घर-घरका फोहोर उठाउनेहरूको कथा : जो खोला किनारमै ओछ्यान लगाउँछन्

एका-बिहानै राजधानीका घरछेउ ‘हरन’ बजाउँदै देखापर्छन्- फोहोर भरिएका ट्रक वा ट्र्याक्टर । प्रत्येक कोठा/कापाबाट निस्किएका फोहोर बाटोमा थन्क्याइएका हुन्छन् ।

सिट्टीको लहरे ध्वनिले छुटेकाहरू पनि पोकामा फोहोर लिएर दौंडँदै बाटो छेउ ओर्लन्छन् । मैला कपडामा देखिएका दुई जना ‘ट्रक’बाट झर्छन् । थन्क्याइएका फोहोरका पोका उचाल्छन् र क्रमशः थुप्रोमाथि खप्ट्याउँछन् ।

गलामा झुण्ड्याइएको सिट्टीलाई पुनः ‘सुइय्…’ पार्दै अघिल्ला घरतर्फ लाग्छन् । दिन बिराएर देखिने यी दृश्यहरू लकडाउनमा पनि छेकिएका छैनन् ।

यिनै फोहोर टिप्ने हातहरूदेखि कतिपयका आँखा घिनाउँछन् । सामुन्य पर्दा नाक खुम्च्याउँदै सिक्सिकाउँछन् । तर, जो फोहोरमा जीवन खोज्दै हिँडेका छन् । उनीहरूलाई परबाह छैन गन्धको । परबाह छैन, अरुको व्यवहारको । ‘नबुझ्नेहरूले फोहोरी भन्छन्, घृणा गर्छन् । उनीहरूले फोहोर गरेर त हामी उठाउन गएका हौं नि ! हामी नहुँदो हो त कति सास्ती हुन्थ्यो,’ यही पेसामा दुई दशक बिताइसकेका जय थापा भन्छन् ।

यसो भनिरहेको क्षण उनी बिजुलीबजारस्थित आरब्रिजको मुन्तिरपट्टि कवाडी एकट्ठा गरिरहेका थिए । ‘जति धेरै एकट्ठा गर्‍यो, त्यो नै हाम्रो कमाइको ‘बोनस’ हुन्छ,’ जय थप्छन् ।

०००

जय लगायत १० जनाको बास त्यही आरब्रिजको मुनि छ । अण्डरग्राउण्डजस्ता देखिने दुई बाटोका बीचमा असह्य गन्ध बोकेर धोबीखोला बगरिरहेको छ । त्यही धोबीखोलाको वल्लो किनारमा लहरै ओछ्यान हालिएका छन् । ओछ्यान सामुन्य खाद्यान्न र चुलो ।

किनारको भित्तापट्टि खाली सिसी र कार्टुनहरू बोरामा प्याक गरिएका छन् । ‘हाम्रो छुट्टै कोठा छैन । यसैगरी बस्छौं हामी,’ जय भन्छन् ।

जयको घर काभ्रे बनेपा । उनले सानैदेखि गरे फोहोर उठाउने काम । सुरुमा त उनले ज्यामी काम गरे । पछि एक जना दाइमार्फत् उनी फोहोर संकलन गर्ने काम गर्न थाले । सुरुमा उनको तलब ३ हजार थियो । तलबको एक हजार घरमा बुझाउँथे, बाँकी आफूलाई खर्च हुन्थ्यो ।

काम जे गरे पनि ठूलो हुँदैन भन्ने उनको भावना थियो । तर, सबैले कहाँ बुझ्छन् र ? ‘कतिले त यस्तो काम नगर भने । यो काममा नराम्रो के छ र ? कमसेकम छाक त टारिएको छ,’ जय सुनाउँछन् ।

घरमा जयको ६५ वर्षीया आमा छिन् । आमा पनि घर गएको बेला भनिरहन्छिन्– ‘अब यतै बस । यतै काम गर । नजा’

तर जयको मन मान्दैन । यही काममा दिलचस्पी छ उनको । ‘यसरी साथीहरूसँग हिँडिरहेको बानी । गाउँतरि बसेर नि के गर्ने । खान पुग्ने जग्गा जमिन छैन । अरुको काम नगरी खान पाइँदैन,’ जय सुनाउँछन् ।

उनी आमालाई ‘असाध्यै माया’ गर्छन् । तर, आमाको यो कुरा भने टार्न बाध्य छन् उनी ।

०००

जयका साथी अजित मगर अहिले बिरामी छन् । लगातार चलिरहेको खोकीले उनलाई गालेको छ । ओछ्यान नजिकै बसिरहेका अजित खोकी रोक्न खोज्दै भन्छन्, ‘बिरामी पर्‍या थेन । अहिले पनि नपरिदिए हुन्थ्यो ।’

‘कोरोना छ भन्छन् जताततै । लागे पनि अहिले पैसा न’भको बेला पर्‍ यो,’ जय अजिततर्फ हेर्दै भन्छन् । फोहोर उठाउन जान पनि प्रहरीले अवरोध गरिरहँदो रहेछ आजकल । तैपनि जान भने छाडिरहेका छैनन् उनीहरू । ‘पुलिसले दु्ःख दिए नि गइरहेका छौं । तर लकडाउनमा पैसा नै ठप्प भयो । खाद्यान्न किन्न नि समस्या परिरहेको छ,’ जय सुनाउँछन् ।

उनीहरूका बाँकी साथी त्यतिनै बेला झोलामा केही सामान लिएर आइपुगे । ‘अब त उदारो पनि नदिनेजस्तो छ । अघिल्लोपालि राहत दिएको थियो, यसपालि त कतै छैन,’ कालो सर्ट लगाएका एक जना साथीले चिन्तित हुँदै भने ।

अजितको खोकी निको भएको थिएन । ‘अझै निको भएको छैन,’ तिनै साथीले अजिततर्फ हेर्दै भने । ‘छैन,’ उनले जवाफ दिए ।

अजितको खास घर ललितपुर लेले । ३२ वर्षका अजित १० वर्षदेखि यो पेसामा लागे । ‘घरको स्थिति कमजोर थियो । बच्चादेखिनै सडकमा हिँड्ने सुत्ने थाल्ने गरेँ । सडकमा हिँड्दा हिँड्दै पछि यही काममा लागेँ,’ उनी सुनाउँछन् ।

खुला आकाशमुनि सुत्न र फोहोरको दुर्गन्ध सहन बानी परेको छ उनलाई । सुरुमा ललितपुरबाटै थालेका थिए यो काम । ‘घर घरमा गएर सिट्टी बजाएर फोहोर संकलन गर्थ्यौं । त्यो नुवाकोट लगेर फालिन्थ्यो,’ उनी सम्झन्छन् ।

सुरुमा रिक्सामा घर घरमा फोहोर उठाउँदै हिँड्थे उनी । त्यतिबेला रिक्सा तान्न खुब गाह्रो हुन्थ्यो । ‘अहिले त ट्रिपर छ । ट्रिपरमा उठाउँछौं फोहोर,’ उनी फोहोर बोक्ने ट्रिपरतर्फ औंल्याउँदै भन्छन् ।

यो काम उनीहरूले ‘फूलबारी नेपाल’ नामक संस्थामार्फत् गरिरहेका छन् । यसरी काम गर्दा महिनामा उनको कमाइ १५ हजारसम्म हुन्छ । काम गर्ने क्रममा कतिपयले ‘खाते’ भनेर सम्बोधन गरेका पनि छन् ।

कामकै आधारमा ‘घृणा गर्नेहरू’ भेटिए पनि त्यसको परबाह राख्दैनन् उनी । उसो त माया गर्ने मनकारी मान्छे पनि भेट्छन् उनले । ‘कसै-कसैले माया गरेर कपडाहरू दिन्छन् । उनीहरूको बोली बचन पनि मीठो हुन्छ,’ उनी भन्छन् ।

कहिलेकाहीँ कुनै घरको फोहोर उठाउन बिर्सिन्छन् । ढिलो हुन्छ । त्यतिबेला घरमूलीहरूको हप्कीदप्की पनि खानुपर्छ उनले । हप्कीदप्की खाँदा रिस त उनलाई पनि उठ्छ । तर, दबाउँछन् आफैंभित्र । ‘कराए भन्दैमा दोहोरो बचन गरिहाल्दिनँ । किनकि उनीहरूले महिनामा पैसा तिरेको हुन्छ । फोहोर नउठ्दा कराइ हाल्छन् नि,’ उनी सुनाउँछन् ।

घर्किदो दिनसँगै उज्यालो निभ्दै थियो । उनीहरू बेलुकीको खान्कीको तयारी गर्दै थिए । ‘साँझ परेपछि बत्ती के गर्नुहुन्छ । उज्यालो त चाहियो नि ?’ मैले प्रश्न गरेँ ।

जयले माथितिर औंला तेर्स्याउँदै भने, ‘ऊ त्यो पुलनिर प्वाल छ नि । त्यहाँबाट राति बत्तीको उज्यालो आउँछ ।’

०००

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

One thought on “घर-घरका फोहोर उठाउनेहरूको कथा : जो खोला किनारमै ओछ्यान लगाउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *