एकै गाउँका ४६ जनामा कोरोना संक्रमण – Nepal Press

एकै गाउँका ४६ जनामा कोरोना संक्रमण

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका -११ लोटा दुधपानी गाउँका अधिकाशंलाई कोरोना संक्रमण भएको छ । दुधपानीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक धेरैलाई ज्वरो आएपछि गाउँका स्थानीयले पिसिआर परीक्षण गराइदिन नगरपालिकाका मेयर हरिनारायण महतोसँग आग्रह गरेका थिए । उनको पहलमा ५४ जनाले पिसिआर परीक्षणका लागि सोमवार नै स्वाब दिए । मंगलवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजेटिभ आयो ।

मेयर महतो भन्छन्, ‘एउटा टोल नै संक्रमित भएको अवस्था छ । तर एक जनाबाहेक अहिलेसम्म सबैको अवस्था सामान्य छ ।’ साँसफेर्न गाह्रो भएपछि एकजना उपचारका लागि सिन्धुली पुगेको मेयर महतोले जानकारी दिए । अब कसैको अवस्था जटिल भए ढल्केवर ल्याएर आइसोलेसनमा राख्ने उनको भनाई छ ।

मेयर महतोका अनुसार काठमाडौंबाट दुई जना आएका थिए । उनीहरुबाटै संक्रमण फैलिएको हुनसक्ने अनुमान छ । भारतबाट उक्त टोलमा कोही पनि आएको छैन ।

संक्रमित भएकाहरु डाक्टरबाट आवश्यक सल्लाह नपाउँदा त्रसित बनेका छन् । एक संक्रमितले भने, ‘कोरोनाबाट कसरी बाँच्न सकिन्छ भन्ने कुराको ज्ञान छैन । डाक्टरबाट आवश्यक सल्लाह सुझाव पाए हुन्थ्यो । तर भगवान भरोसामै बाँचिरहेका छौं ।’

मेयर महतोले स्वास्थ्यकर्मीको टोली पनि त्यहाँ पठाउन लागेको उनले बताए । उनले भने, ‘म आफैं त्यहाँ गएर सबैको स्वास्थ्य अवस्था बुझेर फर्केको छु । अब स्वास्थ्यकर्मी लिएर पुग्दैछौं ।’

त्यहाँका थप व्यक्तिमा पनि संक्रमण सरेको हुनसक्ने अनुमान छ । सम्भावित सबैको पिसिआर परीक्षण गराउने मेयर महतोले जनाएको छ । उनका अनुसार अहिले गाउँमा आवतजावत बन्द गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर