बुद्ध जयन्तीमा सुनसान लुम्बिनी – Nepal Press

बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

रुपन्देही । संसारभर २५६५ औं बुद्ध जयन्ती मनाइरहँदा बुद्ध जन्मस्थल लुम्बिनी भने सुनसान छ । कोरोना महामारी नियन्त्रणका प्रयासस्वरुप गरिएको बन्दाबन्दीले बुद्ध धर्मावलम्बीलाई पवित्र तीर्थस्थल लुम्बिनी भ्रमणमा समस्या परेको छ ।

विगतका वर्षहरुमा बैशाख पूर्णिमा नजिकिँदै गर्दा देशी तथा विदेशी धार्मिक पर्यटकको चहलपहल बढ्ने गरेको थियो । पूजाआजा हुन्थ्यो, पर्यटकले लुम्बिनी क्षेत्रको व्यवसाय चलायमान हुन्थ्यो । तर एक वर्ष अघिदेखि लुम्बिनी सुनसान छ ।

गएको मंसिर महिनादेखि चैत मसान्तसम्म आन्तरिक पर्यटकले केही गुलजार थालेको थियो तर भारत तथा नेपालमा संक्रमणले तीव्र रुप लिन थालेपछि अहिले पूरै सुनसान छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा यसअघि बुद्ध जयन्तीभन्दा हप्ता दिन अघिबाटै चहलपहल हुन्थ्यो । बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो ।

गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्थ्यो । यहाँका पर्यटन व्यवसायीको व्यस्तता बढ्थ्यो । होटल भरिभराउ हुन्थे । कोरोना महामारी सुरु भएपछि मुलुकको प्रमुख पर्यटकीय र धार्मिकस्थल लुम्बिनी विगत एक वर्षदेखि सुनसान छ ।

बुद्ध जन्मस्थलमा अहिले बौद्धभिक्षु, विक्षुणीका बन्दना बिरलै सुनिन्छ । विगतमा जस्तो चहलपहल नभए पनि यसपटकको बुद्ध जयन्तीमा लुम्बिनीमा विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गरेर मनाइने भएको छ ।

नित्य पूजामा पनि स्वास्थ्य मापदण्ड पालना अनिवार्य छ । लुम्बिनीमा प्रत्येक वर्ष ठूलो पर्वका रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली बुधबार बुद्धजयन्ती परेको छ । तर बिगतमा जस्तो धुमधाम तयारी छैन । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको विकास कोषका सदस्य सचिव सानु्राजा शाक्यले बताए ।

यसपाली बुद्ध जयन्तीमा मायादेवी परिसरमा पूजापाठका लागि उपस्थित हुने सबैलाई हातमा पञ्जा, अनुहारमा मास्क र फेससिल्ड अनिवार्य गरिएको छ । रुपन्देहीमा निषेधाज्ञा लागू छ । बुद्धस्थलमा पनि त्यसको असर छ । त्यसैले २५६५औं बुद्ध जयन्ती विगतमा जस्तो भब्य हुने छैन ।

बुधबार बिहान लुम्बिनीमा रहेका गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा पुजाआजा र शान्तिपाठ गरिने छ । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पर्यटनमन्त्रीको सन्देश सुनाइने छ ।

त्यसपछि पूजापाठ, परित्राण पाठ गरिने छ । साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिने छ । सिसौका रुख विस्थापन गर्ने उद्देश्यसहित यसपल्ट बुद्ध जयन्तीका दिन लुम्बिनीमा २५ हजार फलफूलका विरुवा रोप्ने कार्यक्रम तय भएको योजना प्रमुख सराज भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर