भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा – Nepal Press

भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा

काठमाडौं । भक्तपुरमा कोभिड-१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ । संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ ।

भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसँगै भक्तपुरमा संक्रमण र मृत्युको संख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५ सय ७६ कूल संक्रमित रहेकामा चार हजार ५ सय ५५ सक्रिय संक्रमित छन् । अस्पताल तथा विभिन्न आइसोलेसनमा २ सय ३९ संक्रमित छन् । होमआइसोलेसनमा चार हजार १ सय ३४ बिरामी छन् । अहिलेसम्म १२ हजार ९ सय ९० संक्रमित निको भएका छन् ।

संक्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार संक्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितले शय्या पाउन सकिरहेका छैनन् । शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउँछन् ।

अस्पतालमा रहेकाहरूको पनि अक्सिजन अभाव भएर समस्या आएको छ ।

सक्रिय संक्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत सङ्क्रमण र मृत्युदर कमी रहेको छ ।

जिल्लामा चार हजार ५ सय ५५ सक्रिय संक्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २ सय ५६ रहेका छन् । संक्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उनको भनाइ छ ।

उनका अनुसार संक्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको संख्या ७१ प्रतिशत रहेको छ ।

संक्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोना संक्रमित बिरामीले भरिएको बताए । उनले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर