सम्बन्ध विच्छेद गरेका र अविवाहित महिलालाई ४० कटेपछि मासिक भत्ता – Nepal Press

सम्बन्ध विच्छेद गरेका र अविवाहित महिलालाई ४० कटेपछि मासिक भत्ता

ख वर्गको अपांगता भएकालाई पनि मासिक १६ सय निरन्तरता

काठमाडौं । पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका महिलाले अब ४० वर्ष उमेर पूरा गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । विवाह नगरी बसेका महिलाले पनि ४० वर्ष कटेपछि भत्ता पाउनेछन् । तर यसले पुर्णता पाउन भने बाँकी छ ।

भर्खरै सरकारले अध्यादेशबाट यस्ताे व्यवस्था गरे पनि मासिक रुपमा कति उपलब्ध गराउने भन्ने निर्णय भइसकेकाे छैन् । अध्यादेशमा पाउने भन्ने व्यवस्था भएकाले अब मन्त्रिषरिषद्बबाट कति पाउने भनेर ताेकिए पछि उनिहरुले पाउन सुरु गर्नेछन् ।

तर, ४० वर्ष कट्दैमा सबैले भत्ता पाउने छैनन् । सरकारले तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका महिलाले मात्र एकल महिला भत्ता पाउनेछन् ।

सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । ६० वर्ष नाघेका एकल महिला भने सबैले भत्ता पाउने व्यवस्था कायमै छ ।

यसअघि ऐनको दफा ७ मा ६० वर्ष उमेर पुगेका असहाय एकल महिलाले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको असहाय एकल महिला भत्ता पाउने उल्लेख थियो ।

यस्तै ६० वर्ष उमेर नपुगेका तर सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, विधवा, न्यायिक पृथकीकरण गरी बसेका सरकारले तोकेको भन्दा न्यून आए भएका तथा श्रम गर्न नसक्नेलाई जुनसुकै उमेरका महिलालाई पनि सामाजिक सुरक्षा भत्ता दिइने व्यवस्था थियो ।

तर, अब ४० वर्ष पूरा नगरेसम्म भत्ता लिन नपाउने व्यवस्था गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा ४० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलाले एकल महिला भत्ता पाउनेछन् ।

दफा ८ मा रहेको अपांगता भत्ता सम्बन्धी व्यवस्था पनि अध्यादेशमार्फत संशोधन गरिएको छ । जसमा पूर्ण अशक्त अपांगता भएका नागरिकले सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको अपांगता भत्ता पाउने व्यवस्थालाई संशोधन गरिएको छ ।

जसमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी प्रचलित संघीय कानूनबमोजिम पूर्ण अशक्त अपांगता वा अति अशक्त अपांगताको परिचय पत्र प्राप्त गरेका नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ता पाउनेछन् भनिएको छ ।

ऐनको दफा १५ मा रहेको सार्वजनिक पदमा नियुक्ति पाएको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने भनिएकोमा अबदेखि सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले मात्र नपाउने व्यवस्था गरिएको छ । त्यो वाहेक सार्वजनिक पदमा नियुक्ती भए पनि त्यसबाट हटिसकेपछि भने पाउन सक्ने व्यवस्था गरिएको छ ।

यसअघि कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित, मनोनीत भएको व्यक्ति, सरकारी कोषबाट निवृत्तभरण पाइरहेका व्यक्ति, अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तभरण, अवकास सुविधा एवम अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने उल्लेख थियो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार  अहिले ६० वर्ष मुनिका विधवा एकल महिलाले  मासिक २ हजार एकल महिला भत्ता पाउछन् भने, ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका अति अशक्त अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिले पनि १६ सय पाउछन् ।

यी दुवै वर्गका व्यक्तिले सामाजिक सुरक्षा भत्ता २०७५ अघिदेखि खाइपाइ आए पनि सामाजिक सुरक्षा ऐन, २०७५ ले त्यो कटौती गरेपछि यसको विरोध भएको थियो । त्यसपछि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनका लागि पहल गरे पनि संसद नचल्दा अघि बढ्न नसकेको विभागका महानिर्देशक बस्नेतले बताए ।

उनले भने, हामीले प्रक्रिया त एक वर्ष अघि नै अगाडी बढाइसकेका थियौ । कोरोना र नियमित संसद नचलेका कारण ढिलाइ हुन पुग्यो ।’

विभागको तथ्यांक अनुसार एकल महिला भत्ता प्राप्त गर्नेको संख्या ३ लाख ५९ हजार ३ सय ९० र अति अशक्त अपांगता भत्ता प्राप्त गर्नेको संख्या १ लाख ७ हजार ७ सय ६७ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *