तिब्बतद्वारा नेपाललाई अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री प्रदान – Nepal Press

तिब्बतद्वारा नेपाललाई अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । चीनको स्वशाषित क्षेत्र तिब्बतले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

विहिबार बिहान ल्हासामा आयोजित समारोहमा ती सामाग्री नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको हो ।

प्रदान गरिएका स्वास्थ्य सामाग्रीमा १५० लिक्विड अक्सिजन सिलिन्डर छन् । यी परिमाणको अक्सिजनले ४० किलो क्षमताका करिब ६ हजार सिलिन्डर भर्न सकिनेछ ।

ती सामाग्री शुक्रबार रातीसम्म खासा पुग्ने जनाइएको छ । साथै, तिब्बत सरकारले २०० थान आइसीयू बेड, ५ थान भेन्टिलेटर र १० थान कन्सनटेटर समेत दिने भएको छ ।

स्थलमार्गबाट नेपाल ल्याइने ती स्वास्थ्य सामाग्रीको आपूर्तिमा कुनै पनि अवरोध नगर्ने प्रतिबद्धता पनि तिब्बतले जनाएको ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।

सान सीको एक कम्पनीले ३० थान अक्सिजन कन्सनटेटर समेत दिएको छ । यी सामानलाई भोलि ल्हासाबाट काठमाडौंतर्फ पठाइने भएको छ । तिब्बतको गुडविल फाउन्डेसनले ५० थान अक्सिजन कन्सनटेटर दिने जनाएको छ ।

कोभिड उपचारसँग सम्बन्धित सामाग्री बोकेका निजी क्षेत्रका २२ वटा गाडी तातोपानी भन्सारमा पुग्ने चरणमा रहेको समेत महावाणिज्य दूतावासले जनाएको छ ।

यो साता तिब्बत पुग्ने बताइएका एभरेस्ट ग्याँसका ४५०० खाली सिलिन्डरलाई काठमाडौं पठाउन समन्वय गरिने भएको छ । सहयोग र समन्वय जुटाउन महावाणिज्य दूतावास तिब्बत सरकारसँग सम्पर्कमा रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर