वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन – Nepal Press

वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश-२०७८ बाट सरकारले त्यलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो ।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औं तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा जनाइएको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड-१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ । यस्तै संक्रमितको उपचार व्यवस्थापन अक्सिजन आइसोलेशन, हार्ड डिपेन्डेन्सी युनिट (एचडीयू) र सघन उपचार कक्ष (आइसीयू) हुने छन् । टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन हुने छ ।

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । यस्तै जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्न आदेश पनि दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीका अध्यक्षतामा निर्देशक समिति

अध्यादेशमा कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने उल्लेख छ । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।

निर्देशक समितिले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने सक्ने जनाइएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *