पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने – Nepal Press

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखरा । महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो ।

कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न महाशाखाले निर्देशन जारी गरेको छ ।

शिक्षा महाशाखा प्रमुख हेमप्रकाश आचार्यद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासमेत असार १ गतेबाट सुरु गर्न भनिएको छ । तर, कक्षा ८ को हकमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख आचार्यले जनाएका छन् ।

कोरोना महामारी बढ्दै गएपछि केही समय अघि निजी तथा सरकारी विद्यालयका प्रतिनिधिसँग मेयर मानबहादुर जिसीसँग भएको छलफलमा सबै परीक्षा बैशाख मसान्तभित्र सक्ने निर्णय भएको थियो । उक्त बैठकमा मेयर जिसी स्वयं परीक्षा स्थगित हुँदा विद्यार्थीमा मानसिक असर पर्ने भएकाले परीक्षा जसरी पनि सञ्चालन गर्नुपर्ने अडानमा थिए ।

तर, कास्कीमा दिनानुदिन संक्रमणदर उकालो लागेपछि बैशाख १५ गतेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लागु हुनेछ । कास्कीमा सोमबारसम्म १४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार जनाले कोरोना जितिसकेका छन् भने २ सय ९ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *