सुर्खेत प्रशासनले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिने – Nepal Press

सुर्खेत प्रशासनले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिने

टोलटोलमा कोरोना निगरानी समूह गठन गरिने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गरेको निर्णय अनुसार जिल्लामा निषेधाज्ञा जारी भएपछि उपभोग्य बस्तु, मास्क सेनिटाइजर तथा अक्सिमिटर जस्ता बस्तुको मूल्य बढेको जनगुनासो बढेपछि अनुगमनलाई तिव्रता दिने निर्णय भएको हो ।

पत्रकार महासंघ, उद्योग वाणिज्य संघ तथा सरोकारवाला निकायसँग समन्वय गरेर बजार अनुगमनलाई तिव्रता दिइने प्रमुख जिल्ला अधिकारी छवी रिजालले बताए । डीसीसीएमसीको बैठकले कोभिड संक्रमित विरामीको मृत्यु प्रमाणपत्र र मृतकका परिवारजनको मन्जुरीनामाको आधारमा सरोकारवाला निकायको मौखिक अनुरोधमा समेत शव व्यवस्थापन सम्वन्धी कार्य नेपाली सेनाले गर्ने निर्णय गरेको छ । कोभिड संक्रमित बिरामीको फरक–फरक समयमा मृत्यू हुने र हरेक पटक शव व्यवस्थापनका लागि सेनालाई पत्राचार गर्न व्यावहारिक नदेखिएको यस्तो निर्णय गरिएको प्रजिअ रिजालले बताए ।

उनले भने, ‘अक्सिजन आपूर्तिमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, सुर्खेतका सबै स्थानीय तहलाई एन्टिजेन तथा पिसिआर किट खरिद गर्ने र त्यसलाई प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने, वडा र पालिका स्तरमा रहेका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिलाई थप क्रिायाशील गराउने निर्णय पनि भएको छ ।’

प्रजिअ रिजालका अनुसार बैठकले हाल संक्रमित र तीनका परिवारका सदस्य नराम्रोसँग आहत भएको ठहर पनि गरेको छ । उनीहरु बेसहारा भएका, अभिभावक गुमाएका टुहुरा भएका सन्दर्भमा स्थानीय तहका स्वास्थ्य संयोजकको नेतृत्वमा एक समूह बनाई संक्रमित भई होम आइसोलेसनमा रहेकालाई प्रत्येक दिन सम्पर्क गर्ने, उनीहरुको स्वास्थ्य स्थिति बुझ्ने, स्वास्थ्य सम्वन्धी सूचना दिने, संक्रमित तथा उनका परिवारलाई सहानुभुती प्रकट गर्ने, ढाडस दिने जस्ता विषयमा केन्द्रित भई मनोपरामर्श सेवा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै वैठकले प्रत्येक टोलमा कोरोना निगरानी समूह गठन गर्ने निर्णय पनि गरेको छ । ‘घरका कुनै पनि सदस्य अत्यावश्यक काम नपरी घर बाहिर निस्कन नदिने, निस्कनै पर्ने भएमा स्वास्थ्य मापदण्ड पालना गराउने, पिसिआर परीक्षणका लागि स्वाव दिइसकेपछि त्यस्तो व्यक्तिको परिक्षण नतिजा नआएसम्म घर बाहिर जान नहुने कुरा सबैलाई त्यो समूहले जानकारी दिने निर्णय भएको छ ।’ प्रजिअ रिजालले भने, ‘कोरोना परीक्षण र उपचारका लागि अत्यावश्यक पर्ने औषधीलगायत स्वास्थ्य उपकरण वर्षायाम सुरु हुन अघि नै खरिद गरेर मौज्दात राख्ने निर्णय समेत भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *