press

बारपाकमा गाउँभरि अधिकांश बिरामी, कोरोना आशंका !

प्रदेश स्वास्थ्य निर्देशनालयले पठायो स्वास्थ्य टोली

पोखरा । गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए ।

गुरुङ समुदायको बाहुल्य रहेको बारपाकबासीले चलिआएको संस्कारसहित नै ती वृद्धको अन्त्येष्टि गरे । त्यसपछिका दिनमा दैनिक ३ जनासम्मको मृत्यु हुन थालेको छ । गाउँभरि उच्च ज्वरो र रुघाखोकीले थलिएपछि गाउँ नै त्रसित बनेको छ ।

‘अहिले अधिकांश बिरामी छन् । सबैमा ज्वरो र रुघा देखिएको छ । पिसिआर जाँच्न पनि कोही मानिराखेका छैनन्,’ बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ भन्छिन्, ‘यस्तो ज्वरो अरुबेला पनि आउँथ्यो भनेर सबैले सामान्य रुपमा लिएका थिए ।’

उपाध्यक्ष गुरुङका अनुसार अहिले दैनिक ३ जनासम्म बिरामीको मृत्यु हुन थालेपछि भने गाउँलेहरु आत्तिएका छन् । ‘१÷२ जनाको सम्म प्राकृतिक मान्न सकिन्छ । तर, उमेर पुगेको भन्दैमा एकैदिन एउटै वडाबाट २, ३ जना त मर्दैनन् नि !’ उनले भनिन्, ‘अझै गाउँभरि बिरामी परेकाहरु उस्तै धेरै छन् ।’

एकहप्ताको अवधिमा बारपाक सुलिकोट गाउँपालिका वडा १ र २ मा १२ जनाके मृत्यु भइसकेको गाउपालिकाले जनाएको छ ।
सुरुमा ज्वरो र रुघाखोकी देखिएकैबेला गाउँपालिकाले पिसिआर परीक्षण गर्न सुझाउँदासमेत स्थानीय आफैंले नमानेको उपाध्यक्ष गुरुङको दाबी छ । तर, पछि संकलन गरिएका केही स्वाबमा भने अधिकांशमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिइन् ।

‘यहाँ हामीले गर्ने भनेको एन्टिजेन नै हो । सुरुमा पहिलो लटमा २७ जनाको परीक्षण गरेका थियौं । त्यतिबेला २० जनाभन्दा बढीको पोजेटिभ रिपोर्ट आयो,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘पछि ७० जनाको गर्दा ३३ जनमा पोजेटिभ आयो । अहिले फेरि परीक्षणका लागि पठाएका छौं ।’

गाउँभरि नै कोरोना संक्रमण फैलिएको आशंका गरिएपनि स्थानीयले परम्परागत मृत्यु संस्कार नछोड्दा त्यसले झनै संक्रमण फैलिने डर भएको उपाध्यक्ष गुरुङले बताइन् । ‘लामा बोलाएर, मान्छे जम्मा भएर अन्तिम संस्कार गर्नुहुन्छ । त्यसो नगर्नुस् भनेर हामीले भनिरहेका छौैं,’ उनले भनिन् ।

वडामा लकडाउनमा पनि लुकीछिपी बाहिर जिल्लाबाट आउनेले संक्रमण फैलाएको गुरुङको आरोप छ । उनले परीक्षणबिनै लकडाउन पनि अटेरी गर्दै घर फर्किंदा संक्रमण फैलिएको दाबी गरिन् । उनले भनिन्, ‘लकडाउनअघि काठमाडौंबाट धेरै फर्किएका थिए । उनीहरु क्वारेन्टिन पनि बसेनन् । सबै खुल्ला हिँडु्दा गाउँभरि कोरोना फैलियो ।’ बारपाकमा करिब १४ सय घरधुरी रहेको उनले जानकारी दिइन् ।

वास्तविकता बुझ्न टोली हिँडिसक्यो : प्रदेश स्वास्थ्य निर्देशनालय

बारपाक सुलिकोट १ र २ मा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको र बिरामीको मृत्यु संख्या बढ्न थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालयको टोली त्यतातर्फ प्रस्थान गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले वास्तविकताबारे बुझ्न कोरोना परीक्षण किटसहितको विशेषज्ञको टोली हिँडिसकेको जानकारी दिए ।

‘बारपाकमा कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणसहितका धेरै बिरामीहरु देखिएको हामीसँग कुरा आएको छ,’ निर्देशनालय प्रमु्ख डा शर्माले भने, ‘यसअघि नै त्यहाँ एन्टिजेन परीक्षण भइरहेको थियो । तर, पनि खास वास्तविकता के रहेछ भनेर बुझ्न टोली पठाएका छौं ।’

गोरखामा बिहीबारसम्म कोरोनाबाट २५ जना संक्रमितले ज्यान गुमाएका छन् । कुल २८ सय संक्रमित रहेको गोरखामा अहिले पनि १३ सय बढी सक्रिय संक्रमित रहेको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *