राष्ट्रियसभा निर्वाचनबारे आजै सहमति गर्न ओली र नेपाललाई सुझाव – Nepal Press

राष्ट्रियसभा निर्वाचनबारे आजै सहमति गर्न ओली र नेपाललाई सुझाव

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेशका प्रदेशसभा सदस्य अरुण नेपालले वार्ता टोलीले पार्टीका विवाद समाधान गर्दै गर्दा राष्ट्रियसभा निर्वाचनका बारेमा शीर्ष तहमा आजै साँझसम्म सहमति हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै माधव नेपाल पक्षधर नेता नेपालले भोलि मतदानका बेला एमालेका मतदातालाई एकै ठाउँमा उभिने वातावरण केपी ओली र माधव नेपालले बनाइदिनुपर्ने बताए ।

नेपालले भने, ‘वार्ता टोली बस्दै गर्छ, आजको भोलि समाधान हुँदैन । तर राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा अध्यक्ष र बरिष्ठ नेता आजै बसेर साझा निष्कर्ष निकाल्नुपर्छ र उहाँहरुले निकालेको निष्कर्ष मान्न सबै तयार हुन्छन् । विवेक प्रयोग गर भनेरमात्र हुँदैन ।’

एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ । माधव नेपाल पक्षले कांग्रेस र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका खिमलाल देवकोटालाई समर्थन जनाएको छ ।

नेपालको सचिवालयले मंगलवार साँझ वक्तव्य जारी गर्दै देवकोटा नै उम्मेदवार रहेको र मतदातालाई स्वविवेक प्रयोग गर्न दिने बादलको प्रस्तावमा समर्थन जनाएको बताएको थियो ।

तर, नेपाल पक्षधर नेताहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे लगायत देवकोटालाई जिताउदन हेटौंडामा बसेका छन् । हेटौंडामा मतदाताहरु पुग्ने क्रम जारी छ ।

यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले माधव पक्षधर नेताहरुलाई फोन गरेर पार्टीका आधिकारिक उम्मेदवार बादलको पक्षमा उभिन आग्रह गरेका छन् । केही नेताले समर्थन जनाए पनि केहीले ओली र माधव नेपालबीच सहमति गराउन आग्रह गरेका छन् ।

महासचिव पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई पत्र लेखेरै बादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । एमालेका सबै मतदाता एक ठाउँमा उभिदा बादलको जित सहज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर