नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग – Nepal Press

नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला सो समूहनिकट कार्यकर्ताले निर्वाचन आयोगमा वैकल्पिक नामसहित दल दर्ताको निवेदन दिने क्रम चलेको छ ।

नेपालनिकट नेता जीवन राईले नेकपा (एकीकृत) दर्ता गरेलगत्तै सोही समूहका कार्यकर्ताले निर्वाचन आयोगमा नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका छन् ।

सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ ।

विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् ।

चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

महासचिवमा प्रस्तावित बराल भने भर्खरै एलएलबीको पढाइ सकेकी नवोदित कानून व्यवसायी हुन् । उनी भने कुनै भ्रातृ संगठनमा संलग्न नरहेको बताइएको छ ।

प्रस्ताविक कार्य समितिको पदाधिकारीमा उपाध्यक्ष धिरेन्द्र शाही, सचिव बासुदेव भट्टराई, कोषाध्यक्ष निर्मला कोइराला छन् ।

त्यस्तै सदस्यहरुमा हिरासिंह धामी, विपिन वनेम, सुशीला कर्माचार्य, सम्झना कार्की, धनबहादुर लामा, अजयकुमार पटेल, पूजा राई, दिनेशमान श्रेष्ठ, दानबहादुर थापा मगर, सुमित्रा शाह, भागिरथी पन्त सेढाई, ईश्वरी बुढाथोकीलगायत छन् ।

माधव नेपाल समूहका मुख्य नेताहरूको सहमतिमै संस्थागत ढंगले विधान मस्यौदा गरेर दल दर्ताका लागि निवेदन गरिएको एक सदस्यले बताए । उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन् ।

नेकपा एमाले फुटेर २०५४ सालमा नेकपा माले बन्दा पनि सो पार्टीले तारा चिन्हबाट चुनाव लडेको थियो। जीवन राईको पार्टी नेकपा एकीकृतले भने चुनाव चिन्ह कलम माग गरेको छ ।


प्रतिक्रिया

One thought on “नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग

  1. नागरिकता बेचुवाकाे पार्टीमा देशभक्त मान्छे अटाउदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर