माफ गर्नुहोस् तपाईंको सुन्दरताले मलाई ‘इम्पावर’ गर्दैन – Nepal Press
नेपाल चिन्तन

माफ गर्नुहोस् तपाईंको सुन्दरताले मलाई ‘इम्पावर’ गर्दैन

सामाजिक सञ्जाल चलाउँदै थिएँ । एकदिन फ्याट्ट आँखा एउटा पोस्टमा गयो । त्यो पोस्टमा यस वर्षकी मिस नेपाल युनिवर्स अन्शिका शर्माले पर्वत आरोहीले लगाउने सेतो युनिफर्म पहिरिएकी थिइन् । प्राय: मिस नेपालले लगाउने लुगा भन्दा बेग्लै लुगा देखेपछि मेरो ध्यान झट्ट आकर्षित भयो ।

सेतो ज्याकेट, सेतो सुरुवाल, खैरो मास्क, खैरो पन्जा र मोटो बुटले उनलाई निकै सुहाएको थियो । त्यो पहिरन उनले नेपालको प्रतिनिधित्व गरेर फ्लोरिडामा भएको मिस युनिवर्सको एक राउण्डमा पहिरिएकी थिइन् ।

त्यो तस्बिरले उनलाई सामाजिक सञ्जालभरि ‘वाहवाही’ दिलायो । अरु बेला निकै सजिलोसँग क्याट वाक गर्ने युवती विस्तारै , केही भारी भए जसरी हिँड्दै थिइन् । कि त उनले त्यही प्रस्तुति दिएको थिइन् , कि त मैले भिडियो हेरेर हल्का उनलाई अप्ठ्यारो भएको जस्तो महसुस गरेको हुनुपर्छ ।

अन्शिका आफ्नो प्रस्तुतिप्रति गौरान्वित देखिन्थिन् । पछाडिबाट अंग्रेजीमा उनले लगाएको पहिरनले नेपालको हिमाल र नेपाली शेर्पालाई सम्मान दिने कोसिस गरेको भन्ने तर्क आयो ।

उनको यो प्रयासबाट शेर्पाहरू खुसी भएकी भएनन्, थाहा भएन । तर सामाजिक सञ्जाल प्रयोगकर्ता भने मैले दुई भागमा विभाजित देखें । कोही उनको यो प्रयास , टिम र नेपालको गौरव बढाएकोमा बधाई दिँदै थिए भने कोही उनले शेर्पाको संस्कृति इतिहास नबुझी झण्डा फहराएर त्यसको अपमान गरेको भन्दै थिए ।

म सानैदेखि सौन्दर्य प्रतियोगिता हेरेर हुर्केकी । अझै याद छ, मैले पहिलोचोटि नेपाल टेलिभिजनमा मिस नेपाल हेर्दा मिस नेपाल प्रिति सिटौला भएकी थिइन् । यो सन् २००३ तिरको कुरा हो। त्यसपछि मैले निरन्तर केही वर्ष मिस नेपाल हेरिरहेँ । ती राम्री सुन्दरी जोस जाँगरका साथ नमस्ते जसरी भन्थिन् , म आफू ऐनाअगाडि एक्लै हुँदा त्यसैगरी ठूलो स्वरमा लय मिलाउँदै ‘नमस्ते एभ्रिवान’ भन्नेर नक्कल गर्थें ।

त्यतिबेला कहाँ सोचेकी थिएँ र, बालापनमा मिस नेपाल जस्तै हात हल्लाएर नक्कल गर्ने चञ्चले केटी अहिले मिस नेपालले कसरी महिलाको मनोबल घटाउँछ भन्ने कुरामा जोड दिन्छे भनेर ।

पछिल्ला समयका बुझाइसँगै मेरो धारणा मिस नेपालप्रति परिवर्तन हुँदै गयो । नहोस् पनि कसरी ? महिलाले चाहेमा मात्र मिस नेपाल कहाँ बन्न पाइँदो रहेछ र ! जस्तोकी म । मेरो लम्बाई ५ फिट १ इन्च छ । सुन्दरताको पहिलो मापदण्डमा नै म असफल भै’हालेँ नि ।

सौन्दर्य प्रतियोगिता, समावेशीकरण र महिला सशक्तीकरण

जब जब सौन्दर्य प्रतियोगिताको कुरा आउँछ , एउटा शब्द प्रतियोगीदेखि लिएर उद्घोषक र निर्णायक मण्डल सबैले दोहोर्‍याउँछन्- महिला सशक्तीकरण अर्थात ‘वुमेन इम्पावरमेन्ट । मलाई लाग्छ, यस्ता किसिमका प्रतिस्पर्धामा शब्दकै पो अपमान हुन्छ । यो शब्द प्रयोगमा मेरो आपत्ति छ ।

भलै तीता लागुन्, यी प्रतियोगिताले महिलालाई इम्पावर गराउँछन् भन्ने व्यक्तिहरूलाई मेरा प्रश्न छन् : तपाईंको पेजेन्टले सशक्त गर्ने महिला के समावेशी नेपालको प्रतिनिधित्व गर्छन् ? उनीहरू नेपालका कुन भूगोलबाट आउँछन् ? कुन आर्थिक वर्गका हुन् ? के यिनलाई ‘इम्पावर ’ हुन ब्युटी पेजेन्ट चाहिन्छ ?

सुन्दा खरो लाग्ला तर अष्ट्रेलिया लण्डन अमेरिकाबाट पढेर अनि काम गरेर आउनुभएको नेपाली महिलालाई विश्व सामु प्रतिस्पर्धा कसरी गराउने र त्यो मिस युनिवर्सको ताज कसरी देश भित्र्याउने भनेर सोच्नु, ट्रेनिङ दिनु पर्सनल वा इन्डिभिजुअल इम्पावरमेन्ट हुन सक्ला तर त्यसलाई ‘वुमेन इम्पावरमेन्ट’ भन्न मिल्दैन ।

जहाँ ग्ल्यामर प्राथमिक छ त्यहाँ इम्पावरमेन्ट भन्ने शब्द प्रयोग गर्नु कत्तिको उचित हो ?

तपाईं सायद धेरै वर्गलाई यो शब्द प्रयोग गरेर गिज्ज्याउँदै हुनुन्छ । किनकि हामीलाई प्रष्ट थाहा छ, कर्णालीको युवती तपाईंको सुन्दरताको मापदण्डमा परे पनि आर्थिक कारणले प्रतिस्पर्धामा भाग लिन सक्दिनन् ।

हामीलाई थाहा छ प्रवल बौद्धिक क्षमता भएकी व्यक्तिलाई पनि हामी मिस नेपाल बन्ने सपना देख्ने हैसियत राख भन्न सक्दैनौं ।

आखिर यो सशक्तीकरण के का लागि र मुख्य: कसका लागि ? जसमा समावेशी नेपाल नै छैन । जसमा हरेक वर्गलाई अटाउने स्पेस नै छैन ? जसमा मानिस को लबाइ र हिँडाइलाई सुरुवाती क्रममा जज गरिन्छ । तर बौद्धिक क्षमता प्राथमिक हुँदैन ।

मेरो विचारमा प्रतिस्पर्धा यहाँ एम्बेसेडर अफ ’ब्यूटी स्ट्याण्डर्ड ’ बन्न गरिदैछ । जहाँ चिटिक्क परेर मीठा कुरा गर्न सिकाइन्छ देश समाज र समाजमा चेतना फ़ैलाउछु भन्ने मन्तव्यका साथ ताज को गन्तव्य मा पुग्ने सपना देखाइन्।

तपाईंको व्यक्तित्व एक प्रोडक्ट र तपाईं आफ्नो व्यक्तित्वलाईं एउटा रङमा ढालेर बेचिराख्नुभएको छ ।

सिमोन डि विभर ले ‘द सेकेन्ड सेक्स ‘मा एउटा व्याख्या गरेकी छन, ‘आइडल फेमिनिटी’ अर्थात् आदर्श स्त्रीत्वले कसरी एक महिलालाई उसको विचार , स्वतन्त्रता र बौद्धिक क्षमता एक्सरसाइज गर्न बाट उसलाई बन्जेद गर्छ । तपाईं एक प्रकारले बोल्नुस् एक प्रकारले हिँड्नुहोस अनि प्रश्नको उत्तरचाहिँ यसरी दिने हो है भनेर अह्राउनु रेस्ट्रिक्सन हैन र ?

समावेशी र सशक्तीकरण प्रयोग तब मात्र गर्नुस् जब तपाईं ग्ल्यामरलाई हैन अन्य कुरालाई प्राथमिकतामा राख्नुहुन्छ । बिन्ती छ, तपाईंको रंगिन दुनियामा यो गम्भीर कुरालाई ट्यागलाइन नबनाउनुहोस् ।

पहिचान गौरव र प्रतिनिधित्व

जब जब कुनै पनि प्रतियोगिता विश्वसामू हुन्छ तब नेपालीहरू आफ्नो आशा , जोश, जाँगर , प्रेम नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिमा राख्नुहुन्छ । कतिपय सन्दर्भमा मानिसले यो कुरा देश ,समाज र पहिचानसँग जोड्छन् । यस्ता भावनासँग जब जब यस्तो कार्यक्रम जोडिन्छ मानिसले यसलाई पूर्वाग्रह बिना हेर्न सक्दैनन् ।

जब हामी आफ्नो संस्कृति, देश र भाषासँग नजिक भएको व्यक्तिलाई त्यो ट्रफी, ताज या कुनै पनि टोकनको नजिक देख्छौं हामीमा ठूलो आश पलाउँछ र सोचेजस्तो फल नपाउँदा त्यो आश निराशामा परिणत हुन्छ ।

हामी भोट गर्न लागिपरेका समय, चाहे प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन होस् या तेरिया मगरलाइ भारतकाे को नृत्य प्रतियोगितामा जिताउन हामी लागिरहन्छौं । आफ्नो पहिचान उनीहरूमाझ खोज्छौं वा हामीमा पनि योग्यता छ है भनेर उनीहरूमार्फत् प्रमाणीकरण गर्ने प्रयास गर्छौ । प्रमाणीकरण यस्ता प्लेटफर्ममामा जवसम्म खोज्छौं तबसम्म समाजमा हामीलाई अघि बढाउने अरु पाटो नकारिरहनछौं ।

यसपालि पनि प्लिज भोट फर अन्शिका भन्ने होड चल्यो । यसलाई गलत वा सही भनेर म भन्दिनँ । तर यो ब्युटी ट्रेडमा आबद्ध हुन पनि चाहन्न ।

७ वर्षकी छँदा मैले केही गर्न मिस नेपाल हुनुपर्छ भन्ने बुझेँ होला । तर अहिले यसलाई ग्ल्यामरको खेलको रूपमा हेर्छु । मोडलिङ भन्दा केही फरक पनि त छैन यो प्रतियोगिता । म त्यहाँ आफूजस्ता वा मेरा वरिपरी भएका जस्ता कोही देख्दै देख्दिनँ ।

मैले अहिले बुझिसकेँ ‘नमस्ते एभ्रिवान’ भन्न त्यो चम्किला राम्रा लुगा अब चाहिँदैनन् । आत्मविश्वासले भरिएकी महिला व्यक्तित्व मिडियामा देख्न सायद अब नेपाल टेलिभिजनको त्यो मिस नेपालको प्रत्यक्ष प्रसारण हेर्नु जरूरी छैन ।

ब्यूटी प्रोडक्ट, स्पोन्सर र मार्केट

जब सुष्मिता सेन र ऐश्वर्य रायले मिस युनिभर्स र मिस वर्ल्डको ताज उनीहरूको देश भित्र्याए, इन्डिया कस्मेटिक प्रोडक्टको लागि अझ ठूलो मार्केट बन्न पुग्यो । प्राय: देशमा हुने पेजेन्टदेखि विदेशमा हुने फाइनल प्रतियोगितामा स्पोन्सरहरूको निहित स्वार्थ जोडिएको हुन्छ ।

नेपाल जस्तो सानो देशले कतिको कस्मेटिक मार्केट दिन सक्ला त ? सायद हाम्रो मा यो विषयमा खासै विश्लेषण भएको छैन । प्राय: हामी यस्ता छलफल गर्दा खासै आर्थिक पाटोहरू नियालिरहेका पनि छैनौं ।

सायद नेपालले ती लगानीकर्ताको स्वार्थ पूरा गर्न सक्छ सक्दैन भनेर हामी खुलेर कैले भन्न सक्दैनौं।

सोच्छु, अन्शिकाले कति प्रयास गरिन् होला यस्तो प्रश्न आउँछन् भनेर वा त्यस्ता उत्तर दिन्छु भनेर । तर उनी त्यहाँसम्म पुग्ने अवसर नै पाइनन् ।

हो मैले भन्न खोजेको यही हो
यो तास जुवा जस्तो खेल हो

यो व्यापार हो, सुन्दरताको ! आत्मविश्वास , मनोबल, सक्षमता , गौरव ,सशक्तीकरण र पहिचान जस्ता शब्द नजोडिदिनुस्, बिन्ती ! जोडेको सुहाउन्न रत्तिभर ।  अनि माफ गर्नुहोस् तपाइको सुन्दरताले मलाई ‘इम्पावर’ गर्दैन ।

उही तपाईंको झिलिकमिलिक रंगिन दुनियाँको मापदण्ड भित्र पर्न नसकेकी एक स्त्री !

आर्ट : शिवानी मगर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *