बादलले माधव नेपाल पक्षका कति मत पाए ? यस्तो छ हिसाब – Nepal Press

बादलले माधव नेपाल पक्षका कति मत पाए ? यस्तो छ हिसाब

काठमाडौं । बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेको माधव नेपाल पक्षका केही जनप्रतिनिधिले सो समूहको निर्देशन विपरित सूर्य चिन्हमा मतदान गरेको खुलेको छ ।

माधव नेपाल पक्षले खिमलाल देवकोटालाई मतदान गराउन अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे लगायतका नेताहरुलाई मैदानमा खटाएको थियो । तर नेपाल पक्षका कम्तिमा ८ जना प्रदेश सभा सदस्य र ६ जना स्थानीय तहका प्रमुख÷उप प्रमुखले राम बहादुर  थापा बादललाई मतदान गरेको वागमती प्रदेशका मन्त्री केशव पाण्डेले दावी गरेका छन् ।

एमालेका प्रदेशसभामा कुल ५७ जना सांसद रहेकोमा पशुपति चौलागाईको निधनपछि ५६ जना छन् । तीमध्ये संस्थापन पक्षमा ३५ जना र माधव नेपाल पक्षमा २१ जना थिए ।

मतगणनामा रहेका पाण्डेका अनुसार बादलले प्रदेश सभातर्फ एमालेको ४५ मत प्राप्त गरेका छन् । बादललाई राप्रपाका दुई प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।
यस हिसाबले एमालेको संस्थापन पक्षका ३५ र राप्रपाका २ बाहेक अन्य ८ मत एमालेको माधव नेपाल पक्षबाट प्राप्त भएको हिसाब पाण्डेको छ ।
‘बादललाई कांग्रेस र माओवादीका प्रदेश सभा सदस्यले मत दिने कुरा भएन,नेमकिपाको आफ्नै उम्मेदवार थिए र विवेकशील साझाका तीन सांसदले कतै मतदान गरेनन्’ पाण्डेले भने ‘एमाले विखण्डनको पक्षमा १३ जनामात्र उभिए’ ।

त्यस्तै स्थानीय तहबाट बादलले १०३ जना प्रमुख र उपप्रमुखको मत पाएका छन् । वागमतीमा एमालेका कुल १३३ जना प्रमुख र उपप्रमुख मतदाता थिए ।

ती मध्ये केपी ओली पक्षमा ८५ जना खुलेका थिए भने माधव पक्षमा ३८ जना खुलेका थिए । बाँकी १० जना दुवैतिर नखुलेका थिए । बादलले १०३ मत पाउनुले तटस्थ रहेका सबैले बादललाई मत दिँदा ९५ पुग्छ भने राप्रपाका दुईजनाले मत दिएको अवस्थामा ९७ मत पुग्छ ।
बादलले पाएका बाँकी ६ मत माधव नेपाल पक्षका रहेको एमालेको आँकलन छन् ।

माधव नेपालले जनप्रतिनिधिलाई स्वविवेक प्रयोग गर्न भनेकाले कतिपय मतदाताले सूर्यमा मत दिएको हुनसक्ने नेपालपक्षका नेताहरु बताउछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर