स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुर अस्पताल अगाडी प्रदर्शन – Nepal Press

स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुर अस्पताल अगाडी प्रदर्शन

जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा चरम लापरबाही गरेको भन्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको राजीनामा माग्दै यूवाहरुले प्रदर्शन गरेका छन् ।

प्रादेशिक अस्पताल अगाडी स्थानीय यूवाहरुले सामाजिक दूरी कायम राखेर स्वास्थ्यमन्त्री त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाहको राजीनामा मागेका हुन् ।

कोरोना संक्रमितलाई उपचारको व्यवस्था गर्न असफल भएको भन्दै स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा मागेको ती युवाले बताएका छन् ।

प्रदर्शनमा सहभागी युवाले कोरोनाको उपचार निःशुल्क गर, जनता मार्न पाइँदैन, अक्सिजनको व्यवस्था गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले सरकारको लापरबाहीले संक्रमितहरु उपचार नपाएर ज्यान गुमाउन बाध्य बनिरहेको आरोप लगाएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरले कोभिड वार्ड सञ्चालन त गरेको छ तर डाक्टर नबस्ने गरेको र स्वास्थ्य सामग्री पनि बाहिरबाट किन्न लगाएको बिरामीका आफन्तको आरोप छ । डाक्टरले लापरबाही गरेकै कारण बुवाको ज्यान गएको भन्दै दाजु-भाईले कोभिड वार्डकै भेन्टिलेटर तोडफोड गर्दा अहिले प्रहरी हिरासतमा छन् ।

जनकपुर पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । दैनिक डेढ सयदेखि २ सयसम्म संक्रमित भेटिन थालेपनि प्रदेश र संघीय सरकार कोरोना रोकथाम तथा नियन्त्रण र सहज उपचारको प्रबन्ध मिलाउन सकेका छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *