संक्रमितलाई नि:शुल्क खाना बाँड्न कास्की प्रशासनको रोक – Nepal Press

संक्रमितलाई नि:शुल्क खाना बाँड्न कास्की प्रशासनको रोक

सीडीओ भन्छन्- एकद्वार प्रणाली बनाउन रोकेका हौं

पाेखरा । विवेकशील साझा पार्टी पोखरा महानगर कमिटीले जेठ २ गतेबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत विरामी, कुरुवा र स्वास्थ्यकर्मीका लागि खानाको व्यवस्था गर्‍यो । ‘संक्रमितलाई तातो भात’ नाम दिएर चलाइएको उक्त अभियानमा प्रत्येक दिन साँझ २ सय जनालाई खाना खुवाउने साझाको योजना थियो ।

लेकसाइडको एक रेस्टुरेन्टमा खाना पकाएर केही दिन आइसोलेसन सेन्टरमा खाना पनि खुवाए । १० दिनका लागि आइसोलेसनमा निशुल्क खाना बाँड्न सुरु गरेको भोलिपल्टै (जेठ) ३ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै खाना नबाँड्न आग्रह गर्‍यो । उक्त सूचनामा बाँड्नै परे स्थानीय तहको समन्वयमामात्रै अभियान सञ्चालन गर्न भनिएको थियो ।

तर, विवेकशील साझाले अटेरी गर्दै आफ्नो अभियानलाई अघि बढाइरहे । प्रशासनको आदेशलाईसमेत अवज्ञा गर्दै अभियान चलाइरहेपछि प्रशासनले पुनः जेठ ६ गते दोस्रो सूचना जारी गरेको छ । दोस्रो सूचनामा भने ‘केही संघसंस्था र युवाहरुले खाना बाँड्न अनुमति मागेको तर, स्वास्थ्य मापदण्ड पालन गर्न नसकिने स्थिति हुँदा अनुमति नदिने’ उल्लेख छ ।

प्रशासनले ५ दिनमै दोस्रो पटक सूचना जारी गरेपछि भने विवेकशील साझाले आफ्नो अभियानलाई स्थगित गरेको छ । विवेकशील साझा महानगर संयोजक अजय श्रेष्ठले निश्वार्थ मानवीय सेवामा प्रशासनले अंकुश लगाएको आरोप लगाएका छन् । उनले महामारीकोबेला भोकले समेत संक्रमितहरु मर्ने देखिएपछि आफूहरुले अभियान चलाएको दाबी गरेका छन् ।

‘कोरोना महामारीका बेला विवेकशील साझा पार्टीको पोखरा महानगर समितिले सुरु गरेको ’तातो भात अभियान’लाई प्रशासनले अंकुश लगाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महामारीका बेला रोगसँगै भोकले समेत नागरिकहरू मर्नसक्ने अवस्था देखेपछि कोभिड बिरामी र कुरुवाको भोकप्रति संवेदनशील हुँदै अभियान चलाएका हौं,’ श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टीले निस्वार्थ मनले भोका पेटहरूलाई निःशुल्क खाना वितरण गर्दा प्रशासनले भाँजो हाल्नु खेदजनक छ ।’

संक्रामक अस्पतालमा भने जारी

प्रशासनको आदेशलाई वेवास्ता गर्दै प्रदेश कोभिड उपचार अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालमा भने बिरामी तथा कुरुवालाई निशुल्क खाना बाँड्ने काम जारी छ । नमस्ते चिकेन हाउसका तर्फबाट ४ दिन र दीपक पहारीको तर्फबाट एकदिनलाई गरी ५ दिनसम्म खाना खुवाउने व्यवस्था गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको उक्त निशुल्क खाना अभियानको समन्वय नेकपा एमाले सांसद राजीव पहारीले गरेका हुन् । प्रशासनले खाना नबाँड्न पटक पटक सूचना जारी गर्दा पनि अभियान जारी राख्नु अटेरी देखिएन र ? नेपाल प्रेसको प्रश्नमा सांसद पहारी भन्छन्, ‘हामी त्यहाँ आफैं खाना पुर्‍याउन जाने होइन । हाम्रो व्यवस्थापनमा अस्पतालले नै दिने हो ।’

सांसद पहारीले त्यहाँ दैनिक बिहान, दिउँसो र साँझ गरी ६२ छाक खाना निशुल्क बाडिँदै आएको जानकारी दिए । उनले आफूहरु सस्तो प्रचारबाजीका लागिमात्रै खाना नबाँडेको प्रष्ट्याए । ‘हामी आफैं त्यहाँ गएर फोटो खिचाउने, प्रचारबाजी गर्ने होइन,’ उनले भने ।

सीडीओ भन्छन्- एकद्वार प्रणाली र निषेधाज्ञा पालन गराउनका लागि हो

जिल्ला प्रशासन कार्यालय कास्कीले भने सहयोग कार्यक्रम एकद्वार बनाउन र संक्रमण फैलिन नदिन खाना बाँड्ने काममा रोक लगाएको बताएको छ । ‘अहिले निषेधाज्ञा छ, संक्रमणदर उच्च छ । यस्तोबेला भिडभाड नगर्न सूचना जारी गरेको अवस्थामा खाना बाँड्दै हिँड्नु उपयुक्त हुँदैन,’ सिडिओ थानेश्वर गौतम भन्छन्, ‘काम राम्रो हो । तर, यो विपत्तीको सन्दर्भ अर्कै हो ।’

गौतमले अस्पतालका बिरामीहरुलाई खानकै लागि समस्या भए अस्पतालकै क्यान्टिनसँग सहकार्य गर्न सकिने बताए । उनले संक्रामक तथा सरुवा रोग अस्पतालमा वितरण भइरहेको निशुल्क खानाबारे आफूलाई जानकारी नआएको सुनाए । ‘पश्चिमाञ्चलको अस्पतालबारे जानकारी आएर बन्द गराएको हो । संक्रामकको हामीलाई खबर आएको छैन । म बुझ्छु,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *